‘कांग्रेस एमाले नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम पार्न खोजिरहेका छन्’

हिमाल प्रेस ११ भदौ २०८१ १४:२७
10
SHARES
‘कांग्रेस एमाले नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम पार्न खोजिरहेका छन्’ पुष्पकमल दाहाल

काठमाडौँ- प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवा गरी अनुसन्धान नै प्रभावित बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। आजको प्रतिनिधिसभामा बैठकमा शरणार्थी प्रकरण अनुसन्धान निस्तेज पार्न सरकारनै लागि परेको उनको आरोप छ।

‘भुटानी शरणार्थी काण्डको अनुसन्धानमा भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवा भयो,’ उनले भने, ‘त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर। हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिर लगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो। नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न र अरु अपराधीहरूलाई जोगाउन सरकार जे गर्दै छ, त्यो खतरनाक छ।’

उनले नक्कली शरणार्थी प्रकरण कांग्रेस र एमालेले एकअर्कालाई जोगाउन र उन्मुक्ति दिने खालको सामान्य अपराध नभएको पनि टिप्पणी गरे। ‘कांग्रेस–एमालेका साथीहरूलाई यो रोष्टमबाटै मेरो अनुरोध छ, नक्कली शरणार्थी काण्ड तपाईंहरूले एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध होइन’ उनले भने।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणको छानविन रोकेर अन्तर्राष्ट्रियस्तरमै बदनाम भएको बताए। ‘अन्तराष्ट्रिय जगतमै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपिठो बनाएको छ,’ उनले भने, ‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईंहरू ? अन्तर्राष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा ?’

उनले सरकार अहंकार र गलतबाटोतर्फ अग्रसर भएको आरोप पनि लगाए। ‘झन्डै पौने दुई महिना भन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु। सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ’, उनले भने।

प्रकाशित: ११ भदौ २०८१ १४:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =