साँढे हत्या प्रकरण : जनकपुरधामका मेयरले मागे माफी

हिमाल प्रेस १२ भदौ २०८१ १५:४८
12
SHARES
साँढे हत्या प्रकरण : जनकपुरधामका मेयरले मागे माफी जनकपुरधामका मेयर मनाेजकुमार साह

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले साँढे हत्या प्रकरणमा माफी मागेका छन्। उपमहानगरले सहरी क्षेत्रका साँढे मारेर फ्यालेको घटना सार्वजनिक भएपछि मेयर साहले माफी मागेका हुन्।

‘कुनै पशुधनको हत्या गर्नु न पालिकाको उद्देश्य हो न कुनै कर्मचारीको,’ बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘काम गर्ने सिलसिलामा गल्ती भएको हुनसक्छ, त्यो गल्ती पुनः नदोहोरियोस् भन्नेमा हामी सचेत छौँ।’

सहरी क्षेत्रको छाडाचौपाया नियन्त्रण गर्ने अभियानअन्तर्गत उपमहानगरले साँढेलाई सुई दिएर अचेत बनाइ राजमार्ग क्षेत्रका खोला किनारमा फ्याल्ने गरेको घटना सार्वजनिक भएको थियो। यसक्रममा केही साँढे मृत अवस्थामा फेलका परेको थियो भने कतिपय घाइते अवस्थामा फेला परेको थियो।

मेयर साहले साँढेलाई गौशालामा राख्न नमिल्ने भएपछि के गर्ने भनेर प्रश्न गरेका छन्। उनले भनेका छन्,‘साँढेलाई गौशालामा त राख्न सकिन्न, त्यसो भए के गर्ने? कसरी समाउने र कहाँ राख्ने?’

त्रिशुल तताएर डाम्ने अमानवीय भएको समेत उनले उल्लेख गरेका छन्। साहले भनेका छन्,‘मेरो एउटा प्रश्न छ : बाछालाई त्रिशुल डाम्नु यो मानवीय हो? फेरि डामिएको साँढेलाई खुला बजारमा छोड्नु मानीय हो त?’

सहरी क्षेत्रबाहिर नफ्यालेर साँढेलाई डाम्ने र सडकमा खुला छोड्ने व्यक्तिको जिम्मो लगाउने हो भनेर प्रश्न गरेका छन्। उनले भनेका छन्,‘के जसले साँढेलाई डामेर बजारमा छोडेका छन् उनको जिम्मा लगाउने हो त?’

साहले सहरी क्षेत्रका साँढेलाई व्यवस्थापनका लागि सुझाव दिन नगरवासीसँग आग्रह गरेका छन्।

उपमहानगरले नगरप्रहरी परिचालन गरेर रातको मौका छोपी सहरी क्षेत्रका छाडा साँढेहरूलाई अचेत बनाएर राजमार्ग क्षेत्रका सडक र खोलामा फ्याल्ने गरेको घटना सार्वजनिक भएपछि मेयर साहको चौतर्फी आलोचना भएको थियो।

सहरी क्षेत्रका साँढेहरूलाई टिपरमा लोड गरेर धनुषाको मिथिला नगरपालिका नक्टाझिजस्थित बसही खोला र क्षिरेश्वर नगरपालिका–७ स्थित जलाद खोलामा फ्यालिएको घटना सार्वजनिक भएको थियो।

यो घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशले पनि आपत्ति जनाएको छ। छाडा साँढे व्यवस्थापन हुनुपर्ने भए पनि निर्दयी तरिकाले यातना दिएर, मारेर फाल्ने जनकपुरधाम उपमहानगरको काम अत्यन्त खेदजनक रहेको जनाएको छ।

गाईगोरु साँढे मार्नु गैरकानुनी रहेको भन्दै एशोसिएसन विज्ञप्ति निकालेर यसमा संलग्न दोषीमाथि कानुनबमोजिम अविलम्ब कारबाही गर्न माग गरेको छ।

मुलुकी फौजदारी संहिताको दफा २८९ को उपदफा १ र २ ले गाई वा गोरुलाई चोट पुर्‍याउने नियतले कुनै काम गरेको वा सो काम गर्दा गाई वा गोरु, साँढे मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

त्यस्तै उपदफा ३ ले कसैले गाई, गोरु वा साँढेलाई कुटी अङ्गभङ्ग पारेमा ६ महिना कैद र अन्य चोट पुर्‍याएमा पचास हजार रूपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ।

 

 

प्रकाशित: १२ भदौ २०८१ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast