६ प्रतिशतले बढ्यो रोपाइँ, कुन प्रदेशमा कति?

रमेश भारती ७ भदौ २०८१ १५:०१
6
SHARES
६ प्रतिशतले बढ्यो रोपाइँ, कुन प्रदेशमा कति? पर्वतको जलजला गाउँपालिका–४ फड्केढुंंगा गाउँको हरियाली धानखेत। तस्बिर : रासस

काठमाडौँ- यस वर्ष मुलुकमा धान रोपाइँ ६ प्रतिशतले बढेको हो। कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले भदौ ५ सम्म देशभर ९८.४ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए। गत वर्ष यति बेला ९२.४ प्रतिशत रोपाइँ भएको थियो। यसैगरी यस वर्ष १३ लाख ९८ हजार ९ सय ८५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ।

विभागका प्रवक्ता काफ्लेका अनुसार गत वर्षको तुलनामा धान रोपाइँको क्षेत्रफल करिब २ प्रतिशतले बढेको छ। गत वर्ष यति बेला १३ लाख ७७ हजार २ सय १६ हेक्टर जमिनमा रोपाइँ सकिएको थियो।

प्रवक्ता डा. काफ्ले मौसमले साथ दिए ७ प्रतिशतले धान उत्पादन बढ्न सक्ने आकलन गर्छन्। ‘मनसुन छिटो भएका कारण एक साताअघि धान रोपाइँ सकियो। गत वर्ष भदौ १५ सम्म रोपाइँ चलेको थियो’, काफ्लेले भने। कतिपय फाँटहरूमा भने धान गोड्ने बेला भएको छ।

मौसमले साथ दिए तीन लाख मेट्रिक टन धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ। गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो।  मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी रासायनिक मल पनि अभाव नभएका कारण धान रोपाइँ र यसको क्षेत्रफल बढेको बताउँछन्। उनका अनुसार मनसुनले साथ दिएका कारण सबै प्रदेशमा समयमा धान रोपाइँ सकिएको छ।

चार महिना मौसमले साथ दिए गत वर्षको भन्दा ३ लाख मेट्रिक टन धान उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ। ‘विगतको तुलनामा यस वर्ष केही ठाउँमा नयाँ प्रविधिको प्रयोग गरी रोपाइँ गरिएको छ। तराई क्षेत्रमा सिँचाइको विस्तार बढेका कारण रोपाइँ बढेको हो’, उनले भने।

सरकारले आगामी पाँच वर्षभित्र शतप्रतिशत रोपाइँ र ६३ देखि ६४ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखेको  छ। मन्त्रालयका अनुसार  नेपालमा १५ लाख ४ हजार ४८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न सकिन्छ।

कुन प्रदेशमा कति रोपाइँ?

कोशी : कोशी प्रदेशमा ९९.१ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस प्रदेशमा ९६.६ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ।

कोशीमा प्रदेशमा कुल क्षेत्रफल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर धानखेती हुने गरेको छ। यस वर्ष यस प्रदेशमा २ लाख ७३ हजार ८ सय ७३ हेक्टर रोपाइँ भएको विभागले जनाएको छ। प्रदेशमा छुटफुट रोपाइँ चलिरहेका कारण अन्तिम विवरण आउन बाँकी रहेको विभागले जनाएको छ।

मधेश :  मधेशमा ९७.३ प्रतिशत धान रोपाइँ सकिएको छ। विभागका अनुसार मधेशमा गत वर्ष ९५.५ प्रतिशत रोपाइँ भएको थियो। मधेशमा पनि यस वर्ष २.३ प्रतिशतले रोपाइँ बढेको छ।

मधेशमा ३ लाख ८६ हजार १ सय ५० हेक्टर रोपाइँ हुन्छ। मधेशमा यस वर्ष ३ लाख ७५ हजार ६ सय १४ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांक छ।

महोत्तरीको भंगाह-५ सीतापुरमा वर्षातपछि लहलहाउँदाे धानखेती। तस्बिर : रासस

बागमती :  बागमतीमा ९९.२ प्रतिशत धान रोपाइँ भएको छ। यस प्रदेशमा रोपाइँ सकिएको विभागले जनाएको छ। बागमती प्रदेशमा गत वर्ष ९३.३ प्रतिशत धान रोपाइँ भएको थियो। यस प्रदेशमा गत वर्षभन्दा यो वर्ष ५.९ प्रतिशत धान रोपाइँ बढेको विभागले जनाएको छ।

बागमतीमा १ लाख १२ हजार २ सय ७३ हेक्टर धानखेती हुन्छ। यस वर्ष प्रदेशमा १ लाख ११ हजार ३ सय ५१ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांक छ।

गण्डकी :  गण्डकीमा ९७.८ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष गण्डकीमा ९४.२ प्रतिशत रोपाइँ भएको थियो। यस प्रदेशमा पनि यस वर्ष ३.६ प्रतिशत रोपाइँ बढेको विभागले जनाएको छ।

गण्डकीमा १ लाख ५ हजार ९ सय हेक्टरमा धानखेती हुने गरेको छ। जसमध्ये ९३ हजार ९ सय २१ हेक्टर धान रोपाइँ भएको छ।

लुम्बिनी : लुम्बिनीमा ९८.३ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष लुम्बिनीमा ९५ प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ। लुम्बिनीमा ३.५ प्रतिशतले रोपाइँ बढेको  छ। कुल ३ लाख ११ हजार ६४३ हेक्टरमध्ये यस वर्ष २ लाख ९१ हजार हेक्टरमा धान रोपाइँ भएको विभागको तथ्यांक छ।

कर्णाली :  कर्णाली प्रदेशमा यस वर्ष ९९.२ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष कर्णालीमा ९८.५ प्रतिशत रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यस वर्ष कर्णालीमा  १.३ प्रतिशत बढी धान रोपाइँ भएको विभागको तथ्यांक छ। कर्णालीमा यस वर्ष ४१ हजार ९ सय ४ मध्ये ४१ हजार ५ सय ७८ हेक्टर रोपाइँ भएको विभागले जनाएको छ।

सुदूरपश्चिम : सुदूरपश्चिममा यस वर्ष ९९.९ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष सुदूरपश्चिममा ९९.२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। गत वर्षको तुलनामा यस प्रदेशमा ०.७ प्रतिशत बढी रोपाइँ भएको विभागको तथ्यांक छ। प्रदेशमा १ लाख ७४ हजार ५ सय १ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांक छ। सुदूपश्चिममा एक लाख ८१ हजार ६ सय ४ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ।

प्रकाशित: ७ भदौ २०८१ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =