विदेशीको त्रास र आसमा टिकेका नेताहरू

राजाराम बर्तौला ९ भदौ २०८१ १६:०७
98
SHARES
विदेशीको त्रास र आसमा टिकेका नेताहरू

नेपालस्थित कूटनीतिक नियोगका प्रमुख हुन् या नेपाल भ्रमणमा आएका विदेशका कनिष्ट अधिकारी हुन् आफ्नो समकक्षीसँगको भेटघाटबाहेक अतिविशिष्टि उच्च अधिकारीहरूलाई समेत भेट्न आतुर देखिएका छन्। सानो मुलुक हुनुको लघुताभासले हो वा अरू लोभ, लालच वा आफूलाई बाहिर प्रभावशाली छु भनेर देखाउने लालसाले हाम्रा विशिष्ट वा अतिविशिष्ट वा भनौँ मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिले समेत नेपाल भ्रमणमा आएका वा यहीँका विदेशी नियोगका प्रमुखहरूलाई सहजै भेटघाट उपलव्ध गराउँदै आएका छन्।

कुनै विशेष अवसरमा वैदेशिक सम्पर्क, सहयोग र सम्बन्ध विस्तारमा कूटनीतिक सम्पर्कको माध्यमद्वारा सूचना सम्प्रेषण गर्न जरुरी छ भन्ने लागेमा कूटनीतिक भेटघाटका लागि समानस्तरमा पहुँच स्थापित गर्नु कूटनीतिक मर्यादा र प्रचलनभित्रकै कुरा हो। अस्वाभाविक रूपमा कूटनीतिक संयन्त्रहरूको चलखेल, दौडधुप, भेटघाट र संवादले भने अनेक आशंका सिर्जना गर्दछ। यस्ता प्रयास वा व्यवहार राज्य सञ्चालनमा बढ्दै जाँदा राष्ट्रिय स्वार्थ र अस्मितामा समेत असर पर्न जाने सम्भावना रहन्छ। तसर्थ कूटनीतिक माध्यमको प्रयोग, सम्पर्क र संवादलाई व्यवस्थित, मर्यादित र सतर्क भएर गरिनु आवश्यक छ।

नेपालका मन्त्रीहरूलाई भेट्न विदेशी राज्यका राजदूत तँछाडमछाड गरेर दौडिरहेको दृश्य देखिनु सामान्य भएको छ। कतिपय दृश्य असहज देखिन्छन्। बाहिरी समाज, पर्यवेक्षक, समीक्षक वा राजनीतिक विश्लेषकहरूले यस्ता दृश्यलाई जतिसुकै असहज मानेर सम्बद्ध पक्षको ध्यानाकर्षण गराए पनि पुनरावृत्ति रोकिएको छैन र रोकिने सम्भावना पनि देखिँदैन। यो अहिलेको मात्र दृश्य नभएर नेपाली परम्परा र विशेषताको पुनरावृत्ति मात्र हो। पुनरावृत्ति हुँदै जाँदा संस्कार र संस्कृतिमा विकसित हुँदै गइरहेको देखिन्छ। यो परम्परागत रूपमा चल्दै आएको नेपाली विशेषतासहितको कूटनीतिक अभ्यास हो भन्दा फरक नपर्ने देखिन्छ।

विदेशी गुप्तचर संस्थाको प्रमुख नेपालको प्रधानमन्त्रीको निजी आवासमा रात्रिकालीन समयमा सहजै प्रवेश पाउँछ। छिमेकी देशको राजदूत प्रधानमन्त्रीको शयनकक्षमा सीधै प्रवेश गरेको दृश्य समाचार बनेर आउँछ। यस्ता बिझाउने दृश्य टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ आमनागरिकको। कतिपय राजदूत औपचारिकतासमेतको वास्ता नगरी भेटघाटमा उपस्थित हुने गरेका छ्न।

शक्ति राष्ट्रका राजदूतहरूलाई आफूले जे गरे पनि हुन्छ भन्ने मनोगत धारणा पलाएको देखिन्छ। कुनैकुनै समयमा राजदूतहरू चप्पल (स्लिपर) लगाएर, अनौपचारिक भेषमा समेत प्रस्तुत भएको देखिन्छ। कूटनीतिक निकायका सदस्यहरूको व्यवहारको विषय आफ्नो ठाउँमा छँदैछ भने हाम्रा वरिष्ठ र अतिविशिष्ट अधिकारी र नेतालगायत सम्मानित सदस्यहरूसमेतको विदेशीहरूप्रतिको मोह रमाइलो देखिन्छ।

कूटनीतिक मर्यादाको पालन गर्ने दायित्व र जिम्मेवारी अरूको भन्दा पनि पहिला हाम्रै हो। कामै नभएको असम्बद्ध मन्त्रालयमा कुनै कूटनीतिज्ञले बारम्बार भेट्न खोज्छ र हाम्रा मन्त्री पनि कर्मचारीलाई लामबद्ध गराएर फूलमालाले राजदूतलाई स्वागत गर्दछन् भने त्यो उसको भन्दा हाम्रो कमजोरी हो। कूटनीतिक मर्यादाको अवमूल्यन हो। कूटनीतिक आचारसंहिता नबनेको पनि होइन। त्यो दराजमा थन्किएर बसेको अवस्था छ।

कूटनीति सञ्चालनका लागि र विदेशी कूटनीतिज्ञहरूको व्यवस्थापन तथा उचित प्रबन्ध गर्नका लागि नेपालको परराष्ट्र मन्त्रालय हुँदाहुँदै गृह मन्त्रालय तथा अर्थ मन्त्रालय वा सञ्चार मन्त्रालय वा त्यस्तै अरू मन्त्रालयहरू अगाडि बढेर कूटनीतिक संयन्त्रभित्र प्रवेश गर्न खोज्छ भने त्यस किसिमको कार्यलाई दुस्साहस मान्नुपर्ने हुन्छ। अन्तत: यस किसिमको कार्यले राष्ट्रिय स्वार्थमा समेत असर पारिरहेको हुन्छ।

विदेशी कूटनीतिज्ञहरू यहाँका मन्त्री भेटेर आन्तरिक सूचना संकलन गर्न पाउनु ठूलो कार्य सफलता मान्छन्। उनीहरूले पठाउने प्रतिवेदनमा यहाँका पूरै भेद खोलिएको हुन्छ। राजकीय प्रबन्धमा बसेका नेताहरूको सबल र दुर्बल पक्ष केलाइएको हुन्छ। त्यसबाट उनीहरूले नेपाल र नेपाली नेताहरूसँग कसरी सम्बन्ध स्थापित गर्ने भन्ने जानकारी सहज तरिकाले पाउँछन्।

हामीले देखिरहेको यस किसिमको क्रियाकलापमा दुईवटा महत्त्वपूर्ण तत्त्व कारकका रूपमा रहेका छन्। पहिलो, विदेशी राजदूतले यहाँका विशिष्ट व्यक्ति तथा सम्मानित संस्थामा सहज पहुँच पाइरहेका छन्। दोस्रो, यहाँका नेताहरू विदेशीसँग हात मिलाएको तस्बिरसहितको समाचार हेर्न लालायित छन्।

यी दुवै कारणको अन्तर्यमा नेपालको विशिष्टीकृत विशेषता रहिआएको छ। यसमा चारित्रिक विशेषताको रसायन घुलन भएको हुँदा परराष्ट्र मन्त्रालयले कूटनीतिक आचारसंहिता बनाएर मात्र सच्चिनेवाला छैन। एक त कुनै कतै कानुनी बाध्यता वा छेकवार छैन अर्को शीर्ष तह जिम्मेवार नभएपछि त्यसभन्दा तलका अंग सचेत र सतर्क हुने भन्ने कम सम्भावना रहन्छ।

नेपालको राजकीय प्रबन्धमा विदेशी शक्तिको साथ र समर्थन छ भन्ने देखाउन हाम्रा शासकहरू सधैँ प्रयत्नशील रहँदै आएका छन्। हुन पनि वैदेशिक शक्तिको शासकीय समर्थन नभएको अवस्थामा सत्ता गुमाउनु र निर्वासनमा जानु वा भीमसेन थापाको गति हुनु नेपाली सत्ताको नियति देखिँदै आएको छ। त्यसैले त्यस किसिमको भय वा लाभका लागि प्रवृत्तिगत मनोदशा कायम रहनु दुई विशाल छिमेकीको बीचमा रहेको सत्ताधारीहरूको बाध्यात्मक उपस्थिति पनि हुन सक्छ।

सयौँ वर्षसम्म हामीले यही नियति देख्दै र भोग्दै आएका छौँ। यसलाई अलिकति ऐतिहासिकताबाट पनि हेर्दा देखिने दृश्य विरासतको बोझले थिचिएका पाउनेछौँ।

बेलायतकी महारानी भिक्टोरियाले सन् १८६१ मा र १८७८ मा दुई किसिमको मानपदवी स्थापना गरेकी थिइन्। सन् १८६१ मा स्थापना गरेको मानपदवीमा ‘दि मस्ट एक्सजल्टेट अर्डर अफ द स्टार अफ इन्डिया’ थियो। यसको नाइट ग्रान्ड कमान्डर (GCSI), नाइट कमान्डर (KCSI) र कम्यानियन (CSI) गरी तीनवटा वर्ग थिए। त्यसैगरी सन् १८७८ मा ‘दि मस्ट इमिनेन्ट अर्डर अफ द इन्डियन इम्याएर’ मानपदवी स्थापना गरिएको थियो। यसका पनि नाइट ग्रान्ड कमान्डर (GCIE), नाइट कमान्डर (KCSI) र कम्प्यानियन (CIE) समेत तीनवटा श्रेणी थिए।

भारतीय साम्राज्य जनित बेलायती समकक्षी निर्धारण गर्दा मस्ट एक्जल्टेडको GCB, KCB र CB गरी उल्लेख गरिएका थिए। त्यसैगरी इमिनेन्ट अर्डरको चाहिँ GBE, KBE र CBE थियो।

नेपालका राणा प्रधानमन्त्री र उनीहरूका विशिष्ट रोलक्रमवालाहरू बेलायती तथा चिनियाँ सम्मान पाउन लालायित रहन्थे। घाँटीमा भिर्ने विविध पदावलीले सुशोभित हुन मरिहत्ते गर्दथे। नेपाली प्रधानमन्त्रीहरूले बेलायती सरकारबाट प्राप्त गरेका केही सम्मान :

१. प्रधानमन्त्री जंगबहादुर राणा : GCB, GCSI
२. प्रधानमन्त्री रणोद्वीप सिंह : KCSI
३. प्रधानमन्त्री वीरशमशेर : GCSI
४. प्रधानमन्त्री चन्द्रशमशेर : GCB, GCVO, GCMG, Legion d’ Honneur
५. प्रधानमन्त्री जुद्धशमशेर : GCB, GCSI, GCIE
६. प्रधानमन्त्री भीमशमशेर : GCSI, KCMG, KCVO
७. प्रधानमन्त्री मोहनशमशेर : GCB, GCIE, GBE
प्रधानमन्त्रीबाहेकका अरू दुई भारदारहरू :
१. बबरशमशेर : GCVO, GBE, KCSI, KCIE
२. केशरशमशेर : KBE (अरूको भन्दा ठूलो साइजको बनाएर लगाउँछु भन्दा फिर्ता पठाउन परेको)
३. सिंहशमशेर : KBE
४. कृष्णशमशेर : KCSI, KBE
५. शंकरशमशेर : GBE

त्यसैगरी उत्तर छिमेकी चीनका बादशाहले पनि नेपालका प्रधानमन्त्रीलाई मानपदवीले विभूषित गर्ने गरेका थिए। चीनका बादशाहले दिने गरेको विभूषण भने एकै किसिमको र एकै दर्जाको हुने गरेको देखिएको छ। जस्तै :
१. वीरशमशेर, तुङ लिङ पिङ मा क्व काङ वाङ (यसको अनौपचारिक अनुवाद हुन्छ साँच्चिकै लडाकु राजकुमार, पैदल सेना प्रमुख)
२. रणोद्वीप सिंह, तुङ लिङ पिङ मा क्व काङ वाङ
३. चन्द्रशमशेर, तुङ लिङ पिङ मा क्व काङ वाङ
४. भीमशमशेर, तुङ लिङ पिङ मा क्व काङ वाङ

विदेशी राष्ट्राध्यक्षबाट मानपदवीको दर्जा र उपहार पाउँदा संरक्षित राज्यको दर्जाको हैसियतले प्रदान गरेको भन्ने कुरा हाम्रा शासकहरूलाई राम्रो गरी थाहा थियो। थापाथली सन्धि (वि.सं १९१२) पछि प्रत्येक पाँचपाँच वर्षमा नेपालले चीनको बादशाहको दरबारमा कूटनीतिक मिसन पठाउनुपर्ने बाध्यता भयो। यस्तो मिसनमा नेपाली टोलीले उपहार लिएर जान्थे। फर्कँदा चीनका बादशाहले यताबाट लगेको उपहारको मूल्यभन्दा कयौँ बढी फिर्ती उपहार दिएर पठाउँथे। यस्तो मिसन फर्केर आउँदा चिनियाँ बादशाहले राणा प्रधानमन्त्रीहरूलाई प्रदान गरेका मानपदवीसमेत ल्याउने गरेको हुँदा फर्केर आउने टोलीलाई हर्षबढाइँसहित बाजागाजा अघिपछि लगाएर सहर भित्र्याउने चलन थियो।

बेलायतीहरू पनि विभिन्न प्रकारका सम्मान, १९ तोपको सलामी दिएर राणा प्रधानमन्त्रीहरूलाई खुसी पार्दै आफ्नो काम लिन सफल भएका थिए। हाम्रा प्रधानमन्त्री पनि गलामा पर्ने बहुमूल्य धातु जडित पदकले सुशोभित हुन पाउँदा आफूलाई गर्व महसुस गर्दै विश्वका शक्तिशाली साम्राज्यबाट संरक्षित भएको अपार गौरव पालेर हर्षित हुन्थे।

विरासतको बोझबाट थिचिएको नेपाल अहिलेसम्म पनि मुक्त हुन सकेको छैन। यसका लागि नेपाल आफैँ भौतिक रूपमा समृद्ध र सामरिक रूपमा शक्तिशाली हुनुपर्छ। जबसम्म राजदूतसँग हात मिलाएको तस्बिर सार्वजनिक गर्दै समाचार आउँदा गर्व गर्ने र हर्षित हुने मनोवैज्ञानिक सन्तुष्टिबाट पार भइँदैन तबसम्म यस प्रकारको प्रवृत्ति दोहोरिरहन्छ। यहाँ दुईटा पक्ष प्रबल देखिन्छ, त्रास र आस। विदेशीहरूसँगको भेटघाट, गुप्त भेट (वान अन वान) वा सम्पर्क राष्ट्रद्रोहसँग जोडिन पनि सक्छ भन्ने त्रास नरहेसम्म र विदशी राजदूतसँगको सम्बन्धले पदमा टाँस्सिएर बस्न सकिन्छ भन्ने मनोगत भावनाले जरो गाडेसम्म यस किसिमको अवस्थाबाट पार पाउन कठिन छ।

प्रकाशित: ९ भदौ २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =