परराष्ट्र मन्त्री राणा र ओमानका समकक्षीबीच वार्ता : श्रम सम्झौता गर्ने सहमति

हिमाल प्रेस ११ भदौ २०८१ १५:०६
10
SHARES
परराष्ट्र मन्त्री राणा र ओमानका समकक्षीबीच वार्ता : श्रम सम्झौता गर्ने सहमति

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ। राणाकै निमन्त्रणामा सोमबार नेपाल आइपुगेका बुसाइदीसँग नेपाल-ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा छलोफल भएको हो।

वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो। वार्तामा नेपालतर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए।

वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरिन्। पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन्। यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी नेपालले नेपाली श्रमिकहरूको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो। नेपाली पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो। ओमानी पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिमक लैजाने विषय बताएको थियो। यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको बताइएको छ।

त्यस्तै परराष्ट्र मन्त्री डा राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमनलगायतका अन्य सम्भावनाहरूमा संयुक्त रुपमा गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरिन्।

त्यस्तै वार्तामा राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरिन्।

सो वार्तापछि मन्त्री राणाले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन्। उनले नेपाल र ओमानका दुवैतर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहमा कुरा गरेको र दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी गराइन्।

प्रकाशित: ११ भदौ २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =