दिवा खाजा रकम वृद्धि गरी ५० रुपैयाँ पुर्‍याएर १२ कक्षासम्म विस्तार गर्न माग

हिमाल प्रेस ७ भदौ २०८१ १३:१७
288
SHARES
दिवा खाजा रकम वृद्धि गरी ५० रुपैयाँ पुर्‍याएर १२ कक्षासम्म विस्तार गर्न माग सामुदायिक विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी। फाइल तस्बिर।

काठमाडाैँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षका लागि दिँदै आएकाे दिवा खाजाकाे रकम वृद्धि गर्दै १२ कक्षासम्म विस्तार गर्न माग गरेकाे छ। संगठनको २३औँ राष्ट्रिय परिषद् बैठकको निर्णयबाट उक्त माग गरिएकाे हाे।

सरकारले हाल ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाका लागि १५ रुपैयाँ दिने गरेकाे छ। उक्त रकम अत्यन्त न्यून भएकाले वृद्धि गरी ५० रुपैयाँ पुर्‍याएर १२ कक्षासम्म विस्तार गर्न संगठनले माग गरेकाे छ।

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकमध्ये एक तिहाइको लागि साविकको दरबन्दी र बाँकी दुई तिहाई शिक्षक राहत, ईसीडी र बढ्दो संख्यामा रहेका विद्यालय कर्मचारी, प्राविधिक विद्यालयका शिक्षक, विद्यालय नर्स, परम्परागत तथा विशेष विद्यालयका शिक्षकको पेसा प्रवेश, ज्याला,तलब, प्रोत्साहन, पेसागत विकास र सुरक्षामा गम्भीर चासो रहेको संगठनले बताएकाे छ।

संगठनले शिक्षामा लगानी कम रहेकाे बताउँदै देशभर करिब ५४ हजार शिक्षकको अभाव रहेकाे पनि बताएकाे छ। त्यस्तै राहत, बालविकास शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धार, पेन्सन वञ्चित, सबै प्रकारका अस्थायी छुट करार, तीन तहकै अनुदान शिक्षक, सामुदायीक विद्यालयका निजी स्रोत शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय नर्स तथा विभिन्न प्रशिक्षकहरूलगायत शिक्षा क्षेत्रमा काम गर्ने अस्थायी प्रकृतिका शिक्षाकर्मीलाई स्थायित्व, स्थायी शिक्षक सरहको तलब र योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध गर्न संगठनले माग गरेकाे छ।

हाल नेपालमा विद्यमान रहेको निजी क्षेत्र तथा सामुदायिक विद्यालयका निजी स्राेतमा कार्यरत शिक्षक कर्मचारीको नियुक्ति, सेवासुविधा, पेसागत विकास र सुरक्षाको भरपर्दो व्यवस्थापन साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न संगठनले सरकारसँग माग गरेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =