इन्जिनियरिङ कहाँ पढ्ने? खर्च कति लाग्छ?

हिमाल प्रेस ६ भदौ २०८१ ११:५८
12
SHARES
इन्जिनियरिङ कहाँ पढ्ने? खर्च कति लाग्छ?

काठमाडौँ– यति बेला देशभरका क्याम्पसहरूमा स्नातक तह पहिलो वर्ष र पहिलो सेमेस्टरका लागि भर्ना खुलेको छ। विज्ञान, व्यवस्थापन, मानविकी, इन्जिनियरिङजस्ता संकायमा भर्ना खुलेपछि कलेजहरूमा चहलपहल पनि बढेको छ। कतिपयले आफ्ना विषय रोजिसकेका छन् भने कतिपयले रोज्नै बाँकी छ। धेरैको ध्यानचाहिँ सूचना प्रविधि, कम्प्युटरतर्फ केन्द्रित रहेको कलेजका सञ्चालकहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८१/८२ का लागि बीई र बीआर्कको प्रवेश परीक्षाका लागि आवेदन माग गरेपछि इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको चासो भने त्यसतर्फ बढेको छ। प्रवेश परीक्षा भदौ १६ देखिका लागि तोकिएको छ। फारम भर्ने मिति भदौ ९ गते साँझ ५ बजेसम्म तोकिएको त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको प्रवेश परीक्षा बोर्डले जनाएको छ। प्रवेश परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक र पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुनेछ।

पढ्नका लागि न्यूनतम योग्यता

आवेदनका लागि न्यूनतम योग्यता त्रिवि वा यसबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ।

यसैगरी उच्च माध्यमिक तह वा ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सोसरहको परीक्षामा कूल पूर्णांकको कम्तीमा ४५ प्रतिशत अंक ल्याउनेले प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।

ए लेभल ग्रेडिङ भएमा (राष्ट्रिय परीक्षा बोर्डको हकमा) प्रत्येक विषयको फाइनल ग्रेडमा न्यूनतम सी ग्रेड प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ भने कक्षा १२ वा सोसरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैटौँ सेमेस्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीले समेत आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन पाउने त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको सूचनामा उल्लेख छ।

यी हुन् १२ वटा कार्यक्रम

त्रिवि सम्बद्ध आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित विभिन्न १२ वटा कार्यक्रममा इन्जिनियरिङ अध्ययनका लागि आवेदन माग गरिएको हो। ती कार्यक्रममा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्डस्ट्रियल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ र केमिकल इन्जिनियरिङ छन्।

कुन कार्यक्रममा कति सिट?

नेपाल इन्जिनियरिङ परिषद्ले सिभिल इन्जिनियरिङतर्फ ४ हजार ४१६ सिट संख्या निर्धारण गरेको छ। इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ५ सय ३२, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका लागि १ हजार ३९४, मेकानिकल इन्जिनियरिङका लागि ३६० सिट छुट्याइएको छ।

केमिकल इन्जिनियरिङमा ३०, कम्प्युटर इन्जिनियरिङमा २ हजार १४०, इन्भ्यारोमेन्टल इन्जिनियरिङका लागि ३५, एग्रिकल्चर इन्जिनियरिङका लागि २४, आर्किटेक्चरतर्फ ६१० सिट संख्या कायम गरिएको छ। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ३ सय, बायोमेडिकल इन्जिनियरिङतर्फ ७२, सफ्टवेयर इन्जिनियरिङतर्फ १९२, बीईआईटीमा ४३२, इन्डस्ट्रियल इन्जिनियरिङतर्फ ४८, जियोमेटिक्स इन्जिनियरिङतर्फ १४८, सिभिल एन्ड रुलर एन्जिनियरिङमा ९६ कोटा निर्धारण गरिएको छ।

यसैगरी अटोमोबाइल इन्जिनियरिङमा ९६, एरोस्पेस इन्जिनियरिङतर्फ ४८ जना गरी १८ वटा विषयमा नेपालभरका शिक्षण संस्थामा १० हजार ९ सय ७३ सिट संख्या कायम गरिएको परिषद्ले जनाएको छ। नेपालमा रहेका ५० वटा इन्जिनियरिङ क्याम्पसमध्ये काठमाडौँ उपत्यकामा ५० वटा छन्।

कति खर्च लाग्छ?

इन्जिनियरिङ शिक्षण संस्थामा शुल्क महँगो हुने भएकाले छात्रवृत्तिमा नाम निकाल्न विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा हुन्छ। सीमित सिट हुने भएकाले सबै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउँदैनन्। स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न ८ सेमेस्टर (४ वर्ष) का लागि ८ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ। इन्जिनियरिङका लागि हरेक वर्ष थुप्रै नेपाली विद्यार्थी भारत जाने गरेका छन्। भारतमा २० लाख रुपैयाँसम्म खर्च हुने गरेको त्यहाँ अध्ययन गरी फर्किएकाहरू बताउँछन्।

परिषद्ले नेपालबाहेक ४४ देशका ८ सय ४ वटा विश्वविद्यालयमा अध्ययन गर्न पाइने अनुमति दिएको छ। सबैभन्दा बढी भारतमा ३ सय १४, चीनका ५८, रुसका ३९, अमेरिकाको ७२, बेलायतका २५, जापानका १२, अस्ट्रेलियाका १६ विश्विद्यालय/शिक्षण संस्थालाई परिषद्ले दर्ता अनुमति दिएको छ।

त्रिविका आंगिक क्याम्पस र जम्मा सिट संख्या

आईओई, पुलचोक, ललितपुर : ५२८
पश्चिमाञ्चल क्याम्पस, पोखरा : ४३२
पूर्वाञ्चल क्याम्पस, धरान : ४५६
थापाथली क्याम्पस, थापाथली : ३३६
चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन : २४ (आर्किटेक्ट मात्र)

त्रिवि सम्बन्धन प्राप्त क्याम्पस र सिट संख्या

काठमाडौँ इन्जिनियरिङ कलेज, काठमाडौँ : ३८४
कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर : २८८
हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर : २४०
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर : ३३६
नेसनल कलेज अफ इन्जिनियरिङ, ललितपुर : २४०
काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर : १९२
जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुर : १९२
ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुर : १९२
सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर : ९६
ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर : ४८

इन्जिनियरिङ पढाइ हुने अन्य विश्वविद्यालयका कलेज र सिट संख्या

गण्डकी इन्जिनियरिङ कलेज, पोखरा : ९६
कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, ललितपुर : ४३२
नेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, धनगढी : १४४
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, ललितपुर : ५२८
नेपाल इन्जिनियरिङ कलेज, ललितपुर : ५७६
लुम्बिनी इन्जिनियरिङ कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्स, रूपन्देही : २४०
पोखरा इन्जिनियरिङ कलेज, पोखरा : १९२
अक्सफोर्ड इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट, गैँडाकोट,नवलपरासी : २४०
एभरेस्ट इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट : ३३६
राप्ती इन्जिनियरिङ कलेज, दाङ : ९६
युनाइटेड टेक्निकल कलेज, चितवन : १९२
पोखरा युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ : २८८
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, ललितपुर : १४४
कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट : १४४
मदन भण्डारी मेमोरियल कलेज : १९२
रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट : ९६
स्कुल अफ साइन्स, धुलिखेल : ३५
स्कुल अफ इन्जिनियरिङ, धुलिखेल : ४२०
एक्मी इन्जिनियरिङ कलेज, सीतापाइला : ३४४
हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, ललितपुर : १७६
कान्तिपुर सिटी कलेज, पुतलीसडक : १८४
इस्ट्रन कलेज अफ इन्जिनियरिङ, विराटनगर : १६६
कलेज अफ इन्फरमेसन टेक्नोलोजी, काठमाडौँ : ८०
हिमालय इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, काठमाडौँ : ६०
स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, विराटनगर : २६४
कलेज अफ बायोमेडिकल इन्जिनियरिङ, विशालनगर, काठमाडौँ : ७२
आर्यन स्कुल अफ इन्जिनियरिङ, मध्यबानेश्वर : ९६
सेन्ट्रल इन्जिनियरिङ कलेज, जनकपुर : ४८
जियोमेटिक्स इन्स्टिच्युट अफ टेक्नोलोजी, काठमाडौँ : ४०
कान्तिपुर इन्टरनेसनल कलेज, लुभु, ललितपुर : १४४
नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर : ९६
हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वर, काठमाडौँ : १४४
मोर्गन इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट, काठमाडौँ : ४८
स्कुल अफ इन्जिनियरिङ, सुदूरपश्चिम, महेन्द्रनगर : ९६
स्कुल अफ इन्जिनियरिङ, वीरेन्द्रनगर, सुर्खेत : १९२

प्रकाशित: ६ भदौ २०८१ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast