सबै वामपन्थी एवम् माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ : प्रचण्ड

हिमाल प्रेस ८ भदौ २०८१ २०:३४
10
SHARES
सबै वामपन्थी एवम् माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ : प्रचण्ड पुष्पकमल दाहाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गरेका छन्।

नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिरहेको बताए। उनले यसको परिणाम छिट्टै आउने दाबीसमेत गरे।

अध्यक्ष प्रचण्डले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गरे। उनले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ। केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु। आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु,’ उनले भने।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको टिप्पणी गरे। यसैगरी उनले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताए।

संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियासमेत अगाडि बढेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रकाशित: ८ भदौ २०८१ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast