एकीकृत समाजवादीको पदाधिकारी चयन गर्न भोलि मतदान

हिमाल प्रेस १० भदौ २०८१ १८:३५
12
SHARES
एकीकृत समाजवादीको पदाधिकारी चयन गर्न भोलि मतदान

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्युरो कमिटी चयन गर्न मंगलबार निर्वाचन हुने भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो।

सहमतिबाट पदाधिकारी र पोलिटब्युरो कमिटी चयन हुन नसकेपछि एकीकृत समाजवादीले चुनावमा जाने निर्णय गरेको हो।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मंगलबार मतदान हुने बताए। उनले बिहान ७ बजेदेखि आधा घण्टा मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको जानकारी दिए।

मतदानस्थल नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेट राखिएको छ। मतदान दिउँसो २ बजेदेखि सुरू हुने प्रवक्ता खतिवडाले बताए।

‘निर्वाचनबाट पदाधिकारी टुंग्याउने निर्णय भयो,’ उनले भने,‘भोलि बिहान ७ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ, मतदान दिउँसो २ बजेदेखि सुरू हुन्छ।’

सहमतिका लागि प्रयास गरे पनि अधिकांश नेता कार्यकर्ताको राय चुनावमै जानुपर्ने आएको उनको भनाइ छ। खतिवडाले भने,‘सहमतिका लागि छलफल गर्‍यौँ, धेरै नेताहरू विभिन्न पदका लागि आकांक्षी भए। त्यही भएर चुनावमै जाने कुरा भयो।’

आफूले उपाध्यक्ष पदका लागि प्रचारप्रसार सुरू गरिसकेको खतिवडाले बताए।

चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव निर्वाचित हुनेछन्। एकीकृत समाजवादीको विधानमा केन्द्रीय समितिको एक तिहाई पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहने उल्लेख छ।

असार १६ देखि २० गतेसम्म काठमाडौँमा चलेको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, ‘सम्मानित’ नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका थिए।

यी हुन् आकांक्षी

समाजवादीमा वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र प्रमेश हमालले लड्ने तयारी गरेका छन्। माधव नेपाल निकटस्थ मानिने यी नेताहरू चुनावबाटै वरिष्ठ उपाध्यक्ष चुनिन चाहेका छन्। यसबाहेक घनेन्द्र बस्नेत, बेदुराम भुसाल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन्। तर चुनावमा जान भने यी नेता डराएको समाजवादीका एक नेताको भनाइ छ।

यता, ७ उपाध्यक्षमा भने धेरै आकांक्षी देखिएका छन्। जगन्नाथ खतिवडा, जयन्ती राई, धर्मराज शाह, रामचन्द्र झा, विजय पौडेल, रामकुमारी झाँक्री, हरि पराजुली, जीवराज श्रेष्ठ, राजेन्द्र राई, प्रकाश ज्वाला, गंगालाल तुलाधर, उर्बादत्त पन्त उपाध्यक्षका आकांक्षी हुन्।

उपाध्यक्षमा क्लस्टर रहेकाले धेरै आकांक्षी देखिएको नेताहरूको भनाइ छ। महिला कोटाबाट जयन्तीले उम्मेदवारी दिने तयारी गरेकी छन्। यता, धर्मराज शाह र रामचन्द्र झाले मधेशी क्लस्टरबाट उपाध्यक्ष चुनिन् खोजिरहेका छन्।

यसबाहेक भानुभक्त जोशी पनि उपाध्यक्षका आकांक्षी छन्। तर उनी चुनावमै भएमा उपमहासचिव भिड्ने समेत हिमालप्रेसलाई बताए। यस्तै, ४ उपमहासचिवमा शत्रुधन महतो, गरिमा शाह, श्रीप्रसाद शाह, अम्बरबहादुर थापाले आकांक्षा देखाएका छन्। चुनाव हुने तयारीपछि आकांक्षी बढ्ने सम्भावना रहेको समाजवादी नेत्रृ आरती लामा बताउँछिन्।

यता ७ सचिवमा नरेश शाही, दीर्घ सोडारी, अब्दुल हुसेन, धनराज आचार्य, लक्ष्मण लम्साल, बलदेव चौधरी, प्रमोद यादव, चन्द्रबहादुर शाहीले आकांक्षा देखाएका छन्। समाजवादीको सचिव पद प्रदेश क्लस्टरबाट चुनिने पर्ने विधान छ। यहाँ सुदूरपश्चिमबाट सोडारी चुनिन् खोज्दा नरेश शाहीले पनि सुदूरपश्चिम क्लष्टर रोज्ने तयारी गरेका छन्।

यता धनराज आचार्य गण्डकी, लक्ष्मण लम्साल बागमती, प्रमोद यादव कर्णाली र कोशीबाट बलदेव चौधरीले सचिवमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। समाजवादी स्रोतका अनुसार आकांक्षी अझै बढ्ने सम्भावना छ। युवा नेता सुदेश पराजुलीले पनि सचिवमै प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

पदाधिकारीमा गुटगत लडाइँको सम्भावना

यसअघि महाधिवेशनमा पनि केन्द्रीय गुटको प्रतिस्पर्धा भएको थियो। अब पनि नेताहरूबीच गुटकै लडाइँ हुने सम्भावना देखिएकाे छ।

नेपाल, खनाल र भुसालले खुलेर कसैलाई पनि समर्थन नगरे पनि भित्रभित्रै गुटगत प्रतिस्पर्धा गर्ने तयारी भइरहेको नेताहरू बताउँछन्। गएको महाधिवेशनमा पनि नेपालपक्षसँग खनाल र भुसालपक्ष प्रतिस्पर्धा गर्ने तयारी भएको थियो। तर महाधिवेशनको दिन खनालले नेपाललाई समर्थन गर्दा नेपाल अध्यक्षमा चुनिएका थिए। अब खनाल र भुसालको एउटा गुट र नेपालको अर्को गुट बन्ने सम्भावना छ। यी सबैलाई केन्द्रीय सदस्यहरूले मत हाल्नेछन्। हाल समाजवादीको ३४४ सदस्यीय केन्द्रीय कमिटी छ।

प्रकाशित: १० भदौ २०८१ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =