इंग्लिस प्रिमियर लिग : सिटीको जित, युनाइटेडको हार

हिमाल प्रेस ९ भदौ २०८१ ६:३२
6
SHARES
इंग्लिस प्रिमियर लिग : सिटीको जित, युनाइटेडको हार

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटीले इप्सविचलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्षमा परेको छ। यो सिटीको लगातार दोस्रो जित हो। इप्सविचलाई ४–१ को जित निकाल्दै सिटी शीर्षमा परेको हो। जितका लागि एर्लिङ हालान्डले ह्याट्रिक गरेका थिए।

सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गरे। खेलको १२औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हालान्डले १६ र ८८औँ मिनेटमा गोल गर्दै जारी सिजनमा पहिलो ह्याट्रिक गरेका हुन्। सिजनको सुरुवाती दुई खेलमा नै हालान्डले चार गोल गरिसके।

२२ वर्षे इतिहासमा पहिलोपटक प्रिमियर लिग खेलेका इप्सविचका लागि पहिलो हाफको सातौँ मिनेटमा नै सामी स्ज्मोडिक्सले डेब्यु गरे। तर पछिल्लो पाँच मिनेटमा नै सिटीले तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो।

खेलको १२औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि नै अर्थात् १४औँ मिनेटमा केभिन डि ब्रुयनको गोलमा सिटीले अग्रता बनायो। त्यसको दुई मिनेटमै केभिन डि ब्रुयनको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३–१ भयो। खेलको ८८औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीलाई ४–१ को फराकिलो जित दर्ता गराए।

यता, म्यानचेस्टर युनाइटेडले भने पहिलो हार बेहोरेको छ। आजै राति भएको अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। जितसँगै ६ अंक बनाएको ब्राइटन अंक तालिकाको दोस्रो स्थानमा छ।

पहिलो हाफको ३२औँ मिनेटमा डानी वेलबेकको गोलमा ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो। खेलको ६०औँ मिनेटमा अमाद डिएल्लोको गोलमा युनाइटेड खेलमा फर्किएको थियो। तर इन्ज्युरी समयको पाचौँ मिनेटमा जोआ पेद्रोको गोलमा ब्राइटनले लगातार दोस्रो जित हासिल गरेको हो।

अर्को खेलमा नटिङघम फरेस्टले साउथहेप्टनलाई १–० गोल अन्तरले हराएको छ।

प्रकाशित: ९ भदौ २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =