कमला पुल : जनकपुरमा आमरण अनशन, सिरहामा विरोध प्रदर्शन

हिमाल प्रेस ७ भदौ २०८१ १०:३९
10
SHARES
कमला पुल : जनकपुरमा आमरण अनशन, सिरहामा विरोध प्रदर्शन सिरहा सदरमुकाममा शुक्रबार बिहान प्रदर्शनमा उत्रिएका युवा।

काठमाडौँ- कमला पुल निर्माणको माग गर्दै सिरहा सदरमुकाम सिरहामा प्रदर्शन भएको छ। पुल निर्माण कार्य अगाडि बढाउन माग राख्दै स्थानीय युवाले शुक्रबार प्रदर्शन गरेका हुन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि युवाहरूले आमरण अनशन गरिरहेको बेला सिरहामा प्रदर्शन भएको हो।

अविलम्ब पुल निर्माण कार्य अगाडि बढाउनुपर्ने भन्दै युवाहरूले सिरहामा बजार र शैक्षिक संस्था बन्द गराएका छन्। पुल निर्माणका लागि सरकारले चासो नदेखाएको उनीहरूको आरोप छ।

विरोध प्रदर्शनका कारण सदरमुकाम सिरहाको शैक्षिक संस्था र बजार बन्द भएका छन्। यसअघि बिहीबार पनि उनीहरूले पुल निर्माणको माग राख्दै मोटरसाइकल र्‍याली निकालेका थिए।

यता पुल निर्माणको माग राख्दै युवाहरूले जनकपुरधाममा सुरु गरेको आमरण अनशन शुक्रबार चौथो दिन पनि जारी छ। कमला पुल निर्माण संघर्ष समितिका अध्यक्ष इन्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा सिरहाका युवा आमरण अनशनमा बसेका छन्। आमरण अनशन लम्बिँदै गएपछि कतिपयको स्वास्थ्य अवस्थामा समस्या देखिएको बताइएको छ।

पन्ध्र वर्षअघि शिलान्यास भएको पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि बाढीका कारण भासिएको थियो। भासिएको पुल मर्मत नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न जोखिम मोल्नुपरेको छ।

भासिएको पुलको डिजाइन र गुणस्तर कमजोर भएको भन्दै आमरण अनशनमा बसेका युवाले नयाँ पुल निर्माणको माग गरेका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई सात दिनको अल्टिमेटम दिँदै उनीहरू आमरण अनशनमा बसेका हुन्।

उद्घाटन हुन एक सातामात्र बाँकी छँदा तीन वर्षअघि २४ करोड ४२ लाख रुपैयाँ लागतमा निर्माण भएको पुल भासिएको थियो। बिमा कम्पनीले निर्माण व्यवसायीलाई क्षतिपूर्तिबापतको रकम उपलब्ध नगराउँदा मर्मत कार्य अघि बढ्न नसकेको बताइएको छ। निर्माण कम्पनीले बिमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएपछि उच्च अदालत जनकपुरमा दायर गरेको मुद्दा विचाराधीन छ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने धनुषा-सिरहा जोड्ने यो पुलको शिलान्यास २०६८ साल मंसिरमा भएको थियो। ४७९ मिटर लामो र ११ मिटर चौडा पुल निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी बिल्डर्स जेभी कम्पनीले पाएको थियो। तीन वर्षमै काम सम्पन्न गर्ने गरी ठेक्का लिए पनि निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा पटक-पटक म्याद थप हुँदै गएपछि अन्ततः पप्पु कन्स्ट्रक्सन ठेक्काबाट पछि हटेको थियो।

प्रकाशित: ७ भदौ २०८१ १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =