परराष्ट्रमन्त्री राणाको दिल्ली यात्रा : सम्मान उच्चस्तरको, तयारी फितलो

हिमाल प्रेस ७ भदौ २०८१ १८:३९
52
SHARES
परराष्ट्रमन्त्री राणाको दिल्ली यात्रा : सम्मान उच्चस्तरको, तयारी फितलो परराष्ट्रमन्त्री आरजु राणा देउवा गत साता नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै। तस्बिर स्रोत : भारतीय परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारत भ्रमणका क्रममा नरेन्द्र मोदी सरकारले उच्चस्तरको महत्त्व दिए पनि नेपालका तर्फबाट तयारी फितलो हुँदा कैयौँ एजेन्डा ओझेलमा परेका छन्। परम्परागत कूटनीतिलाई पछ्याउँदै छिमेकी भारतबाट विदेश भ्रमण सुरु गरेकी परराष्ट्रमन्त्री राणाको भारत भ्रमण औपचारिकतामा सीमित रहेको कूटनीतिक क्षेत्रका जानकाहरूले बताएका छन्।

भारतीय समकक्षी एस जयशंकरसँगको औपचारिक वार्ता होस् या प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा भारतीय पक्षबाट सहभागी अधिकारी र नेपाली अधिकारीहरू उपस्थिति हेर्दा पनि नेपाली पक्षको तयारी नपुगेको स्पष्ट हुने उनीहरूको टिप्पणी छ।

नेपाली पक्षको तयारी नपुगे पनि दुवै देशले  भेट  निकै फलदायी रहेको दाबी गरेका छन्। भेटपछि भारतीय प्रधानमन्त्री मोदीले दुई देशको साझेदारी निरन्तर अघि बढिरहेको हेर्ने चाहना रहेको उल्लेख गरेका छन्। राणासँगको भेटलगत्तै मोदीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहन्छु।’

परराष्ट्रमन्त्री राणाले पनि आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। उनले भनेकी थिइन्,  ‘म अपेक्षा गर्छु कि यो भ्रमण र अन्य उच्चस्तरीय भ्रमणहरूले दुई देशबीचको हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ।’

राणाले भारतमा शीर्ष तहसँग भेटवार्ता गरे पनि उनले मुलुकको हितका फाइदा लिन नसकेको उनीहरू बताउँछन्। भेटमा संलग्न नेपाली अधिकारीहरूले पनि परराष्ट्रमन्त्री राणाले भारतीय नेताहरूसँगको भेटमा लामो समयदेखि थाती रहेका द्विपक्षीय विषयमा कुरै उठाउन नसकेको बताएका छन्। भ्रमणमा सहभागी एक नेपाली अधिकारीले परराष्ट्रमन्त्री राणाले द्विपक्षीय विषयमा खासै कुराकानी गर्न नसकेको बताए। ती अधिकारीले भने, ‘परराष्ट्रमन्त्री राणाले त्यो मौकामा त धेरै विषय सल्टाउन सक्नुपर्ने थियो तर त्यस्तो कही देखिएन।’

राणाले केही पुराना विषय उठान गरेपछि भारतीय पक्षले ‘नोट गरेका छौँ’ भनेर आश्वस्त तुल्याएका थिए। भारतले छिमेक पहिला भन्ने विदेश नीतिअन्तर्गत नेपाल प्राथमिकता प्राप्त साझेदार भएको बताउँदै आएको छ। यस्तो अवस्थामा राणाले नेपाल र भारतबीच रहेका समस्या समाधानका लागि पहल गर्न नसकेको कूटनीतिज्ञहरूको बुझाइ छ। यद्यपि भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा उनले के विषयमा छलफल गरिन् भनेर औपचारिक रूपमा खुलाइएको छैन।

भारतीय पक्षले भारत भ्रमणमा पुगेका थोरै मात्र परराष्ट्रमन्त्रीलाई विशेष महत्त्व दिँदै आएको छ। २०६२/०६३ पछि भारतले तत्कालीन परराष्ट्रमन्त्री केपी ओली, कमल थापा, सुजाता कोइरालालाई राणालाई जस्तै सम्मान दिएको थियो। अन्य परराष्ट्रमन्त्रीले भारत भ्रमणका बेला चाहेर पनि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्न सकेका थिएनन्।

२०६२/०६३ को आन्दोलनलगत्तै गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्‌मा रहेका परराष्ट्रमन्त्री ओलीलाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले भेट दिएका थिए। गिरिजाप्रसादकी छोरी भएका कारण पनि तत्कालीन परराष्ट्रमन्त्री सुजाताले २०६६ साउनमा भारत भ्रमणका बेला प्रधानमन्त्री सिंहसँग भेट गर्ने अवसर पाएकी थिइन्।

तत्कालीन परराष्ट्रमन्त्री कमल थापा २०७२ कात्तिकमा भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिएका थिए। भारतले लगाएको नाकाबन्दीका बेलाको भ्रमण र खारिएका राजनीतिज्ञ भएकाले थापालाई भारतले सम्मान दिएको चर्चा त्यतिबेला भएको थियो।

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतीय समकक्षी एस जयशंकरसँग। तस्बिर स्रोत : परराष्ट्र मन्त्रालय

कूटनीतिक क्षेत्रका विज्ञहरूका अनुसार राणालाई भारतले महत्त्व दिनुका दुई कारण छन्, पहिलो, उनी दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारकी परराष्ट्रमन्त्री हुन्। दोस्रो, उनी ठूलो दलको सभापति शेरबहादुर देउवाकी पत्नी हुन्।

विज्ञहरू दिल्लीले राणालाई दिएको महत्त्वलाई ‘हार्डवेयर पार्ट’ का रूपमा टिप्पणी गर्छन्। देशको हितका लागि ‘सफ्टवयर पार्ट’ का लागि जोड गर्नुपर्ने उनीहरूको सुझाव छ। पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले भने, ‘भारतले नेपाललाई महत्त्व दिएर परराष्ट्रमन्त्री राणालाई उच्चस्तरीय भेटघाटको वातावरण बनेको हो। परराष्ट्रमन्त्री उपचारका लागि भारत गएको पढेको थिएँ। भ्रमणलाई औपचारिक बनाएर उच्चस्तरीय भेटघाट गराउने कार्य आफैँमा प्रशंसायोग्य छ।’ भारतले नेपालजस्ता छिमेकलाई हार्दिकताका साथ सहयोग गर्नुपर्ने श्रेष्ठको धारणा छ।

‘परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जानुअघि के कस्तो तयारी भयो त्यो त थाहा भएन। भारतले महत्त्व दिएको अवस्थामा नेपालले आफ्नो हितको पक्षमा धेरै काम गर्न र गराउन सक्नुपर्छ,’ श्रेष्ठले भने, ‘सुल्झन बाँकी सबै विषय छलफलमा राख्ने, मिल्न नसकेका मुद्दाहरूलाई मिलाउने, कुनै समस्या भए टेबलटक गर्ने जस्ता कार्यमा लाग्नुपर्छ। हामी भ्रमण भनेपछि बिनातयारी दौडने गरेका छौँ।’ नेपालका नेताहरूलाई आफ्ना कुरा राख्दा भारत रिसाउला भन्ने डर रहेको उनी बताउँछन्। उनले भने, ‘आफ्नो मुलुकको हितमा कुरा राख्दा राजदूतसँग छलफल गर्नुपर्छ।’

भारत भ्रमणका क्रममा समकक्षी एस जयशंकरसँग सोमबार औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्री राणाले सोही दिन साँझ भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। श्रेष्ठले भने, ‘यसरी भेट पाउनु सामान्य होइन। यसअघि तत्कालीन परराष्ट्रमन्त्री कमल थापाबाहेक अरूसँग यस्तो भ्रमणमा मोदीले भेटेको जानकारी छैन। हुन त पछि प्रदीप ज्ञवालीलाई पनि भारतका कार्यकारीबाट कार्यक्रममा भेटेको यहाँहरूकै सञ्चारमाध्यमबाट थाहा पाएँ।’

यसपटक भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने घोषणा पनि राणा दिल्लीमा रहँदै गरेको श्रेष्ठले बताए। उनले भने, ‘आगामी दिनमा नेपालले १,००० मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्छ पनि भनिएको छ।’ शिष्टाचार भ्रमण भनेको भए पनि यही समय पारेर विद्युत् खरिदबारे महत्त्वपूर्ण घोषणा हुनुले भ्रमणको महत्त्व र उचाइ बढेको श्रेष्ठले बताए।

भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण भएकाले भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलको स्तरमा र भारतीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट भएको बताए। उनले भने, ‘यो औपचारिक भ्रमणको शिष्टाचार मान्यता हो। यसरी महत्त्व नदिएका कैयन् घटना छन्। त्यसैले यसलाई अतिरञ्जित गर्नु पनि भएन, केही पनि होइन भनेर ठान्नु पनि हुँदेन। छोटो समयको तयारीमा यो भ्रमण भएको हो। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’

नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रे पनि परराष्ट्रमन्त्री राणाको भारत भ्रमण सबै कोणबाट सफल भएको बताउँछन्। उनले भने, ‘उहाँले भारतको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुभयो, यही अवसरमा अन्य केही महत्त्वपूर्ण उपलब्धि पनि भएका छन्।’ नेपाली क्रिकेट टिमलाई भारतमा तालिम तथा क्षमता विकासका अवसर प्रदान गर्ने सहमति लाई दुवै देशका क्रिकेटप्रेमी युवाले स्वागत गर्ने विश्वास रेको छ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच छलफल हुँदा आपसी सम्बन्धका सबै पक्षको पुनरवलोकन हुने गरेको र यसपटक पनि गरे होलान् भन्ने विश्वास कूटनीतिक क्षेत्रका जानकारहरूको छ। नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार दुई परराष्ट्रमन्त्रीबीच व्यापार र पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, लगानी, हवाईमार्ग, बाढी तथा डुबान नियन्त्रण, पञ्चेश्वर परियोजना, खेलकुद र सीमाक्षेत्रका पूर्वाधारजस्ता विषयमा छलफल भएको थियो। यसैगरी दुई मन्त्री नियमित द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउन सहमत भएका छन्।

दुई परराष्ट्रमन्त्रीबीच दुई देशको सीमानाकामा सडक, पुल, प्रयोगशालालगायत पूर्वाधार निर्माणमा कुराकानी भएको बताइएको छ। सीमानाकामा स्तरीय प्रयोगशाला नहुँदा नेपाली कृषि उपज भारत निर्यात गर्न कठिन भइरहेको छ। दुई परराष्ट्रमन्त्रीबीचको भेटमा ती विषयलाई बिस्तारै समाधान गर्दै जाने सहमति दुई मन्त्रीबीच भएको थियो।

दूतावासले अन्तरदेशीय रेल, सडक र पुल, एकीकृत जाँचचौकी, पेट्रोल पाइपलाइन र डिजिटल वित्तीय सम्पर्क सञ्जालका विषयमा कुराकानी भएको जनाएको छ। यसैगरी भारतीय परराष्ट्र मन्त्रालयले राणाको भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा व्यापारले ‘अभूतपूर्व अवसर’ दिएको उल्लेख गरेको छ।

नयाँ सहकार्यका क्षेत्रहरू पहिल्याउने मौका दिएको भन्दै मन्त्रालयले खेलकुदलाई नयाँ क्षेत्रका रूपमा औँल्याएको छ। नेपाली क्रिकेट टोलीलाई भारतको बंगलुरुमा तालिम गर्न दिने हालैको निर्णयको अधिकारीहरूले स्वागत गरेका थिए। नेपाल र भारतबीच प्रबुद्ध समूहको प्रतिवेदन, नक्सा विवादजस्ता कैयौँ मुद्दा लामो समयदेखि थाती रहँदै आएका छन्। ती विषयमा भने मन्त्री राणाले भारतीय अधिकारीहरूसँग छलफल गरेकी छैनन्।

परराष्ट्रमन्त्री राणासँगको भेटमा भारतीय समकक्षी एस जयशंकरले पछिल्लो समय नेपालले क्रिकेटमा गरेको प्रगति उदाहरणीय रहेको बताएका थिए। ‘हामी दक्षिण एसियामै क्रिकेटको स्तर बढाउने अभियानमा छौँ, त्यसमा नेपाल पनि सँगै छ। नेपाली खेलाडीलाई तालिमको अवसर प्रदान गर्ने तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने लगायत विषयमा आवश्यकताअनुसार सहयोग गर्नेछौँ’, भारतीय परराष्ट्रमन्त्री जयशंकरलाई उधृत गर्दै कूटनीतिक स्रोतले भन्यो।

कतिपय जानकारहरू बंगलादेश र माल्दिभ्सजस्ता देशमा विकसित राजनीतिक घटनाक्रमका कारण ‘छिमेक पहिला’ नीति अंगीकार गरेको भारतले आफ्नो कूटनीतिक दृष्टिकोणमा पनि केही परिवर्तन ल्याउन सक्ने ठान्छन्। भारतले विगतमा ओलीसँगको असहजता बिर्संदै सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको आभास हुन्छ’, परराष्ट्रका एक अधिकारीले भने, ‘नयाँ परिस्थितिमा नयाँ सरकारलाई विश्वास गरेर अघि बढ्ने मनस्थितिमा भारत सरकार देखिन्छ।’

दुई मुलुकका सरकारबीच सौहार्दता बढाउने उद्देश्यले गरिएको भ्रमण भएकाले समाधान पनि ननिस्कने तर दुरी बढ्ने विषयलाई कोट्याउने काम गरिएको नदेखिएको ती अधिकारीको बुझाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई पठाएको नेपालको राजकीय भ्रमण र स्वर्गद्वारीमा पूजाको निम्तो दिने काम पनि परराष्ट्रमन्त्री राणाले गरेकी छन्। भारतीय प्रधानमन्त्रीले उक्त निम्ता स्वीकार गरेका छन्। परराष्ट्रमन्त्री राणासँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले सरकार प्रमुखको नयाँ जिम्मेवारीका लागि प्रधानमन्त्री ओलीलाई पुनः शुभकामना सन्देश पठाएका छन्।

यसैगरी मोदीले उपयुक्त समय निकालेर नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मोदीले नेपालको विकासमा सहकार्य गर्न भारत सधैँ इच्छुक रहेको बताउँदै आएका छन्।  ‘मोदीले नेपाल आउने बताइरहँदा निम्ता जानु राम्रो हो। भ्रमण हुनु र स्वागत पाउनु मात्र राम्रो होइन’, परराष्ट्रका अर्का एक अधिकारीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =