गुटले थलिएको अखिल क्रान्तिकारी : कसरी चुनिएला नेतृत्व?

हिमाल प्रेस १० भदौ २०८१ २०:१३
60
SHARES
गुटले थलिएको अखिल क्रान्तिकारी : कसरी चुनिएला नेतृत्व?

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्वका लागि आकांक्षी विद्यार्थी नेताहरूको दौडधुप बढेको छ। संगठनको राष्ट्रिय सम्मेलन तोकिएपछि विद्यार्थीले नेतृत्वमा जान गृहकार्य अघि बढाएका हुन्।

क्रान्तिकारीको महाधिवेशन असोज २ देखि ५ सम्म काठमाडौँमा हुनेछ। सम्मेलनले भद्दा संगठनको अन्त्य गर्ने र निर्वाचित नेतृत्व तय गर्ने आस गरिएको छ। यसअघि २२ औँ सम्मेलनबाट नेतृत्व चयन भए पनि विवादका कारण संगठन चलायमान बन्न सकेको छैन। अब हुने सम्मेलनमा कसरी नेतृत्व चुन्ने प्रस्ट भएको छैन।

गएको सम्मेलनमा अध्यक्षमा पञ्चा सिंहसहित महत्त्वपूर्ण सबै पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत टुंग्याइएको थियो। यसैले संगठनमा गुटगत प्रवृत्ति देखियो र समानान्तर कमिटीसमेत बने। अब पनि संगठनमा सहमतिको बाटो खोजे समस्या निम्तिने नेताहरू बताउँछन्।

अब संगठनमा उमेर हदको प्रस्ताव राख्ने वा नराख्ने भन्नेमा पनि एकै मत छैन। संगठनमा उमेर हद लागेमा माथिल्लो कमिटीका अधिकांश नेता संगठनबाट बाहिरिने निश्चित छ। किनभने क्रान्तिकारीमा ३२ वर्षे उमेर हद राख्ने सम्भावना छ।

यसअघि क्रान्तिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेर हद लगाउने बताएका थिए। ‘अहिलेको नेतृत्व ४० पुग्न लागेको छ यदि उमेर हद लगाएर धेरै नेता बाहिरिन्छन्, तर अहिलेको पार्टी नेतृत्व कसलाई पनि हियाउन खोजेजस्तो देखिँदैन’, एक विद्यार्थी नेता भन्छन्। उमेर हद लागेमा धेरै नेता संगठनबाट बिदा हुने सम्भावना छ। उमेर हदलाई आधार बनाएर क्रान्तिकारीको विधान सम्मेलन हुने सम्भावना छ।

सम्मेलनबाट उमेर हद लाग्ने-नलाग्ने निश्चित हुने विद्यार्थी नेताहरू बताउँछन्। उमेर हद लाग्ने सम्भावना भने कम छ। किनभने अहिले संगठनको पालिका र प्रदेश सम्मेलन भइरहेको छ। जहाँ उमेर हद लागेको छैन। अब केन्द्रमा मात्र उमेर हद लाग्दा ‘एकरूपता’ नहुने नेताहरूको भनाइ छ।

दर्जन बढी दाबेदार, गुटभित्रै प्रतिस्पर्धी

२२ औँ सम्मेलनबाट अध्यक्षमा चुनिएकी पञ्चा सिंह अब बिदा हुनेछिन्। किनभने उनी माओवादीको केन्द्रीय सदस्य चुनिएकी छन्। विधानतः पनि पार्टीमा संगठित बनेपछि संगठबनबाट बिदा हुनुपर्ने हुन्छ। सिंह बिदा हुने भएपछि उपाध्यक्ष र महासचिव स्वतः नेतृत्वका दाबेदार बनेका छन्।

संगठनमा ११ उपाध्यक्ष छन्। तीमध्ये अध्यक्षका केही प्रबल दाबेदार छन्। संगठनको नेतृत्व हत्याउन विद्यार्थी नेताहरू आफ्ना गुटका नेतासमक्ष पुगिरहेका छन्। माओवादीभित्र सबै शक्तिशाली समूह जनार्दन शर्मा र वर्षमान पुनका गुट छन्। विद्यार्थी संगठनभित्र पनि यिनै समूहको प्रतिस्पर्धा हुन्छ। जनार्दन-वर्षमान गुटबाहिरका नेताले आकांक्षा देखाए पनि चुनावमा हार्ने सम्भावना रहन्छ।

यसअघि अध्यक्ष चुनिएकी पञ्चा माओवादी उपमहासचिव जनार्दन निकट मानिन्छिन्। २२ औँ सम्मेलनमा जनार्दनकै जोडबलले तत्कालीन उपाध्यक्ष रहेकी पञ्चा अध्यक्ष बनिन्। उनी विवादरहित बनिनन्। उनको नेतृत्व नमान्ने भन्दै पवन कार्की समूहले समानान्तर कमिटी बनायो।

यही विषय गएको स्थायी समिति बैठकमा जनार्दन शर्माले प्रतिवेदन पेस गर्दै ‘प्रचण्डले नै समानान्तर कमिटी बनाएको’ आरोप लगाएका थिए। कार्की समूहले सिंहमाथि रकम हिनामिनाको समेत आरोप लगाएको थियो। तर अहिले समानान्तर भंग भएर पञ्चाकै नेतृत्वमा सबै विद्यार्थी गोलबद्ध बनेका छन्।

जनार्दन गुट

पञ्चा बिदा भए पनि उनको पावर संगठनमा चल्छ। अब जनार्दन गुटबाट क्षितिज सापकोटा, नारायण खनाल, जीपी मैनाली, मदन भुल, मदन भट्टराई, प्रबिना अधिकारी अध्यक्षका दाबेदार छन्। यी सबै हालका उपाध्यक्ष भएकाले पनि अध्यक्षमा दाबेदारी देखाएका छन्। यसमध्ये क्षितिज, नारायण, मदन भुल अध्यक्षका बलियो दाबेदार मानिन्छन्। यसमध्ये क्षितिज र मदनको सम्भावना यो सबैबाट बलियो देखिन्छ।

वर्षमान गुट

वर्षमान प्यानलबाट दीपेश पुन, इन्द्र भुसाल र पवन कार्की अध्यक्षका दाबेदार हुन्। दीपेश पुन हालका महासचिव हुन्। पवन भने पञ्चाविरुद्ध समानान्तर गठन गर्दा कमिटीको अध्यक्ष बनेका थिए। दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। यो गुटबाट पवन र दीपेशमध्ये एक जना अध्यक्षका उम्मेदवार बन्नेछन्। ‘वर्षमान दाइलाई यहाँ अप्ठ्यारो हुने देखिन्छ। नेताको छोरा रोज्ने कि विद्रोह गरेको नेता?’, एक विद्यार्थी नेता सुनाउँछन्।

पम्फा-देव गुट

विद्यार्थी संगठनमा जनार्दन-वर्षमानपछि पम्फा भुसाल र देव गुरुङ गुट छ। उपाध्यक्ष भुसाल र महासचिव देव गुरुङबाट यसपटक नरेश रेग्मी र मिलन एमसी अध्यक्षका दाबेदार हुन्। उनीहरू दुवै उपाध्यक्ष हुन्।

यो गुटलाई पूर्व बादल समूह पनि भनिन्छ। रामबहादुर थापा ‘बादल’ समूहका माओवादीमा रहेका नेताहरू मिलेर अहिले गुट चलाउने गरेका छन्। देव गुरुङ महासचिव बनेपछि यो गुट केही बलियो देखिएको नेताहरू दाबी छ।

यो समूहबाट नरेश प्रबल दाबेदार भएको नेताहरू सुनाउँछन्। माओवादीका एक नेताका अनुसार वर्षमान निकट पवनलाई अध्यक्ष बनाएर नरेशलाई महासचिव बनाउने समेत तयारी भइरहेको छ।

नारायणकाजी गुट

क्रान्तिकारीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि प्रभाव छ। यो समूहबाट अध्यक्षमा एक्लो दाबेदार अहिलेसम्म देखिएका छैनन्। उनी निकट एक नेताका अनुसार नारायणकाजीले पनि वर्षमान निकट मानिने पवन कार्कीलाई सहानुभूति रहेको छ।

यसअघि पञ्चाविरुद्ध नारायणकाजी-वर्षमान गुट भएर समानान्तर बनाएको थियो। संघर्षमा सँगै भएकाले पनि नारायणकाजीले पवनलाई समर्थन गर्न सक्ने नेताहरू सुनाउँछन्। यसबाहेक केन्द्रीय नेतृत्व पनि पवनप्रति सकारात्मक रहेको ती नेता बताउँछन्।

महरा गुट

क्रान्तिकारीमा अहिले कृष्णबहादुर महराको समेत गुट छ। यो गुट बलियो नभए पनि केही विद्यार्थी नेता सहभागी छन्। महरा गुटबाट अध्यक्षका दाबेदार हुन्, तुकमान महरा। उनी जोखबहादुर महराका छोरा हुन्। महरा-पुन प्यानल समेत एक भएर जाने सम्भावना छ। किनभने कृष्णबहादुर महरा र वर्षमान पुन पार्टीमा समेत निकटस्थ मानिन्छन्।

कसरी चुनिएला नेतृत्व?

तीन वर्षपछि हुन लागेको सम्मेलनले नयाँ नेतृत्व दिने निश्चित छ। तर सर्वसम्मतिको प्रयास भएमा फेरि पनि समस्या उत्पन्न हुने देखिएको छ। यतिबेला फेरि पार्टीमा समेत विवाद रहेकाले संगठनमा थप समस्या हुने अनुमान छ।

यसैले पनि विधान सम्मेलनमा घनीभूत छलफल गरेर सम्मेलन गर्ने क्रान्तिकारीको तयारी छ। संगठनलाई चलायमान र गति दिने व्यक्ति नै अध्यक्ष बनाउने दाबी अध्यक्ष सिंहको छ। ‘संगठनलाई हाक्न सक्ने नेता अब नेतृत्वमा पुग्नेछन्,’ सिंह भन्छिन्। संगठनमा सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने नभए लोकतान्त्रिक विधि अपनाउने योजना छ।

‘महाधिवेशन समयमै हुन्छ। यसमा समस्या छैन,’ क्रान्तिकारीका नेता मदन भट्टराई भन्छन्। हुन त पछिल्लो समय माओवादी पनि चलायमान बन्दै गएको छ। यसले पनि क्रान्तिकारीलाई थप सक्रिय बनाउने योजना छ।

यसका लागि अब विधान सम्मेलन महत्त्वपूर्ण भएको नेताहरुको भनाइ छ। अहिले क्रान्तिकारी २२ सय सदस्यीय कमिटी भएकाले भद्दा रहेको छ। जसले गर्दा अब काँटछाँटसमेत भएर नेतृत्व चुनिने नेताहरूको भनाइ छ। अबको विधान सम्मेलनले पदाधिकारी, स्थायी समिति र केन्द्रीय सदस्यहरूको मापदण्ड बनाउनेछ। यसपछि सम्मेलनमा जाँदा सजिलो हुने अध्यक्ष सिंहको बुझाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast