काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिको टुंगो लगाएको छ। जनकपुरधाममा एकताको राष्ट्रिय महाधिवेशन सकिएको साढे दुई महिनापछि जसपा नेपालले पदाधिकारी टुंगो लगाएको हो।
जेठ २८ देखि ३० गतेसम्म चलेको महाधिवेशनमा सहमति जुट्न नसकेपछि पदाधिकारी टुंग्याउने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई प्रत्यायोजन गरिएको थियो। यादवले पार्टी विधानअनुसार २० जना पदाधिकारी र १० जना केन्द्रीय कार्यकारिणी समिति सदस्यका साथै केन्द्रीय सदस्य र विभिन्न आयोगको टुंगो लगाएका हुन्।
उनले पार्टी सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनित गरेका छन्। महाधिवेशनका बेला यो पदका लागि पूर्वमुख्यमन्त्री चेम्जोङका साथै मधेश प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत र राजकिशोर यादवले मनोनयन दर्ता गराएका थिए।
तीन जनाको उम्मेदवारी परेकोमा सहअध्यक्ष पदका लागि यादवको रोजाइमा चेम्जोङ परेका छन्। चेम्जोङसँगै लालबाबु र राजकिशोरले सहअध्यक्षका लागि मनोनयन दर्ता गराएपछि उपेन्द्र हिच्किएका थिए। जसपा नेपालका नेताहरूकै अनुसार मतदान प्रक्रियाबाट पदाधिकारी चयन भएको भए चेम्जोङ सहअध्यक्षमा आउने सम्भावना ज्यादै कम थियो।
मतदान प्रक्रियामा जाँदा लालबाबु र राजकिशोरमध्ये एक जना निर्वाचित हुने पक्का थियो। यस्तो अवस्थामा केही अघिमात्र पार्टी टुक्र्याएका अशोक राईहरूसँग चेम्जोङ जानसक्ने डर उपेन्द्रलाई थियो। त्यसैले राजकिशोरलाई उपाध्यक्ष र लालबाबुलाई महासचिवमा ‘सेटल’ गरेर उपेन्द्रले चेम्जोङलाई सहअध्यक्षमा मनोनित गरेका छन्।
अध्यक्षका लागि दाबी गर्दै सअध्यक्षमा उम्मेदवारी दिएका राजकिशोर भने उपाध्यक्षमा सन्तुष्ट हुनुपरेको छ। जसपाको विधानमा पाँच जना उपाध्यक्ष हुने व्यवस्था छ। अरू उपाध्यक्षहरूमा मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्य छन्। यसअघि पार्टीको उपाध्यक्ष रहेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु भने महासचिवमा मनोनित भएका छन्।
महाधिवेशनमा महासचिवका लागि मनिषकुमार सुमन र रामकुमार शर्माले दाबी गरेका थिए। सुमन पार्टी प्रवक्ताका साथै प्रदेशसभा सदस्य हुन् भने शर्मा केही दिनअघि मात्र माओवादी केन्द्र छाडेर जसपा नेपाल प्रवेश गरेका थिए।
हुनत मधेशी जनअधिकार फोरममा महासचिव भइसके पनि पछि उनी माओवादी केन्द्रमा आवद्ध थिए। माओवादी केन्द्रबाट शर्माकी पत्नी इन्दु शर्मा २०७४ सालको निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्यसमेत निर्वाचित भएकी थिइन्।
पछिल्लो निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका शर्माले माओवादी केन्द्रबाट टिकट पाएनन्। गठबन्धनको बाँडफाँटमा त्यो सिट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भाग्यमा पर्यो। र, अध्यक्ष महन्थ ठाकुर आफैं चुनाव लडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
पार्टीका तर्फबाट चुनाव लड्न नपाएपछि शर्मा माओवादी केन्द्रबाट असन्तुष्ट बनेका थिए। त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व शैलीप्रति असन्तुष्टि पोख्दै उनले सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गरिरहे।
अन्ततः शर्मा फेरि पुरानै घर तत्कालीन मधेशी जनअधिकार फोरम (हाल जसपा नेपाल) मै फर्किए। पार्टीको महासचिव बन्ने शर्तमा उनी जसपा नेपालमा फर्किएका थिए। शर्मा भने आफू विनाशर्त जसपा नेपालमा फर्किएको दाबी गर्छन्।
माओवादी केन्द्र छाडेर केही दिनअघि मात्र जसपा नेपालमा फर्किएका शर्मा नेता सुमनलाई उछिन्दै पार्टीको शक्तिशाली पद महासचिवमा मनोनित भएका छन्। महासचिवका लागि अध्यक्ष उपेन्द्रको रोजाइमा सुमन नपरेर शर्मा परेका छन्।
सुमनलाई भने फेरि पार्टी प्रवक्ताकै जिम्मेवारी दिइएको छ। पदाधिकारी वरियताक्रममा शर्मा ८ औँ र सुमन १० औँ स्थानमा छन्।
त्यस्तै पाँच जना उपाध्यक्षका लागि २३ जनाको उम्मेदवारी परेको थियो। त्यसमध्ये एक जना थिए–मधेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव। मुख्यमन्त्रीबाट पदमुक्त भएको केही दिनपछि भएको महाधिवेशनमा पार्टी उपाध्यक्षका लागि उनको दाबेदारी थियो।
निवर्तमान मुख्यमन्त्री यादव भने पार्टी पदाधिकारीको कुनै पनि पदमा अटाउन सकेनन्। उनी केन्द्रीय समिति सदस्यमै सीमित भएका छन्। उनीसँगै उम्मेदवारी दिएका मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरीहरू उपाध्यक्षमा मनोनित भएका छन्। निवर्तमान मुख्यमन्त्री यादव भने दश जनाको कार्यकारिणी समितिको सूचीमा समेत अटाउन सकेका छैनन्।