घुम्ती पशुपालन संकटमा, रित्तिँदै खर्कमा गाेठ

हिमाल प्रेस ७ भदौ २०८१ १४:१४
14
SHARES
घुम्ती पशुपालन संकटमा, रित्तिँदै खर्कमा गाेठ

म्याग्दी- परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्रा संख्या घटाएका छन्। पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको बताए।

‘पहिले एक सय भेडाबाख्रासँगै आठ-दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेँशी गर्दथे। गाईभैँसी बेचेर सकिए। ४० भेडाबाख्रा छन,’ उनले भने,‘छोराछोरीले यो पेसा रोजेनन्। विदेश लागे। बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु।’

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसी छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन्। ‘छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,’ उनले भने,‘घुम्ती गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो।’

१५–२० वर्षअघि बर्खामा गाईभैँसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरीलगायत ढोरपाटनका बुकीका खर्क अहिले रित्ता हुँदै गएका थापाले बताए। खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धले धानेको घुम्ती गोठ उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन्। युवा र बयस्क उमेरका गोठाला भेटिदैनन्।

वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेसा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आका धवलागिरी गाउँपालिका–७ ताकमका पूर्व प्रधानपञ्च विष्णुबहादुर थापाले बताए।

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन्। गर्मी बढेपछि हिमाली क्षेत्रको जडिबुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ। बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए।

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठ चिसोसँगै बेँशीतर्फ झार्ने चलन छ। अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्कबिहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन्। पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुर्ख्याैली गोठाला पेसालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउँछन्।

‘दु:ख त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने,‘मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ।’ २१ भैँसी पालेका शक्तिबहादुरले घ्यू, राँगा-भैँसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए। रासस

प्रकाशित: ७ भदौ २०८१ १४:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =