नेसनल अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरले लगायो रोक

हिमाल प्रेस १० भदौ २०८१ १६:१०
10
SHARES
नेसनल अस्पतालको फोहोर संकलनमा काठमाडौँ महानगरले लगायो रोक अनुगमनका लागि नेसनल अस्पताल पुगेका महानगरका कर्मचारीलगायत।

काठमाडौँ- कलंकीस्थित नेपाल नेसनल अस्पतालको फोहर संकलनमा रोक लगाइएको छ। जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएपछि संकलनमा रोक लगाइएको हो।

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारदेखि सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन्।

‘उक्त अस्पतालका वार्डहरूबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ। टहरामा ४ वटा कोठा छन्। तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए। दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो भने तेस्रो कोठामा धेरै फोहरका पोका थिए,’ महानगरले भनेको छ।

उक्त अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले बिग्रिएको जानकारी दिएको थियो। त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने अस्पतालले प्रतिबद्धता जनाएको थियो। यस्तै २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर पनि अस्पतालले प्रतिबद्धता जनाएको थियो। यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार भएको थिएन।

अस्पतालले प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो। यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो।

यी सबै प्रयासपछि सोमबार अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको भेटिएको महानगरको भनाइ छ। यस्तै अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले अस्पतालले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको प्रतिक्रिया दिइन्।

प्रकाशित: १० भदौ २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =