कार्यान्वयनमा आयो स्वास्थ्य बीमाको सुविधा थैली

हिमाल प्रेस ६ भदौ २०८१ १८:३०
8
SHARES
कार्यान्वयनमा आयो स्वास्थ्य बीमाको सुविधा थैली

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो।

बोर्डले विज्ञहरूको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ। नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन्। अस्पताल टिकट ५० रूपैयाँ तोकिएको छ। शय्याको प्रतिदिन दुई सय ५० राखिएको छ। यसअघि साधारण शय्याको दुई सय थियो।

स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार पाँच सय बराबरको योगदानका आधारमा एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ।

यस्तै थप प्रतिसदस्य सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ। स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रूपैयाँसम्म तोकिएको छ।

बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ। रासस

प्रकाशित: ६ भदौ २०८१ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =