‘इखालु’ ओली

किरण पौडेल ९ भदौ २०८१ २१:००
108
SHARES
‘इखालु’ ओली प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनाउन सहमति जुटेपछि एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्री पदको आकांक्षा देखाएका थिए। जिम्मेवारी पाएमा कार्य सम्पादन राम्ररी प्रस्तुत गर्ने भट्टराईको बाचा थियो। अध्यक्ष ओली भट्टराईलाई मन्त्री बनाउन सहमत भएनन्।

एमालेका एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीले ‘पहिलेजस्तै राजीनामा दिने त होला नि?’ भनेर टारिदिए। भट्टराईले ओलीलाई आफूमाथि विश्वास गर्न पनि अनुनय गरे। ‘ठूला नेताले पुराना कुरा बिर्सिनुपर्छ’, ओलीसँगको अनुरोध उधृत गर्दै भट्टराई निकट एमालेका एक नेताले भने।

२०७७ सालमा ओलीले संसद् विघटन गरेपछि उनकै क्याबिनेटमा रहेका भट्टराईले पदबाट राजीनामा दिएका थिए। भट्टराईले त्यति बेला दिएको धोका सम्झिएरै अहिले मन्त्री नबनाएको आँकलन नेताहरूको छ।

समकालीन राजनीतिमा आफ्नो विरोध गर्नेहरूलाई राजनीतिबाटै किनारा लगाइदिने क्षमता राख्ने नेतामा ओली अगाडि छन्। पार्टी अध्यक्षमा आफूविरुद्ध उम्मेदवारी दिने नेता भीम रावलमाथि गरेको व्यवहार त्यसको उदाहरण हो। दसौँ महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल अहिले पार्टी र संसद् दुवैमा छैनन्।

ओलीले माधवकुमार नेपालसँगको चार दशकभन्दा लामो सम्बन्ध टुटाएका छन्। ओली अचेल सार्वजनिक सम्बोधनमा कुनै न कुनै रूपमा नेपालमाथि खनिएका हुन्छन्। एमाले, माओवादी, एकीकृत समाजवादीबीच गठबन्धन हुँदा पनि अध्यक्ष ओली समाजवादीका अध्यक्ष नेपालमाथि खुलेका थिएनन्।

२०७२ पछि सत्ता राजनीतिमा उदाएका ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सम्बन्ध पनि उतारचढावपूर्ण रहँदै आएको छ। कतिपय नेताहरू २०७० पछिका राजनीतिक घटनाक्रममा ओलीले प्रचण्डसँग ‘बदला’ लिइरहेको विश्लेषण गर्छन्। कतिपयचाहिँ सत्ता र शक्तिको उन्मादले ओली बढी नै इखालु बन्दै गएको बताउँछन्। नेकपा एमाले झन्डै एक दशकदेखि ओलीको नेतृत्वमा छ। ओलीका पुराना सहकर्मी पनि ओलीलाई ‘कुटिल’ चाल चाल्ने र इख लिने नेताका रूपमा चिनाउँछन्।

२०७७ सालमा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेपाली राजनीतिमा व्यापक परिवर्तन भयो। नेकपाबाट एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए। एमाले विभाजन भएर एकीकृत समाजवादी बन्यो। त्यसयता एमाले-माओवादीको दुई पटक सत्ता समीकरण बन्यो।

पछिल्लो समयमा ओली नेकपा माओवादी केन्द्रका अध्यक्षसँग यसैगरी इख लिइरहेको नेताहरू बताउँछन्। उनीहरूका अनुसार एक दशकदेखिको यी दुई नेताको सम्बन्धले पनि यस्तै देखाउँछ। २०७७ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पहलमा ओली सत्ताबाट बाहिरिएका थिए। जानकारहरू अहिले ओलीले त्यसकै ‘बदला’ लिइरहेको बताउँछन्।

२०६३ यता लामो समय सत्तामा रहेको माओवादीलाई प्रतिपक्षमा पुर्‍याउन ओलीकै मुख्य भूमिका रहेको माओवादी नेताहरू बताउँछन्। ‘ओलीले आफूसँग बदला लिने नेताहरूलाई थान्को लगाउँदै आएका छन्,’ ओलीका पुराना सहकर्मी राधाकृष्ण मैनाली भन्छन्, ‘आफूलाई हेप्नेलाई किनारा लगाउनु उहाँको विशेषता हो।’

ओलीले बदला लेलान् भन्ने भयले पुराना सहयात्रीहरूसँग सम्बन्ध टुटाएको बुझाइ मैनालीको छ। ‘ओलीको उमेर जति बढ्दै गयो, यस्तो गुण बढेर गयो’, मैनाली सम्झन्छन्। ओली अहिले दोस्रो पुस्ताका नेतालाई पनि यसै गरिरहेका छन्। महत्त्वपूर्ण जिम्मेवारी नदिएर संकटमा पार्ने प्रवृत्ति ओलीमा रहेको मैनालीले बताए।

ती ओली, यी प्रचण्ड

ओलीसँग प्रचण्डको अचम्मको संयोग छ। तीन वर्षअघि ओली जसरी सत्ताबाट बाहिरिएका थिए, अहिले त्यही अवस्थामा छन्, प्रचण्ड। सर्वोच्च अदालतले २०७८ असार २८ गते ओली नेतृत्वको सरकारलाई असंवैधानिक भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

भोलिपल्ट ओलीको हातबाट सत्ता गुम्यो, त्यसको तीन वर्षपछि २०८१ असार २८ गने प्रचण्ड सरकार गिर्‍यो। असार २८ गते प्रचण्डले विश्वासको मत नपाएपछि सरकार गुमाउनुपरेको थियो। सोही दिन ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर कांग्रेस-एमाले नेताहरू राष्ट्रपति कार्यालय पुगेका थिए।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यस दिन सामाजिक सञ्जालमा लेखेका थिए, ‘ठ्याक्कै त्यही दिनको स्मरणीय क्षण आज बनेको छ।’ एउटै दिन पदबाट हट्नु संयोग मात्रै थियो। यद्यपि कतिपयले ओलीले पुराना कुरामात्र होइन, तिथि-मितिसमेत याद गर्ने गरेको दाबी गर्छन्।

२०७९ पुसमा ओलीकै सहयोगमा प्रचण्ड सत्ताको नेतृत्वमा पुगेका थिए। कांग्रेसले माओवादीलाई पहिलो चरणमा प्रधानमन्त्री दिन नमान्दा ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए। फागुन १४ मा ओलीले हात झिके। देउवाले काँध थापेपछि प्रचण्डले एक वर्ष सत्ताको नेतृत्व गरे। २०८० फागुनमा प्रचण्ड फेरि एमालेलाई साथ लिएर सत्ता टिकाउन सफल भएका थिए। यसरी प्रचण्डले १८ महिना सिंहदरबारमा बिताउँदा ओली र देउवा दुवैलाई धोका दिएको बुझाइ कांग्रेस-एमाले नेताहरूको छ।

ओलीले असारमा देउवाकै सहयोग लिएर प्रचण्डको सरकार गिराएका हुन्। उनीहरूबीच बदला लिन प्रयोग भएका नेता पनि देउवा छन्। पहिले प्रचण्डले देउवालाई अघि सार्दा ओली सत्ताबाहिर भएका थिए भने अहिले ओलीले देउवालाई प्रयोग गर्दा प्रचण्ड प्रतिपक्षमा पुगेका छन्।

प्रचण्ड निकट नेताहरू ओलीले बदला लिएको स्वीकार्छन्। ‘ओलीले हामीलाई धोका दिए। गठबन्धन गर्नु गलत रहेछ’, माओवादी उपमहासचिव वर्षमान पुन भन्छन्। प्रचण्डले फागुनमा ओलीसँग सत्ता साँठगाँठ गरेका थिए।

२०७४ सालमा प्रचण्डकै समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए। ओली २०७२ सालमा प्रधानमन्त्री बन्दा प्रचण्डकै समर्थन पाएका थिए। त्यो सरकार ९ महिना नपुग्दै ढलेको थियो।

यसरी ओली-प्रचण्ड पटकपटक सहयोगी र विरोधी भएको देखिन्छ। चार वर्षपहिले ओली जुन अवस्थामा पुगेका थिए, अहिले प्रचण्ड त्यही अवस्थामा छन्। ‘राजनीतिमा पद पाउने-जाने भइरहन्छ। कहिले सहयोग र कहिले धोका पाउने हाम्रो पद्धतिजस्तो बनेको छ’, माओवादी नेता गणेश शाह भन्छन्।

२०७८ असार २८ मा ओली सरकार ढलेपछि प्रदेश सरकारसहित सबै ठाउँमा एक्लिए। उनीविरुद्ध सशक्त गठबन्धन बन्यो। अहिले प्रचण्डविरुद्ध त्यस्तै समीकरण बनेको छ। त्यसबेला एमालेविरुद्ध कांग्रेस, जसपासहितका नेता एक ठाउँमा थिए। अहिले माओवादीविरुद्ध कांग्रेस, एमाले र जसपा एक भएका छन्।

ओली-प्रचण्डको सत्ता गुमाउँदाको शैली पनि उस्तै छ। त्यसबेला ओलीले कोशी, बागमती, गण्डकी, लुम्बिनीको सत्ता लगातार गुमाएका थिए। अहिले माओवादीले बागमती र लुम्बिनी सरकारको नेतृत्व गुमाएको छ।

२०७८ मा सत्ता च्युतपछि ओलीले ‘परमादेश सरकार’ बन्दै आरोप लगाएका थिए। जनादेश सरकार ढालेर अदालतले परमादेश सरकार बनाइदिएको अभिव्यक्ति ओलीको थियो। अहिले प्रचण्ड कांग्रेस-एमाले गठबन्धनलाई ‘प्रतिगामी’ को आरोप लगाइरहेका छन्।

माओवादी सक्ने योजना!

ओली माओवादीकै सहयोगमा २०७४ सालमा प्रधानमन्त्री बनेका थिए। त्यसबेला उनी दुईतिहाईका प्रधानमन्त्री थिए। २०७८ सालमा पुग्दा सोही सरकार अल्पमतमा प¥यो। प्रचण्डले ओलीलाई दिएको समर्थन मात्र फिर्ता लिएनन् भने एमाले विभाजन गर्न पनि मुख्य भूमिका खेलेका थिए।

यति हुँदाहुँदै पनि प्रचण्डलाई ओलीले साथ दिए। ओलीले प्रचण्डको साथ लिनुको कारण माओवादी बनाउन नभई सक्नका लागि भएको विश्लेषकहरू बताउँछन्। नेकपा विभाजनपछि ओलीले केही माओवादी नेतालाई एमालेमा स्वागत गर्नुको कारण पनि यही रहेको उनीहरूको दाबी छ।

माओवादीका केही नेतालाई भित्र्याएपछि ओली भन्थे, माओवादीको मुख्य धार हामीसँग छ। २०७९ को आमनिर्वाचनमा माओवादीले ३२ सिट ल्याएर निर्णायक तेस्रो दल बन्यो। त्यसपछि भने ओलीले माओवादीलाई साथ दिएका थिए।

‘ओली प्रचण्डलाई सत्ता दिएर पछि सबै हात लिन चाहन्थे,’ विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘प्रचण्डले एमाले छाडेर कांग्रेसलाई साथ लिएर सत्ता लम्ब्याए।’ प्रचण्डले गत फागुनमा ओलीसँग गठबन्धन गरेपछि सत्ता संकटमा परेको खतिवडा बताउँछन्।

कहिलेदेखि इखालु?

ओलीका पुराना सहकर्मी मैनाली ओलीमा पहिलापहिला यस्तो प्रवृत्ति नभएको स्मरण गर्छन्। मैनालीका अनुसार ओलीमा पुराना दिनमा यतिसाह्रो बदलाको भाव थिएनन्। ‘जब महाकाली सन्धि भयो। त्यसपछि ओलीमा इखालु स्वभाव र बदलाको भावना बढेर गयो,’ मैनाली भन्छन्, ‘जब ओली आर्थिक सम्पन्न र राजनीतिक शक्तितिर लम्किए, त्यसपछि साथीभाइ बिर्सिएर बदला लिन थाले।’ ओली पार्टीभित्र मात्र होइन, बाहिर पनि चालबाजी गर्न सक्रिय हुने गरेको बुझाइ मैनालीको छ।

ओलीसँगै जेल बसेका सीपी मैनाली पनि ओली इखालु भएको बताउँछन्। सीपी पनि ओलीसँग लामो समय जेल बसेका नेता हुन्। तर कहिल्यै ओलीले आफूलाई नसम्झने गरेको उनी सुनाउँछन्। सीपी र ओलीको साझेदारी २०२८ साल यताको हो। उनीहरू दुवै झापा आन्दोलनबाट राजनीतिमा होमिएका हुन्।

झापामा २०२८ साल जेठ २ गते कर्णबहादुर गौतमको हत्याबाट झापा विद्रोह सुरु भएको मानिन्छ। त्यसबेला हिंसात्मक विद्रोहको नेतृत्व सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओलीलगायतका नेताहरुले गरेका थिए।

सीपी अहिले नेकपा मालेका महासचिव छन्। ओली नेकपा एमालेका अध्यक्ष छन्। सीपीलाई ओलीले सम्झने गरेका छैनन्। ‘हामी जेलमै सँग बस्यो तर ओलीले सम्झँदैनन्’, सीपी भन्छन्।

फरक मत राख्नेसँग  बदला

कुनै बेला माधव नेपाल निकट मानिने नेताहरू अहिले एमालेमा छन्। तर ओलीले ती नेतालाई लगातार भूमिकाविहीन बनाइरहेका छन्। यसको कारण ओलीलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्न ती नेताले भूमिका खेलेका थिए। त्यस बेलाका नेपालनिकट नेतामध्ये अहिले एमालेमा भीम रावललगायतका नेता त निष्कृय बनेका छन्। किनभने रावललाई ओली सक्रिय बनाउन चाहँदैनन्।

रावल कुनै बेला ओलीविरुद्धमा आक्रामक अभिव्यक्ति दिन्थे। त्यसैको इखले ओली अहिले पनि रावललाई कमजोर बनाइरहेका छन्। यतिसम्म कि जिल्लामा सर्वसम्मत प्रतिनिधिसभामा सिफारिस रावललाई समेत ओलीले रोकेर टिकट दिएनन्। उनको ठाउँमा प्रदेशमा आकांक्षा देखाएका झपट बोहोरालाई अछाम २ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिए। यति मात्र होइन, ओलीले रावलका विरुद्ध लड्नकै लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावललाई अघि सारे। यो सबै ओलीले रावलविरुद्ध बदला लिएको एमाले नेताहरू बताउँछन्।

नेपाल निकटस्थ घनश्याम भुसाल त ओलीको पेलानकै कारण पार्टीमा अट्न सकेनन्। रावल र भुसालले एमालेको संसदीय दल र केन्द्रीय कमिटीमा असन्तुष्टि राखेका कारण भूमिकाविहीन बनाइएको एमाले नेताहरू बताउँछन्।

युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य एमालेमै छन्। तर ती नेतालाई ओलीले राम्रो भूमिका नदिएको एमाले वृत्तमा चर्चा हुने गरेको छ। कुनै बेला माओवादीबाट आएकाहरू अहिले एमालेमा घुलमिल भइसके तर  एमालेमा लामो समय योगदान दिएका नेताहरू किनारा लागिरहेका छन्।

निर्देशन पालना नगर्नेप्रति गरम ओली

ओली आफ्नो निर्देशन तत्काल पालन भएको देख्न चाहन्छन्। नभएको खण्डमा उनी बदला लिइरहन्छन्। यसको उदाहरण हो, प्रदेश अधिवेशनबाट चुनिएका पदाधिकारी। एमालेका प्रदेश पदाधिकारीहरू केही महिनाअघि मात्रै चुनिएका छन्। ती सबै प्रदेशको महाधिवेशनको उद्घाटन गर्न ओली पुगेका थिए।

उद्घाटनसत्रमा ओलीले सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिएका थिए। ओलीको चाहनाविपरीत प्रदेश कमिटी प्रतिस्पर्धाबाट चुनिए। एमाले नेताहरूका अनुसार यसमा ओलीले असन्तुष्टि जनाए। यसअघि एमालेको विधानमा प्रदेश अध्यक्षहरू पोलिट्बयुरो सदस्य बन्ने प्रावधान थियो। ओलीले त्यो प्रावधान खारेज गर्दै केन्द्रीय सदस्य मात्र हुने प्रावधान ल्याएका छन्।

यसरी रातारात ओलीले पदलाई कमजोर बनाउँदा प्रदेश अध्यक्षहरू असन्तुष्ट छन्। कुनै बेलाका पोलिटब्युरो सदस्य रहेका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह सोही वरीयता रहने भएकाले प्रदेश झरेका थिए।  अहिले उनी पदेन केन्द्रीय सदस्य मात्र बनेका छन्।

‘हाम्रो परिपत्रमा यस्तो भनिएको छ। कसरी यस्तो भयो थाहा भएन’, कर्णालीका एक पदाधिकारी भन्छन्, ‘हामीलाई कमजोर बनाउनु थियो भने कि पहिलो माथिल्लो वरीयता राखियो। यसरी वरीयता घटाउनुको कारण ओली प्रदेश पदाधिकारीसँग असन्तुष्ट हुनु हो।’

इखकै कारण ओलीले प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक काम गरे। पार्टीमा अल्पमतमा पर्ने देखिएपछि त्यसविरुद्ध ओलीले संसद् विघटन नै उचित ठाने। उनले अहिलेसम्म पनि संसद् विघटन असंवैधानिक भन्न चाहेका छैनन्। नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी ओलीको दम्भ बढेकै कारण अझै संसद् असुरक्षित रहेको बताउँछन्। ओलीले संसद् विघटनप्रति आत्मालोचना गरेको भए एमाले  विभाजित नहुने नेताहरूको दाबी थियो। ओलीले आत्मालोचना चाहेनन्।

प्रकाशित: ९ भदौ २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =