काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्।
एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहको ‘बृहद् इञ्जिनियर भेला’ लाई सम्बोधन गर्दै उनले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन आग्रह गरे।
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुहुँदै सभापति देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुनेगरी तयारी गर्नसमेत निर्देशन र्दिए।
कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इञ्जिनियरहरूलाई आग्रह गरे। उनले मुलुकमा विकास निर्माणको कामले प्राथमिकता पाएकाले त्यसको प्रभावकारिताका लागि इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। पार्टी नेता सिंहले राजनीतिक स्थिरतासँगै अब मुलुकको विकास, निर्माणको काममा तीव्रता दिन इञ्जिनियरलाई सहयोगका लागि आग्रह गरे।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताए। ‘पञ्चेश्वर, बूढीगण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन्,’ उनले भन्े,‘यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको छ।’
सरकार स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लागेको बताउँदै मन्त्री खड्काले यसमा इञ्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने बताए।