मिटरब्याजपीडितको गुनासो : राजनीतिक दल नै मिटरब्याजीका संरक्षक भइदिए

हिमाल प्रेस ९ भदौ २०८१ १५:२३
6
SHARES
मिटरब्याजपीडितको गुनासो :  राजनीतिक दल नै मिटरब्याजीका संरक्षक भइदिए फाइल तस्बिर

सिरहा– मिटरब्याजपीडित संघर्ष समितिका अगुवाहरूले मिटरब्याज (अनुचित लेनदेन) समस्या अन्त्यका लागि सरकार गम्भीर नभएको गुनासो गरेका छन्। ‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’ ले सिरहाको गोलबजारमा आयोजना गरेको भेलाका सहभागीहरूले मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुन कार्यान्वयनका लागि सरकार र संयन्त्र इमान्दार नभएको बताएका हुन्।

‘कानुन कागजमै सीमित हुँदा न्याय पाउन मुस्किल भयो। मिटरब्याजीले प्रहरी, प्रशासन र सरकार सबैलाई प्रभावमा पारेर न्याय प्रक्रियालाई अवरुद्ध पार्ने काम गरेका छन्,’ संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘मिटरब्याजीले उल्टो पैसा, पहुँच र शक्तिको आडमा पीडितमाथि थप दमन गरिरहेका छन्।’

उनले अब चाँडै गृहमन्त्रीसँग यस विषयमा भेटवार्ता हुन गइरहेको र त्यसपछि पनि सरकारको व्यवहार उचित नदेखिए सशक्त संघर्ष थाल्ने चेतावनी दिए।

त्यसैगरी संघर्ष समितिका महासचिव मनोजकुमार पासवानले सरकार, संयन्त्र र मिटरब्याजीहरूले आफूहरूको संयमतालाई कमजोरीका रूपमा लिने गरेको गुनासो गरे। उनले भने, ‘हाम्रो संघर्षपछि आयोग बन्यो, कानुन बन्यो, तर सबै कागजमै सीमित छ। मिटरब्याजीले नै हामीमाथि दमन गरिरहेका छन्।’ साथै उनले मिटरब्याजको संरक्षक राजनीतिक दलहरू नै भएको आरापसमेत लगाए।

अनुचित लेनदेनसम्बन्धी कानुन बन्दा पनि पीडितले न्याय पाउने स्थिति नभएकाले आगामी दिनमा वारपारको लडाइँ लड्नुपर्ने अवस्था आउनसक्ने र त्यसका लागि सम्पूर्ण पीडितहरूलाई एकजुट भएर लाग्न मिटरब्याजी आन्दोलनका अगुवा रामरिझन यादवले आग्रह गरे।

प्रकाशित: ९ भदौ २०८१ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast