पोखरा- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २, ऐनापहरा नजिक शुक्रबार भारतीय नम्बर प्लेटको बस दुर्घटनाका घाइतेमध्ये २९ जनाको उद्धार भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायका अनुसार हालसम्म २९ जना घाइते यात्रुलाई बसबाट निकालेर अस्पताल पठाउने काम भएको छ। बाँकीको स्थानीयसहित प्रहरीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट उद्धार कार्य भइरहेको उनले बताए। उनले भने, ‘बसमा करिब ४० जना जति रहेको अनुमान छ। बाँकी को–को मिसिङ हो ? खोजतलास भइरहेको छ।’
उद्धाका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोरसहित ४५ जना र तनहुँको भानुस्थित २३ नम्बर मनकामना गणबाट ३५ जनाको टोली उद्धार कार्यमा परिचालन भएको छ। दुर्घटनास्थल अप्ठेरो र भिरालो भएकोले उद्धार टोलीले डोरीको सहयोगमा उद्धार गरिरहेको छ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान ११ बजेर २० मिनेटमा दुर्घटना भएको हो। बस करिब डेढ सय मिटर तल खसेकोमा आधा भाग पानीमा डुबेको छ। गत महिना मात्रै त्रिशूलीमा २ बस पहिरोले बगाउँदा ५० भन्दा बढी यात्रुले ज्यान गुमाएका थिए।