काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाएका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा राजदूत पदलाई सरकारले दलहरूको भर्ती केन्द्रको रूपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन्। सांसद श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्ताराष्ट्रिय रूपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए।
उनले राजदूत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने बताए।
सांसद श्रेष्ठले भने, ‘राजदूत पद राजनीतिक दलहरूको भर्ती केन्द्र हो? राजदूत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ र नेपालीहरूलाई समस्या परेको छ। सरकारले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको पालना गरेको छैन। यसले नेपालको अन्ताराष्ट्रिय छवि धमिल्याउन सक्छ।’
सांसद श्रेष्ठले राजदूत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए।