एक वर्षमा १० अर्ब दुई करोड युनिट बिजुली खपत

हिमाल प्रेस ९ भदौ २०८१ १५:१२
12
SHARES
एक वर्षमा १० अर्ब दुई करोड युनिट बिजुली खपत

काठमाडौँ- गत आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट बिजुली खपत भएको छ।  गत आवमा सबैभन्दा बढी गाहर्स्थतर्फ  चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट बिजुली खपत भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाँकी बिजुली अन्य समूहका ग्राहकले खपत गरेका हुन्।

आर्थिक वर्ष २०७२/७३ मा तीन ७२ करोड युनिट बिजुली खपत भएको थियो। नियमित रूपमा बिजुली आपूर्ति हुन थालेपछि बिजुली खपतमा उल्लेख्य वृद्धि भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ। आठ वर्षको अवधिमा देशभित्रको बिजुली खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। आठ वर्षअघि बिजुली खपत वृद्धिदर ऋणात्मक थियो।

आठ वर्षअघि एक सय ३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा चार सय युनिट पुगेको छ। आठ वर्षअघि बर्खायाममा समेत दैनिक आठ घण्टा  बिजुली कटौती हुने गरेको थियो।  सरकारले २०७५ वैशाखदेखि सिंगो मुलुक बिजुली कटौतीमुक्त घोषणा गरेको थियो।

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र बिजुली पुगेको थियो। अहिले ९९ प्रतिशतमा बिजुली पुगेको छ। बिजुलीको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ‘ग्रिड’बाट र दुई  प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजल विद्युत् , सौर्य ऊर्जालगायतबाट बिजुली उपभोग गरिरहेका छन्। आठ वर्षअघि बिजुलीका ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर बिजुली आपूर्ति हुन थालेको बताए। ‘ठूला तथा साना उद्योगलाई निरन्तर बिजुली आपूर्ति भइरहेको छ। यस अवधिमा उद्योगको धैरे ‘लोड’ स्वीकृत गरिएको छ। खाना पकाउनेलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ। निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रुपमा गरिएको छ जसका कारण आन्तरिक रुपमा बिजुलीको खपत बढिरहेको छ,’ उनले भने।

हरेक वर्ष बिजुलीको माग बढेपछि आपूर्तिमा चुनौती थपिएका छन्। त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित बिजुली आपूर्तिका देशका प्रमुख सहरलाई ११ क्लस्टरमा विभाजन गरिएको छ। यस्तै, सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएको छ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रूपमा बिजुलीको खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको जानकारी दिए। आव २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट रहेको बिजुली खपत आव २०७३/७४ मा (२८ दशमलव ४७ विन्दुले बढी) चार अर्ब ७७ करोड युनिट पुगेको थियो। आव २०७४/७५ मा बिजुली खपत पाँच अर्ब ५६ करोड, २०७५/७६ मा छ अर्ब ३० करोड युनिट, २०७६/७७ मा छ अर्ब ४२ करोड तथा २०७७/७८ मा सात अर्ब २८ करोड युनिट भएको थियो।

आव २०७८/७९ मा आठ अर्ब ८४ करोड, आव २०७९/८० मा नौ अर्ब ३५ करोड र आव २०८०/८१ मा १० अर्ब दुई करोड युनिट बिजुली खपत भएको थियो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बिजुली खपत करिब १० प्रतिशतले बढेको हो।

गत आवमा पिक डिमान्ड (बिजुली बढी माग हुने समय) अघिल्लो आव २०७९/८० को तुलनामा ११ दशमलव ३४ प्रतिशत विन्दुले वृद्धि भएको थियो । गत आवको जेठ १६ गते देशभित्रको सबैभन्दा बढी बिजुलीको माग रेकर्ड गरिएको थियो । उक्त दिन दुई हजार दुई सय १२ मेगावाट बिजुली माग गरिएको थियो।

बर्खायामका ६ महिना बिजुली भारततर्फ निर्यात गर्ने अवस्था बने पनि हिउँदमा नदी प्रवाही जलबिजुली आयोजनाको बिजुली उत्पादन घटी केही महिना देशभित्रको माग धान्न बिजुली आयात गर्नुपर्ने अवस्था छ। प्रणालीमा आयात गरिएको ऊर्जाको परिमाण भने घट्दै गएको छ । गत आवमा प्रणालीमा आयातित ऊर्जाको हिस्सा १४ दशमलव ६८ प्रतिशत छ। जुन अघिल्लो आवको तुलनामा आठ दशमलव ५७ प्रतिशत विन्दुले कम हो। बिजुली निर्यात ४४ प्रतिशत विन्दुले वृद्धि भएको छ।

गत आवमा भारतबाट एक अर्ब ९० करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड बराबरको बिजुली आयात गरिएको थियो। सोही अवधिमा एक अर्ब ९५ करोड युनिट बिजुली भारततर्फ निर्यात गरी रु १७ अर्ब ६ करोड आम्दानी भएको थियो। गत आवमा आयातभन्दा रु १३ करोड बढीको बिजुली निर्यात गरी खुद बिजुली आयातकर्ताबाट नेपाल खुद बिजुली निर्यातकर्ता बनेको थियो। रासस

प्रकाशित: ९ भदौ २०८१ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 19 =