साउनमा ९३ देशका लागि ३७ हजार विदेशिए, मलेसिया मात्र १७ गए

हिमाल प्रेस ९ भदौ २०८१ १८:१०
16
SHARES
साउनमा ९३ देशका लागि ३७ हजार विदेशिए, मलेसिया मात्र १७ गए वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३७ हजार युवा कामको खोजीमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिनाको विवरणमा संस्थागत (म्यानपावर कम्पनी) मार्फत २५ हजार ५ सय ७ र व्यक्तिगत १० हजार ७ सय ७५ जना गरी ३६ हजार नौ सय २८ जना नेपाली युवा कामको खोजीमा ९३ देश पुगेका हुन्।

साउनमा संस्थागत रूपमा २२ हजार २ सय ८५ पुरुष र ३ हजार २ सय २२ महिला वैदेशिक रोजगारीमा गएका छन्। व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या २ हजार ३ सय ७२ छ। यसैगरी ८ हजार ३ सय ८१ जना पुरुष व्यक्तिगत श्रम स्वीकृतिमा विदेश गएका छन्।

गत वर्ष साउनमा ५५ हजार ५ सय ७५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यस वर्षको साउनमा विदेश जानेको संख्या १८ हजार ६ सय ४७ जना थोरै रहेको विभागले जनाएको छ। यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

उनले भने, ‘मलेसियाको रोजगारी बन्द भएपछि बिदेसिने संख्या घटेको हो। गत वर्षको साउनमा ११ हजारभन्दा बढी नेपाली मलेसिया रोजगारीमा गएका थिए। यस वर्षको साउनमा १७ जनामा मात्र मलेसिया रोजगारीमा गएका छन्।’

साउनमा यूएईमा सबैभन्दा बढी १२ हजार २ सय ३८ जना नेपाली रोजगारीमा गएका छन्। यसैगरी साउदी अरबमा ६ हजार नौ सय, कतारमा ३ हजार सात सय ६३, कुवेतमा ३ हजार १ सय ६३ नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।

विभागका अनुसार रोमानियामा २ हजार १ सय ४३, जापानमा १ हजार ४ सय ५८, दक्षिण कोरियामा ६ सय ६८, माल्दिभ्समा ५ सय ८७, ओमानमा ३ सय ३, बहराइनमा ४ सय ५९ र साइप्रसमा ६ सय ३९ जना गएका छन्।

प्रकाशित: ९ भदौ २०८१ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =