समाजवादीमा फेरि माधव नेपाल शक्तिशाली, पदाधिकारीमा अटेनन् चर्चित नेता

किरण पौडेल १२ भदौ २०८१ १८:४४
2.1k
SHARES
समाजवादीमा फेरि माधव नेपाल शक्तिशाली, पदाधिकारीमा अटेनन् चर्चित नेता

काठमाडौँ- सर्वसम्मतिका लागि प्रयास गर्दागर्दै नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्यमा निर्वाचन भएको छ। महाधिवेशन सकिएको दुई महिनापछि भएको मतदानमा चर्चित मानिएका नेताले पराजय भोगेका छन्।

कुनै बेला एमाले विभाजन हुँदा अध्यक्ष माधव नेपाललाई बलियो साथ दिएका केही नेता चुनाव हारेका छन्। मतदानअघि मतदातालाई ‘चिट’ बाँड्दा पनि उनीहरू प्रतिस्पर्धामा अगाडि आउन सकेनन्।

मंगलबार बेलुका भएको मतदानमा अध्यक्ष नेपाल पक्षले मतदान गर्नुपर्ने उम्मेदवारको नामै लेखेर ‘चिट’ बाँडेको प्रतिनिधिहरूले बताएका छन्। उनीहरूका अनुसार नेपाल निकटस्थ नेताहरूले आफ्ना उम्मेदवारलाई जिताउन आफूखुसी चिट बाँडेका थिए।

समाजवादीमा २१ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ। चार पदाधिकारी यसअघि सर्वसम्मत चयन भएका थिए। अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल महाधिवेशनमै चुनिएका थिए। वरिष्ठ उपाध्यक्षमा मंगलबार राजेन्द्र पाण्डे सर्वसम्मत भए।

समाजवादीमा १७ पदका लागि चुनाव भएको थियो। निर्वाचित पदाधिकारीले अध्यक्ष नेपाल वा महासचिव भुसालको ‘साथ’ पाएको देखिएको छ। यद्यपि निर्वाचित भएर आएका पदाधिकारीहरूलाई हेर्ने हाे भने अध्यक्ष नेपाल बलिया बनेका छन्। यसअघि पनि उनी नै बलिया थिए।

चुनावी प्रतिस्पर्धाबाट आएका १७ जनामध्ये दुईतिहाई पदाधिकारी नेपाल पक्षीय छन्। अन्य पदाधिकारी महासचिव भुसाल निकटस्थ छन्। सम्मानित नेता झलनाथ खनाल भने पदाधिकारीमा एक्लिएका छन्।

महिला उपाध्यक्षमा भुसालपक्षीय जयन्ती राईले चुनाव जित्दा नेपालपक्षीय रामकुमारी झाँक्री पराजित भइन्। उपाध्यक्षमा भुसाल पक्षबाट धर्मनाथ शाह, प्रकाश ज्वाला र भानुभक्त जोशी तथा नेपाल पक्षका गंगालाल श्रेष्ठ र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्।

उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह निर्वाचित हुँदा नेपाल पक्षका राजेन्द्र राई, रामकुमार भट्टराई र मेटमणि चौधरी निर्वाचित भएका छन्। सचिवमा जित्ने  चन्द्रबहादर शाही र बलदेब चौधरी भुसाल पक्षीय हुन्। शेरबहादुर कुँवर, सोम पाण्डे, सावित्रा भुसाल, श्रीनाथ बराल नेपाल पक्षका छन्। केही नेता गुटमै परे पनि चुनावमा पराजित भए भने कोही गुटविहीन हुँदा पनि जित्न सकेनन्। केही चर्चित नेता भने चुनावमा हारेका छन्।

रामकुमारी झाँक्री

समाजवादी पार्टीमा सबैभन्दा चर्चामा रहेकी रामकुमारी झाँक्रीले चुनावमा हार व्यहोरेकी छन्। महिला उपाध्यक्षमा जयन्ती राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी थिइन्। जयन्ती महासचिव भुसाल गुटबाट चुनाव लडेकी थिइन्। झाँक्री माधव नेपालपक्षीय हुन्। जयन्तीले महाधिवेशनमा पुस्तान्तरणको आवाज उठाएकी थिइन्। उनले त्यतिबेला भुसाललाई अध्यक्ष बनाउन लबिइङ गरेकी थिइन्।

झाँक्री भने नेपाललाई नै निरन्तरता दिने पक्षमा खुलेकी थिइन्। झाँक्री एमाले विभाजन गरेर समाजवादी बनाउँदा सबैभन्दा बढी लोकप्रिय बनेकी नेत्री हुन्। त्यति बेला नेपालपक्षीय केही नेता एमालेमै रहँदा पनि झाँक्री ‘एक्लो’ समर्थक थिइन्। पार्टी विभाजनपछि शीर्ष नेतासँग सम्बन्ध चिसिएका कारण उनी चुनाव हारेको नेताहरू बताउँछन्।

नेताहरूका अनुसार नेपालले चाहेको भए झाँक्रीलाई सर्वसम्मत उपाध्यक्ष बनाउन सक्थे। समाजवादीका एक पदाधिकारीले भने, ‘राईलाई वरिष्ठ नेता बनाएर झाँक्रीलाई उपाध्यक्षमा ल्याउन सकिन्थ्यो। नेपालले जयन्तीले भिड्ने पदमै झाँक्रीलाई भिड्न बाध्य बनाएको देखियो।’

पार्टीमा वरिष्ठ नेता जति पनि बनाउन सकिने ती नेता बताउँछन्। अध्यक्ष नेपालले बेदुराम भुसाल, प्रमेश हमाललाई वरिष्ठ नेता बनाउने आश्वासन दिइएको उनको दाबी छ। जयन्ती पनि लामो वामपन्थी राजनीति गरेकी महिला नेत्री हुन्।

झाँक्री भने आफूलाई केन्द्रीय नेताहरूले साथ नदिएको बताउँछिन्। ‘चुनावमा हारजित हुन्छ। के भन्ने र!’ झाँक्री भन्छिन्, ‘बाहिरबाट मत हाल्ने होइन रहेछ। केन्द्रीय नेताले मत नहाल्दा हारेँ।’

यसअघि पनि उपाध्यक्ष रहेकी राई राष्ट्रियसभा सदस्य हुन्। झाँक्री भने यसअघि सचिव थिइन्। झाँक्री विद्यार्थी जीवनबाटै पार्टी राजनीतिमा फड्को मारेकी नेत्री हुन्। तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासनका बेला उनी सडक आन्दोलनमा अग्रपंक्तिमा हुन्थिन्। विद्रोह र आन्दोलनका समयमा अग्रपंक्तिमा आउने झाँक्रीले हार्नु पछाडि नेपाल नै कारक रहेको नेताहरूले भनाइ छ।

‘झाँक्रीले जितेको भए नेपालमाथि थ्रेट हुन्थ्यो। उनी भाबी अध्यक्षका रूपमा दाबी गर्न सक्थिन्,’ एक नेता भन्छन्, ‘यही कारण हारिन् भन्ने लाग्छ।’

असारमा सम्पन्न महाधिवेशनमा तीन जना मात्र पदाधिकारी निर्वाचित हुँदा झाँक्रीले निर्वाचन मण्डलका अध्यक्ष झलनाथ खनालप्रति असन्तुष्टि पोखेकी थिइन्। खनालले आफूहरूलाई लड्न नदिएको र महाधिवेशन प्रतिनिधिलाई घर पठाएको गुनासो झाँक्रीको थियो। २०७९ मा सम्पन्न प्रतिनिधिसभामा गुल्मी–२ बाट झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।

विरोध खतिवडा

लामो समय एमालेबाट राजनीति गरेका विरोध खतिवडा विद्रोह गरेर समाजवादी बनेका थिए। यसअघि स्थायी कमिटी सदस्य रहेका उनी खुला उपाध्यक्षका प्रतिस्पर्धी थिए। ‘म लोकप्रिय त रहेछु नि। ११ जनामा पाँचौँ भएँ’, झिनो मतले पराजित भएका खतिवडाले ठट्यौली गर्दै हिमालप्रेससँग भने, ‘जित्नकै लागि उठेको थिएँ। के कारण हारियो थाहा भएन।’ मकवानपुर गृहजिल्ला भएका उनी चारपटक प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन्।

एमालेमा रहँदा खतिवडा स्थायी कमिटी सदस्य थिए। २०७९ को प्रतिनिधिसभामा समेत हारेका उनले पार्टीको आन्तरिक चुनाव पनि जित्न सकेनन्। खुला उपाध्यक्षमा चारजना निर्वाचित हुँदा उनी पाँचौँ भएका हुन्।

खतिवडा माधव नेपाल पक्षबाट उठेका थिए। ‘अलिअलि लिस्ट बाँडाबाँड पनि भएको हो। के भन्ने र!’ विरोधले घुमाउरो शैलीमा मुख्य नेतृत्वले साथ नदिँदा हारेको स्वीकार गरे।

धनराज आचार्य

समाजवादीको पराजित हुने सूचीमा परेका छन्, पोखराका मेयर धनराज आचार्य। उनी २०७९को स्थानीय तहको चुनावमा महानगरकाे मेयरमा जित्ने एक्लो समाजवादीका नेता हुन्। पोखरामा लोकप्रिय मानिने यी नेता समाजवादीको चुनावमा भने सचिव पदमै पराजित बने।

खुला सचिवमा उम्मेदवारी दिएका उनले जित्ने ५ उम्मेदवारले ९१ भन्दा माथि मत ल्याउँदा ७५ मतमात्र ल्याए। उनी घनश्याम भुसाल प्यानलबाट उठेका थिए। उनले हार्नुको कारण भने पोखराबाटै धेरै उम्मेदवार भएर भनिएको छ। ‘पोखराबाट दिलु पन्त, धनराज आचार्यसहित श्रीनाथ बरालले उम्मेदवारी दिएका थिए,’ समाजवादी निकट एक नेता भन्छन्, ‘यही कारण हारेको हो कि भन्ने छ।’

सचिवमा श्रीनाथ बराल, सोमप्रसाद पाण्डेय, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही निर्वाचित भएका छन्। बरालले १०७, शाहीले ९१ मत, पाण्डेयले १४१ मत र सावित्राकुमारी भुसालले १०६ मत ल्याएका थिए। आचार्य विद्यार्थी राजनीति हुँदै मूल राजनीतिमा लागेका हुन्। धनराज पोखरामा स्थापित नेताका रूपमा चिनिन्छन्।

दामोदर अर्याल र नरेश शाही

दामोदर अर्याल

यसअघि प्रचार विभाग उपप्रमुख रहेका दामोदर अर्याल सचिवमा पराजित भए। उनले जम्मा ३० मतमात्र पाएका थिए। उनी पार्टीभित्र वैचारिक नेताका रूपमा चिनिन्छन्।

उनले केही समयअघि मात्रै ‘बिर्सिएको वर्गसंघर्ष’ नाम पुस्तक सार्वजनिक गरेका छन्। समाजवादी मोडललाई अगाडि बढाउन भन्दै अर्यालसहितका नेताले समाजवादीमा ‘समाजवाद अध्ययन केन्द्र’ स्थापना गरेका छन्।

उनी अहिले याे केन्द्रकाे सल्लाहकार हुन्। पछिल्लो समय उनी पुस्तान्तरणकाे पक्षमा वकालत गर्दै घनश्याम भुसालको पक्षमा खुलेका थिए। ‘अब हारिहालियो। केही भन्ने कुरा नै छैन। जित्नेलाई बधाई भन्न चाहन्छु’, अर्यालले भने।

नरेश शाही

शाही पनि सचिव पदमै पराजित भएका हुन्। उनले खुला सचिवमा ६६ मत मात्र प्राप्त गरे। उनी समाजवादी विभाजन हुँदा युवा संघको नेतृत्वकर्ता हुन्। पार्टी समेत विभाजनमा जाने/नजाने तय नहुँदै नरेशले युवा संघमा समानान्तर गतिविधि फैलाइसकेका थिए। विभाजनपछि पनि उनी युवा संघको सचिव बने।

२०७९ को प्रदेशसभा निर्वाचनमा शाही प्रदेशसभामा निर्वाचित भएका थिए। बाजुरा प्रदेश (क) मा शाहीले १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन्। शाही यसअघि कमलबहादुर शाह मुख्यमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए। नरेश समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकटस्थ मानिन्थे। तर यसपटक भने कुनै गुटमा नाम नपरेको उनी निकट नेताहरू सुनाउँछन्। ‘यसअघि प्रायः सबै चुनाव जितिन्थ्यो तर यसपटक हारियो,’ नरेश भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =