अग्रपंक्तिमा रहँदै आएका सिग्देल अब तीन वर्ष सेनाको नेतृत्वमा

हिमाल प्रेस १३ भदौ २०८१ २१:३०
312
SHARES
अग्रपंक्तिमा रहँदै आएका सिग्देल अब तीन वर्ष सेनाको नेतृत्वमा

काठमाडौँ- आफूलाई काजी र सम्भ्रान्त ठान्नेहरूका बाधाअवरोध चिर्दै भैरहवाका अशोकराज सिग्देल नेपाली सेनाको ४५ औँ प्रधानसेनापति भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी बुधबार नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।

नियुक्तको सिफारिस भइसक्दा पनि केही घरानियाँ भनिने र नेपाली सेनालाई आफ्नो थरको बिर्ता ठान्नेहरूले सिग्देललाई सेनाको उच्च पदमा पुग्न नदिन अन्तिम प्रयास गरेका थिए। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा भन्थे, ‘काठमाडौँ खाल्डो विचित्रको छ। यसलाई चिन्न नसके अघि बढ्न सकिन्न चिन्न सके पनि एलिट र रैथाने सम्झनेले ध्वस्त पार्छन्।’ सिग्देलका हकमा पनि यस्तै भएको हो। उपरथी हुने समयमा पनि उनलाई जन्म मितिको कुरा निकालेर विवादमा तान्ने प्रयास भएको थियो। त्यतिबेलाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सिग्देललाई घर पठाउन सक्दो प्रयास गरेका थिए। कुनै गल्ती नभेटेपछि सिग्देल रथीसम्म बन्न सफल भएका थिए।

प्रधानसेनापतिको रोलक्रममा एक्लो प्रतिस्पर्धी भएपछि पनि सिग्देललाई अगाडि बढ्न नदिन केही बहालवाला सैनिक अधिकारी र केही अवकाशप्राप्त सैनिक अधिकारी सक्रिय भएका थिए। उनलाई रोक्न कारबाही परेका उपरथी, केही ठेकेदारसमेत लागेका थिए। शैक्षिक प्रमाणपत्रमा हुँदै-नभएको केरमेट देखाएर सिग्देलविरुद्ध अनेक प्रचारबाजी भएको थियो। कतिपय सञ्चारमाध्यमले तिनै कागजपत्रका आधारमा समाचार बनाए। सामाजिक सञ्जालमा पनि सिग्देलको विरोधमा अफवाह फैलाइएको थियो।

सिग्देलका विरोधीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्रीसमेतलाई अनेकन् कागज पठाउने काम गरे। गलत नहुँदा केही जोड चलेन उनीहरूको। अनि अन्तमा जंगीअड्डाले सिग्देललाई तीनतारे जर्नेल रथी बनाउने समयमै छानबिन समिति बनाएर उनको कागजपत्र छानबिन गरेकाले त्यसमा कुनै कैफियत नदेखिएको प्रस्टै थियो।

सिग्देलका बारेमा विभिन्न भ्रम बाहिर आए तर उनी चुपचाप बसे। कसैलाई आरोप लगाएनन्। सञ्चारमाध्यमको पनि दुरुपयोग गरेनन्। नेताकहाँ धाउने काम गरेनन्। उनले आफूभन्दा माथिल्लोको खिल्ली उडाउने र आफू त्यो पदमा पुगौँ भनेर पहल गरेनन्। उनले भनेका थिए, ‘क्षमता तलमाथि हुन्छ तर हामी चेन अफ कमान्डमा चल्ने हुनाले चिफसाब (प्रधानसेनापति) को विरुद्ध जान सकिन्न। हरेकले आफ्नो क्षेत्रबाट चिफसाबलाई १०० प्रतिशत सघाउने हो। विरुद्धमा जाने होइन।’

सिग्देल आफ्नो जिम्मेवारीमा आएको काम गर्दै अघि बढे। विरोधीहरूले दुःख दिइरहेको विषयले पनि उनलाई खासै छोएन। सिग्देलले रथीमा बढुवा भएपछि एक प्रसंगमा भनेका थिए, ‘म सबैको माया र भाग्यले प्रधानसेनापति हुन पाउने लाइनमा बसेको छु। कसले कता के गरेका छन् थाहा छैन। तर ताराध्वज पाण्डेले राजीनामा दिएर गएपछि सिनियर मै हुँ। प्रधानसेनापतिले पनि मेरो विकल्प पक्कै सोच्नुभएको छैन होला। प्रधानसेनापतिले चाहनु भएन भने मेरो हुँदैन। चाहनुभएमा अन्यले रोक्न सक्दैनन्। म सबै कोणले योग्य पनि छु। हरेकको फरक-फरक क्षमता हुन्छ नै।’

सिग्देलले यसो भनेको पाँच महिनापछि प्रधानसेनापतिको जिम्मेवारी पाएका छन्। उनले आगामी २४ गते प्रधानसेनापति प्रभुराम शर्मालाई बिदाइ गरेर आफू जिम्मेवारी पूर्ण रूपमा लिनेछन्। ‘म ठिक छु। मलाई चिफसाबले चिन्नुभएको छ। बुझ्नुभएको छ। मेरो केही बिग्रेको छैन। नबिराउनु-नडराउनु,’ सिग्देलले एक प्रसंगमा भनेका थिए, ‘कसैले सेनालाई गिजोल्न थाले भने त्यो पछि हेरौँला। जुन संगठनले पद दियो त्यही पदको गरिमामा बस्दैन भने त्यस्तालाई कसरी के गर्ने सोचौँला।’ तनहुँ पुर्ख्यौली घर भएका उनका पिता पछि भैरहवा बसाइँ सरेका हुन्। सिग्देलले काठमाडौँ आएर सेनाकै विद्यालयमा अध्ययन गरेका थिए। सिग्देल अध्यात्ममा असाध्यै विश्वास गर्ने सैनिक अधिकारी हुन्।

ताराध्वजको त्यो महँगो बोलीले खुलेको ढोका

सेनामा अनुशासित भएर काम गरेको भए  पाण्डेले रथीबाट राजीनामा दिनुपर्ने थिएन। उनले बीचमा राजीनामा नदिएको भए सायद सिग्देल तीन तारामा चित्त बुझाएर अवकाश हुनुपर्ने थियो। पाण्डे बोलीले सिग्देललाई प्रधानसेनापतिको बाटो खोलिदिएको हो। एक साँझको अभद्र बोलीले पाण्डेको जागिर गयो। ताराध्बज उपरथी रहँदा नै कूटनीति भेटघाट होस् या राजनीतिक कार्यक्रममा हुनेवाला प्रधानसेनापति भनेर चिनाइथ्यो।

शान्तिसेनाको प्रशिक्षण कार्यक्रम सकिएपछि तत्कालीन सहायक रथी सन्तोषबल्लभ पौड्यालले पाण्डेलाई राजधानीमा आयोजित एक रात्रिभोजमा हुनेवाला प्रधानसेनापति भनेर परिचय गराए। ताराध्वजले त्यहाँ जथाभाबी बोले। सेनाको नेतृत्व सम्हाल्ने भनिएको व्यक्तिको अभद्र बोली र व्यवहारका कारण उनी राजीनामा दिन बाध्य भए।

ताराध्वज पछि तीनतारे रथी हुने पालो सिग्देलकै थियो। उनले राजीनामा दिएपछि सिग्देल सैन्य नेतृत्वको प्रतिस्पर्धामा एक्लो बनेका हुन्। सिग्देल प्रतिशोध साँध्ने भन्दा प्रधानसेनापति भएपछि अभिभावकीय भूमिकामा रहेर सेनालाई माथि लैजाने सोचमा छन्। प्रतिशाेध साचेर बस्न नहुने तर कसैले सेनालाई असजिलो हुने काम गरेमा उसलाई छाड्न पनि नहुने पक्षधरका व्यक्ति हुन् उनी।

स्वच्छ सैनिक अधिकारी सिग्देलको अबको जिम्मेवारी

सिग्देल एक अब्बल सैनिक अधिकारी हुन्। सैन्य अधिकृतमा प्रवेश गर्दा आफ्नो ब्याचका टपर थिए भने पछि नेपाल भित्र र बाहिर लिने सबै प्रशिक्षण र एकेडेमिक वर्कमा उनी सधैँ पहिलो नम्बरमा पर्दै आए। सेनाभित्र उनी कम बोल्ने, काममा प्रोत्साहन गर्ने, आफ्नो अर्को नगर्ने, गुट नबनाउने, बरु सबै काम आफैँ गर्ने अब्बल जर्नेलका रूपमा परिचित छन्।

सेनामा सम्भारमा बसेका कर्नेलहरूले दुईचारवटा घर बनाउँछन्। सिग्देल यसका अपवाद मानिन्छन्। उनी त्यसमा केही रकम बचेमा सेनालाई डाइट थप्नुपर्ने जोड दिने सैनिक अधिकारी हुन्। उनकै पहलमा विभागको स्वीकृतिविना सम्भारले मात्र खरिद गर्न नसक्ने प्रावधान लागू गरिएको थियो। उनी प्रणाली बनाउन र सेनालाई आधुनिकीकरण गर्न सक्रिय छन्।

सेनाभित्र सिग्देललाई नेपाली सेनाको मेरुदण्ड र रणनीतिकार ठानिन्छ। कसले कुन कुरा किन भन्न खोजेको समेत उनी थाहा पाउँछन्। बाहिर कति हल्ला भइसकेका र उनलाई अनेका आक्षेप लागिरहँदा पनि उनी आफूले नबिराएको र आफ्नो सिनियरले पनि त्यो कुरा नपत्याएको हुँदा आफू काम गरिरहने बताउँथे।

सिग्देलले युद्धकार्य विभाग, निरीक्षण विभाग, कल्याणकारी निर्देशनालय, व्यवस्था, नीति तथा योजना विभाग, प्रबन्ध रथी, सम्भार रथी, मध्य तथा उपत्यका पृतना प्रमुख भएर काम गरिसकेका छन्। यतिबेला उनले बलाध्यक्ष र बलाधिकृत दुवैको जिम्मेवारी सम्हालेका छन्। अर्का रथी फोर्स कमान्डमा रहेका कारण उनले उनको समेत जिम्मेवारी सम्हालेका हुन्। यसअघिका अर्थात् वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले पनि बलाध्यक्ष र बलाधिकृत दुवै पद सम्हालेका थिए। त्यो समयका रथी ईश्वर हमाल पनि फोर्स कमान्डमा थिए।

सिग्देलले दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रशिक्षण लिएका छन्। नेपाली सेनालाई अन्य मुलुकको जस्तै व्यावसायिक र अब्बल बनाउन लिइने सबैखाले प्रशिक्षणमा उनले आफूलाई पहिलो पंक्तिमा राख्न सफल भए। सर्ट टर्म, मिड टर्म र लङ टर्मका प्रशिक्षण लिएका सिग्देल प्रधानसेनापति बन्न चाहिने सबै हाइयर कमान्ड तथा म्यानेजमेन्ट प्रशिक्षणमा प्रथम भएका छन्।

सिग्देलको तीन वर्षको कार्यकालमा काठमाडौँ–तराईमधेश द्रुतमार्ग सम्पन्न गर्ने, सेनालाई आधुनिकीकरण गर्ने र थप अनुशासित बनाउने विश्वास गरिएको छ। सिग्देललाई असफल बनाउने प्रयास पुष्टि भएमा त्यस्ता व्यक्तिलाई सेनाभित्र कारबाही हुनुपर्छ।

नेपाली सेनालाई बदनाम गर्ने, राजनीतिक दललाई सेनाभित्र प्रवेश गराएर सेनालाई प्रहरी जस्तो बनाउने प्रयत्न हुन सक्छ। सिग्देलले त्यसलाई परास्त गर्दै नेपाल र नेपालीको गौरव नेपाली सेनालाई थप सशक्त बनाएर अघि बढाउनुपर्छ। अझै पनि एउटा झिल्कोमा परिणत भइसकेकाे शक्तिले सेनालाई सत्रुकै रूपमा हेरेकाे देखिन्छ। अझै भित्र खेल्न लागेकाे बुझ्न कठीन छैन। तर वर्तमान नेतृत्व अन्य झै न धेरै बोल्छन न अहिलेका झै चुपचाप रहन्छन्।

प्रकाशित: १३ भदौ २०८१ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast