जनकपुरधाम- नयाँ कमला पुल निर्माणको माग गर्दै जनकपुरधाममा जारी आमरण अनशनको समर्थनमा सिरहामा प्रदर्शन भएको छ। सिरहा सदरमुकाममा स्थानीय युवाहरूले अनशनमा बसेका युवाहरुको समर्थनमा प्रदर्शन गरेका हुन्।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गरेका स्थानीय प्रदर्शनकारीले बिहिबार विरोध प्रर्दशन गर्दै नाराबाजीसमेत गरेका छन्।
उनीहरूले यसलाई कमला पुलका लागि वारपारको संघर्ष भनेका छन्। ‘यो पुलका लागि विगतमा दर्जनौं आन्दोलन भए,’ स्थानीय सुनिल यादवले भने, ‘तर, राज्यको रबैयाले हामी यसपटक वारपारको लडाइँमा छौं।’
पुल निर्माणको सुनिश्चितता नभएसम्म यसपालिको आन्दोलन नरोकिने उनीहरूको भनाइ छ। कमला नदीमा निर्माण भएको पुल गलत डिजाइन र कमसल कामका कारण सञ्चालनमा नआउँदै भासिएको भन्दै नयाँ पुल बनाउनुपर्ने उनीहरूको माग छ।