मर्स्याङ्गदी बस दुर्घटना : शिक्षण अस्पताल पुगेर भारतीय मन्त्रीले भेटिन् घाइते, गृहमन्त्रीले गरे ब्रिफिङ

हिमाल प्रेस ८ भदौ २०८१ १४:५४
10
SHARES
मर्स्याङ्गदी बस दुर्घटना : शिक्षण अस्पताल पुगेर भारतीय मन्त्रीले भेटिन् घाइते, गृहमन्त्रीले गरे ब्रिफिङ बस दुर्घटनाबारे भारतीय राज्यमन्त्री रक्षा खड्सेलाई ब्रिफिङ गर्दै गृहमन्त्री रमेश लेखक

काठमाडौँ- भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे मर्स्याङ्गदी बस दुर्घटनामा परी घाइते भएकाहरूलाई भेटेकी छन्। शनिबार बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेकी मन्त्री खडसे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर दुर्घटनाका घाइतेहरूलाई भेटेकी हुन्।

घाइते भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुग्दा उनीसँग गृहमन्त्री रमेश लेखक पनि साथमा थिए। मन्त्री खडसे घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्न काठमाडौँ आएकी हुन्।

शुक्रबार पोखराबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडी आबुखैरेनीस्थित मस्र्याङ्गदी नदीमा खसेर २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। बसमा सवार सबै जना भारत महाराष्ट्रबाट नेपाल घुम्न आएका पर्यटकहरू थिए।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव गोरखपुरबाट नासिकसम्म ल्याउन एयरफोर्सको विमानको व्यवस्था गरिएको जानकारी दिएका छन्।

घटनाप्रति दुःख व्यक्त गर्दै उनले यसबारे रक्षा मन्त्रालयसँग कुरा गरेको र गृहमन्त्री स्वयंले मदतका लागि नोडल अफिसर नियुक्त गरेको बताएका छन्।

गृह मन्त्रालयले गर्‍यो ब्रिफिङ

यसैबीच बस दुर्घटनाका विषयमा गृह मन्त्रालयले भारतका युवा तथा खेलकुद राज्यमन्त्री खड्सेलाई ब्रिफिङ गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्री खड्सेलाई जानकारी गराएका हुन्।

घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने बताउँदै गृहमन्त्री लेखकले घटनालगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धारमा खटिएको जानकारी गराएका छन्।

भारतीय युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारका तर्फबाट उद्धारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन्। ‘दुर्घटनामा परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ,’ उनले भनिन्,‘उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद।’

गृह मन्त्रालयका अनुसार घाइतेमध्ये तीन जनाको आइसीयु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको छ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण भइरहेको छ। शव परीक्षणपछि भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव लैजाने तयारी गरिरहेको छ। गृहमन्त्री लेखकसँगको भेटपछि राज्यमन्त्री खड्से दिल्ली फर्किएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =