अझै पूर्णता पाएन शिक्षक महासंघले, के हो विवाद?

रमेश दवाडी ९ भदौ २०८१ १६:५२
1.2k
SHARES
अझै पूर्णता पाएन शिक्षक महासंघले, के हो विवाद? नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी (दायाँ) र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी (बायाँ)। तस्बिर : हिमालप्रेस

काठमाडौँ- देशभरका शिक्षकहरूको छाता संस्था नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति पाँच महिनादेखि महासचिवविहीन छ। गत वैशाख ११ र १२ गते काठमाडौँमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट लक्ष्मीकिशोर सुवेदी अध्यक्षमा निर्वाचित भए पनि महासचिवकाे टुंगाे अझै लागेको छैन।

विगत केही वर्षदेखि महासंघको पदाधिकारी कांग्रेस र एमालेको भागबन्डामा चयन हुँदै आएको छ। यसअघि महासंघ अध्यक्षमा एमाले अध्यक्ष कमला तुलाधर थिइन् भने महासचिवमा कांग्रेस निकट नेपाल शिक्षक संघका नेता लक्ष्मीकिशोर सुवेदी महासचिव थिए।

यसपल्ट महासंघकाे महासचिव पद नेपाल राष्ट्रिय शिक्षक संगठनको भागमा परेको छ। संगठनकै असहयोगले महासंघ महासचिवविहीन भएको हो। संगठनले अहिलेका पदाधिकारीलाई विधानविप‍रीत भनेको छ। संगठन नेकपा एमाले सम्बद्ध शिक्षकहरूको समूह हो।

शिक्षक संगठनकाे भदौ १ गते सम्पन्न राष्ट्रिय परिषद् बैठकले महास‍ंघ गठनमा असंगति भएकाे जनाएकाे थियाे। बैठकद्वारा जारी घाेषणापत्रमा भनिएकाे छ, ‘शिक्षक महासंघ गठनमा भएको असंगतिप्रति यो परिषद् भर्त्सना गर्दछ। साथै विधानविपरीत गठन भएका नेपाल शिक्षक महासंघका सबै तहका समिति खारेज गर्दै विधानसम्मत् महासंघ गठन प्रक्रिया अगाडि बढाउन महासंघका अन्य घटक संस्था र सम्बन्धित पक्षलाई यो परिषद् आह्वान गर्दछ।’

स्थानीय, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाविधेशन गर्नुपर्नेमा स्थानीय तहमा अधिवेशन नगरी महाधिवेशन आयोजना गरिएका कारण असन्तुष्टि रहेको संगठनका अध्यक्ष विष्णु भण्डारीले बताए। उनले ३२ जिल्लामा सहमतिअनुसार अधिवेशन भएको जनाउँदै बाँकी जिल्लाका अधिवेशन एकलौटी ढंगले गरिएको बताए।

भण्डारीले महासंघले पूर्णता नपाउनुमा कांग्रेस निकट नेपाल शिक्षक संघ जिम्मेवार रहेको आरोप लगाए।  उनले भने, ‘हाम्रो उपस्थितिमा ३२ जिल्लामा अधिवेशन भयो। बाँकी जिल्लामा उहाँहरू (संघ) ले एकोहोरो घोषणा गरेर जानुभयो। हामीले सहमतिमा जाऔँ भन्दा उहाँहरूले दम्भमा महाधिवेशन गर्नुभयो। शिक्षक संगठनबिना घोषणा गरिएका अधिवेशन खारेज हुनुपर्छ। महासंघले विधान नै मिच्याे।’

०७८ को नवीकरणले ०७९ र ०८० मा नियुक्ति पाएका शिक्षक सदस्य बन्न नपाएको भण्डारीले बताए। ‘०७९ र ०८० मा निवृत्त भएका शिक्षक पनि सदस्य हुनुभयो’, भण्डारीले भने, ‘महासंघको विधानअनुसार निवृत्त शिक्षक महासंघको सदस्यमा बस्न पाउँदैन। नवप्रवेशी शिक्षक महासंघभित्र प्रवेश गर्न पाउनुभएन। यसलाई मिलाएर जाऔँ भनेका हौँ। सहमति हुन सकेन।’

संगठनले वैशाख ८ गते महासंघको नेतृत्वलाई पाँचबुँदे पत्र दिएकाे थियाे। भण्डारीकाे भनाइमा महासंघबाट सन्तोषजनक उत्तर आएन। शिक्षक संगठनलाई माइनस गरेर महासंघले काम गर्न नसक्ने भण्डारीले बताए। उनले भने, ‘महासचिवले पाउने सिट छोडेर मात्र होइन, त्यसभित्रका कमीकमजोरीलाई नि महसुस गर्नुपर्छ। त्यो भयो भने हामी जान तयार छौँ।’

विवाद समाधानका लागि दुवै पक्षबाट कार्यदल बनेकाे छ। कार्यदलमा महासंघका तर्फबाट नानुमाया पराजुली र संगठनका तर्फबाट महासचिव हंसबहादुर शाही छन्। कार्यदलको बैठक दुईपटक बसिसक्दा पनि सहमति हुन सकेको छैन। नेपाल शिक्षकका राष्ट्रिय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरीले महासचिव चयनका विषयमा सहमति नजिक पुगेको बताए। उनले भने, ‘कार्यदलमा सहमति जुटाउने प्रयास जारी छ। हामी चाँडै निष्कर्षमा पुग्नेछौँ।’ उनले महासंघले केही समयमै महासचिव पाउने बताए।

महासंघले अनिधवेशन विधानसम्मत भएकाे दाबी गरेकाे छ। महासंघका एकजना पदाधिकारीले भने, ‘ठूलाे संगठनभित्र विवाद हुनु सामान्य हाे। विधानअनुसार नै हामीले अधिवेशन गराएका हाैँ। जुन संगठनका साथीहरू असन्तुष्ट हुनुहुन्छ, उहाँहरूलाई सन्तुष्ट बनाएर अगाडि बढ्छाैँ। कार्यदलले काम गरिरहेकाे छ।’

महासंघ भने आन्दाेलनकाे तयारीमा छ। विद्यालय शिक्षा विधेयक, शिक्षक र कर्मचारीकाे पेसागत हकहितबारे महासंघ र सरकारबीच भएकाे सहमति कार्यान्वयन नभएपछि महासंघले आन्दाेलन तयारी सुरु गरेकाे हाे। महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी महासंघलाई छिट्टै पूर्णता दिएर आन्दाेलन सुरु गर्ने बताउँछन्। उनले भने, ‘महासंघकाे पदाधिकारीले छिट्टै पूर्णता पाउँछ। हामी सबै एकढिक्का भएर आन्दाेलनमा जान्छाै‌ँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =