काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ यु–२०) च्याम्पियनसिपमा घरेलु टोली नेपालले बिहीबार बंगलादेशविरुद्ध २–१ को जित निकालेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको हो।
यो जितसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को विजेता रूपमा सेमिफाइनल प्रवेश गरेको छ। पराजित बंगलादेश पनि समान खेलबाट तीन अंकका साथ उपविजेता बन्दै अगाडि बढ्यो। पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए।
नेपाललाई जित दिलाउन समिर तामाङ र निराजन धामीले गोल गरे। बंगलादेशका लागि मिरजुल इस्लामले गोल फर्काए। खेलको १७औं मिनेटमा समिरको गोलमार्फत नेपालले अग्रता लिएको थियो।
नेपाली खेलाडीले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपर मोहदी हसन सर्बोनले पेनाल्टी बक्स बाहिर आएर नियन्त्रण गर्न खोज्दा समिरले खोस्दै सहजै पोस्टको दिशा दिए । दुई मिनेटपछि नै निराजनले टोलीको अग्रता दोब्बर बनाए । उनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै जाली चुमाए ।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा इस्लामले पेनाल्टीमार्फत गोल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरेका थिए। दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेन। ८४ औं मिनेटमा अविनाशको फ्रिकिकलाई बंगलादेशका गोलकिपर सर्बोनले सहजै नियन्त्रणमा लिए।
निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा अविनाशकै प्रहारलाई सर्बेनले डाइभ गर्दै बचाए।