काठमाडौँ– भदौ ७ देखि प्रदर्शन भएको फिल्म हो सतीदेवी। पात्रको नामबाट नामकरण गरिएको फिल्म नारीप्रधान कथामा आधारित छ। फिल्मको मुख्य पात्र हुन् सतीदेवी अधिकारी अर्थात् अभिनेत्री मलिका महत।
गाउँमा हुर्किएकी सतीदेवीका तीन बहिनी छन् देवी, गोमा र कौशल्या। चार छोरी जन्मिसक्दा पनि छोरा नभएपछिको तनावले कुलतमा फसेका छन् सतीका बा। उनको परिवारको अवस्था सामान्य छ। खेतबारीमा उत्पादन भएको बालीबाट गुजारा चलेका छ। अभाव छ त केवल छोराको। यही नै परिवारमा कलहको विषय बनेको छ।
सतीकी आमा फेरि गर्भवती छिन्, छोरा पाउने आसमा। यसपटक सतीदेवीको भाइ जन्मिन्छ त? कथाको मध्यान्तर यही पेरिफेरीमा घुमेको छ।
छोरा नभएकै कारण बा सधैँ रक्सी खाएर आउने, झगडा गर्ने, आमालाई कुट्ने। अत्याचार सहेर भए पनि छोरीहरुकै मुख हेरेर जीवन चलाइरहेकी छन् सतीदेवीकी आमा।
आमाले पाएको यातना कम गर्न र बाको खुसी फर्काउन सतीदेवीले के कस्तो कदम चाल्छिन् त? उनको जीवनमा आइपर्ने उतारचढाव फिल्मको मुख्य कथावस्तु हो।
यहाँ फिल्मको कथा ग्रामीण भेगलाई लक्षित गरिएको छ। छोरा नहुँदा नारीमाथि समाजले हेर्ने दृष्टिकोण, सहनुपरेको अत्याचार र यातना फिल्ममा देखाइएको छ। मानिस शिक्षित भए पनि उसको व्यवहार भने अशिक्षित, वंश धान्न छोरा खोज्ने, महिलालाई यातना दिने यथार्थमा फिल्म अगाडि बढेको छ।
छोरीलाई घरायसी काममा मात्र तल्लीन गराउने, अर्काको घर जाने जात भन्दै पढ्नबाट वञ्चित गराउने, बोझ मान्नेजस्ता यावत् अन्धविश्वासलाई निर्देशक लक्ष्मण सुवेदीले सतीदेवीको भूमिकाबाट चिरफार गर्न खोजेका छन्।
सतीदेवी गोठालो छँदाको दृश्यदेखि सुरु भएको फिल्म उनको दैनिकी, परिवारका अन्य सदस्यको चिनारी उनीहरूको भूमिकाबाट देखाइको छ। क्रमशः देखा पर्छन् सतीदेवीकी आमा, बहिनी देवी, गोमा, कोशल्या र बा। उनीहरूकै संवादबाट थाहा हुन्छ, फिल्ममा सतीदेवी घरको सबै जिम्मेवारी सम्हालेर बसेकी छ।
पोइल जाने जातको उपनामले पढाइबाट वञ्चित बनेकी सतीदेवी, सोझी, इमानदार र सानै उमेरदेखि घरायसी व्यवहार धानेर बसेकी फिल्मकी मुख्य नारीपात्र हुन्।
झिसमिसेमै उठेर दैलो उघार्ने, पँधेराबाट पानी ल्याउने, चुलोचौको बढार्ने, दैलो पोत्ने र उज्यालो भएपछि घाँस, दाउरा लिन जंगल जाने जस्ता काममा सतीदेवीको दिन बित्ने गरेको छ। टिसर्ट र लुंगीको भेषमा देखिएकी सतीदेवीको अभिनय प्रशंसायोग्य छ।
फिल्मले ग्रामीण भेगको महिलाको बिहानको धन्दा सकेर उज्यालो भएपछि घाँसदाउरा गरेर बित्ने दैनिकीलाई बिना संवाद दृश्यबाट बुझाउने प्रयास गरेको छ। साथै चौतारो, वनजंगल, गाउँका घरहरुको छायांकनले फिल्मलाई थप आकर्षित बनाएको छ।
१८/१९ वर्षीया अबोध बालिकाको संघर्ष प्रस्तुत फिल्ममा उसको पीडादायी क्षणलाई बढी जोड दिइएको छ। सतीदेवी हुर्केको गाउँमा १२ कक्षासम्म पढाइ हुन्छ। उसकी साथी गंगा त्यहीँ पढिरहेकी संवादबाट स्पष्ट हुन्छ। लभर, बिल्लाजस्ता अंग्रेजी शब्द बोल्ने सतीदेवीलाई भने फेसबुकबारे अनविज्ञ देखाइएको छ।
यता घरको जिम्मेवारी सम्हाल्नुपर्ने बा भने कुलतमा लागेर आमालाई गरेको अत्याचारदेखि आजित भएकी छ। सतीदेवीले आफ्नो रहर त्यागेर बाआमालाई खुसी बनाउन खोज्दा अनेकौँ ठक्कर खान पुगेकी छ। काका र बा पुस्ताले गरेको अभद्र व्यवहार सहनुपरेको छ। परिवारको खुसीमा गरेको आत्मिक निर्णयउपर उनीमाथि कालोमोसो लगाइएको छ भने जुत्ताको मालासहित गाउँबाट लखेटिनुपरेको छ।
परिवारबाट एक्लिएकी सतीदेवी सहरका गिद्धहरुको प्रलोभनमा नपरी आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्दागर्दै गाडीको ठक्करबाट मूर्छित भएकी छ सतीदेवी। सतीदेवीकी बहिनी देवीले रुखलाई बिम्ब बनाएर ढुंगाले हानेको दृश्य होस या बहिनीलाई खोप लगाउन जाँदाको उनको अभिनयले दर्शकलाई भावुक बनाउछ। घरमा दिदीको जिम्मेवारी सम्हाल्न निभाएको भूमिकामा न्याय गरेकी छन्। चलाख स्वभावकी देवी अर्थात् हर्षिका वलीको अभिनय प्रशंसायोग्य छ।
०००
छोरा चाहिने अडानमा परिवारलाई बिचल्ली बनाएर आफ्नो जीवन पनि कुलतमै समर्पित गर्ने अर्को पात्र हो सतीदेवीका बा कुल अर्थात् कुलबहादुर अधिकारी। दिनभर जुवातास खेल्ने र रात परेपछि रक्सी खाएर परिवारलाई यातना दिने, अपाच्य शब्द बोलेर पत्नीलाई छोरा पाउन नसकेको भन्दै अत्याचार गर्ने, अबोध छोरीप्रति घृणित भाव व्यक्त गर्ने उसको अभद्र व्यवहार निकै नकारात्मक छ।
छोरीले पढेर दुनियाँलाई रमिता देखाएको भन्ने पुरातनवादी सोचले ऊ ग्रस्त छ। छोरीलाई सन्तानभन्दा पनि बोझको दृष्टिले हर्ने उसको व्यवहार समाजअनुकूल छैन। यतिसम्म कि सतीका बाले जग्गाको पुर्जा राखेर काजीसँग पैसा सापटी लिन्छ। त्यो पनि कौडामा हारेर शून्यमा पुग्छ। ऋणमा चुर्लम्म डुबेर उसले काजीको बहकाउमा आफ्नो मलिलो खेतसमेत त्याग्नुपरेको छ। अन्त्यमा आफ्नै खेतको हली भएर जीविकोपार्जन गरिरहेको देखाइएको छ।।
एकातिर उसले तास खेलेर समयको बर्बाद गरिरहेको छ भने अर्कोतिर समाजबाट पनि अपहेलित हुनुपरेको छ। तास खेल्ने क्रममा उसलाई साथीहरूले घरमा ग्यालग्यालती लक्ष्मी छ अझ कति चाहियो, सम्पत्ति भएजस्तै गरी छोराको चाहिने भन्दै व्यंग्य गर्छन्। साथीहरूको यस्तै वचनका कारण ऊ झन् छोराको चक्करमा केन्द्रित हुन्छ। समयअनुसार आफ्नो सोच परिवर्तन गर्न नसकेको अन्धविश्वासी पात्रमा चित्रण गरिएकाे छ।
०००
छोटो भूमिका भए पनि गोपी काका अर्थात् भोलाराज सापकोटाका माध्यमबाट निर्देशकले सम्बन्धमा साइनोले बोलाउन अप्ठ्यारो मान्ने प्रवृत्तिका मान्छेलाई प्रहार गरेका छन्। उसको संवादमार्फत उमेरले पितासहरका मान्छे दाइ, काका भन्दा सुन्न नचाहने र गिद्दे नजर लगाउनेलाई झटारो हानिएको छ।
गाउँका सोझा जनतालाई घरमा भेला गराएर कौडा खेलाउने र सम्पति हात पार्ने भूमिकामा छन् कौडे काजी अर्थात् रमेश बुढाथोकी। कुललाई जित्छस् भन्दै खेल्न उक्साउने, ब्याजको लोभमा पैसा दिने र पछि सम्पत्ति, जायजेथा हडप्ने सामन्ती चरित्रको कौडे काजीको अभिनय आकर्षक छ।
गंगा फिल्ममा दर्शकलाई रमाइलो गराउने पात्र हो। यौन विषयमा लेखिएको पुस्तक देखाएर होस् या डेटिङको समयको वार्ता या सतीदेवीलाई फेसबुकमा अरूसँग बोल्न सिकाउने शैली क्षमता उसमा छ। ‘स्याड’ सिनमा बेलाबेला ऊ दर्शकलाई रोमान्टिक गराउन आइपुग्छे। फेसबुकमा समय बिताउने किशोरी पुस्ताकी प्रतिनिधि पात्र हो गंगा।
समयक्रममा अल्झिएको संवादशैली
फिल्ममा गाउँमै बोलिने ठेट नेपाली शब्दहरुको व्यापक प्रयोग छ। यसमार्फत निर्देशक सुवेदीले फिल्मलाई मौलिकता दिन खोजेका छन्। कुन दिनको ऋण खाएछु नि मैले, यिनीहरुले मासु खाने भए, टेरपुच्छर लाएनन्, मेरो सम्पत्तिमा दाइँ गरिरहेछस्, मर्न नसकेको, कुलङ्गारनीजस्ता केही अपाच्य रिसाउँदा, कसैलाई होच्याउँदा, भनेको नमान्दा गाउँघरतिर बोलिने ठेट शब्दको प्रयोगले फिल्मलाई गाउकै शैली थपेको छ।
फिल्ममा दुई प्रसंग छ। पैसा दिएको कुनै प्रमाण नभएको भन्दै सतीदेवीका बा कुलले कुटपिट गरेको आरोपमा मुखिया र पुलिसकहाँ उजुरी गर्ने धम्की दिन्छ र भन्छ, ‘५७ सालमा बन्दुक बोकेको मान्छे हो म नि।’
अर्को छ सतीदेवीले मुखिया र गाउँलेको निर्णयमा जुत्ताको माला लगाएर गाउँबाट लखेटिएको।
यी दुई प्रसंगले पञ्चभेलाबाट गाउँको समस्याको समाधान गर्ने प्रथालाई फिल्ममा देखाइएको छ। अझ पनि अविकसित समाजमा यो प्रथा प्रचलित भए तापनि फिल्मको कथावस्तुअनुसार समय मिल्दो छैन।
सतीदेवीकी बच्चैदेखि साथी गंगा। एउटै गाउँमा हुर्केका गंगा र सतीदेवीको परिवेश फरक छ। गंगाको स्वभाव रक स्टाइलमा बोल्ने (फिट्टु, बाल, सम्झिने पानी छम्किने…) आधुनिक प्रवृत्तिको छ। गंगाको आचरण, हाउभाउ हेर्दा कथा अहिलेको समयतिर पनि केन्द्रित छ। कथामा दुई कालखण्ड जोडिएकोजस्तो लाग्छ तर निर्देशक सुवेदीले त्यो समयलाई खुलाएका छैनन्।
सतीदेवीको संघर्षमै सन्दीपबाबु लोहनी (भुवन केसी) सँगको प्रेम अंकुरणको प्रसंगले पनि स्थान पाएको छ। सहायक कथाका रूपमा प्रवेश उनको प्रेम बिचमै हराउँछ। जुन कथामा अनाश्यक झैँ लाग्छ।