काभ्रेको खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा

हिमाल प्रेस १२ भदौ २०८१ २१:२१
18
SHARES
काभ्रेको खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको संक्रमण नियन्त्रणमा आएको छ। करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो।

हालै मात्र एक पाँच वर्षमुनिका बालकमा कालाजारको संक्रमण देखिएको थियो। कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताइन्। उनका नुसार ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार संक्रमण नियन्त्रणमा ल्याइएको हो।

‘भुसुनाका माध्यमबाट सर्ने यो रोग नियन्त्रणका लागि समयसमयमा भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरिएको छ । केही महिनाअघि बनेपा नगरको एक बालकमा पनि कालाजार देखिएको थियो। कार्यालयले त्यसबेला उक्त क्षेत्रमा पनि भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरी नियन्त्रणमा ल्याइएको हो,’ कार्यालय प्रमुख श्रेष्ठले भनिन्।

कालाजार लाग्न नदिन भुसुनाको टोकाइबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ। यसको संक्रमण भएमा लगातार ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमण देखापर्ने, वजन घट्ने, खानामा रुचि नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुन पनि सक्छ।

यसैबीच काभ्रेपलाञ्चोकमा डेढ महिनाको अवधिमा ५१ जनामा डेंगु संक्रमण भएको छ। कार्यालयका अनुसार २३ पुरुष र २८ महिलामा डेंगु संक्रमण देखिएको हो। संक्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा जिल्लामा चार सय ८७ जनामा डेगु संक्रमण भएको थियो।

काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ। डेंगुको उच्च जोखिम रहेका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि एक हो।

प्रकाशित: १२ भदौ २०८१ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast