पाल्पाको भगवती जात्रामा राष्ट्रपति पौडेल सहभागी हुने

हिमाल प्रेस ११ भदौ २०८१ ८:३६
8
SHARES
पाल्पाको भगवती जात्रामा राष्ट्रपति पौडेल सहभागी हुने

लुम्बिनी- पाल्पाको भगवती रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुने भएका छन्। उनी दिउँसो ११ बजे पाल्पा आउने कार्यतालिका छ।

जात्रामा राष्ट्रपतिको विशेष सहभागिता हुने आयोजकले जनाएको छ। तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ। विस १८७१-०७२ मा नेपाल–अंग्रेज युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्राको आरम्भ गरेका थिए।

भगवतीको भाँकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले भगवतीको महिमा फैलाउन विस १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने प्रचलन बसालेका थिए। सोही बेलादेखि निरन्तर रूपमा सञ्चालन भएको भगवती (रथयात्रा) जात्राको अवलोकन राष्ट्रपति पौडेलले गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी जानकारी दिए।

उनका अनुसार राष्ट्रपति पौडेलले भगवतीदेवीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्ने र अन्य भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको प्रशासनले जनाएको छ। भगवती जात्राकै लागि लुम्बिनी प्रदेश सरकारले मंगलबार पाल्पा जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ।

मुख्यमन्त्री आचार्यद्वारा शुभकामना

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन योजना बनाएको बताएका छन्।

प्रदेशभित्रका १२ जिल्ला हिमाल, पहाड र तराइ जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताएका हुन्। पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले सबै समुदाय बिशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्पारा, धार्मिक मान्यताहरुलाई बराबर सम्मान गर्ने बताएका छन्।

‘सामाजिक रूपान्तरणका साथै जागरण र चेतना वृद्धिमा मौलिक परम्पराहरुको आ–आफ्नै भूमिका छन्। समाज विकाससँग यी परम्परा जोडिएका छन्’उनले भनेका छन्,‘प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहन्छ।’

प्रकाशित: ११ भदौ २०८१ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =