लुम्बिनी- पहिरोले दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन भएको छ। पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि अवरुद्ध बनेको सडक राति ८ बजेबाट एकतर्फी खुलेको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार एकतर्फी सडक सञ्चालन भएपछि पहिरो सफाइको काम भने जारी रहेको छ। सडक खुलाउनका लागि ३ वटा स्काभेटर प्रयोग गरी काम भैरहेपनि सवारीको चाप बढी भएकाले पहिरो पूर्ण रूपमा सफागरी दुईतर्फी सञ्चालन गर्न थप समय लाग्ने बताइएको छ।
निरन्तर ४ वटा डोजर प्रयोग गरेर सडक खुलाइएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए। सडक अवरुद्ध भएपछि गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा, लगायतका ठाउँबाट पाल्पा हुँदै आएका सवारी साधनहरु बाटोमै रोकिएका थिए।
यसैगरी बुटवल–पाल्पा हुँदै विभिन्न गन्तव्यमा जाने सवारी साधन पनि बीच बाटोमा अलपत्र परेका थिए।