महोत्तरीमा युवतीको शंकास्पद मृत्यु, श्रीमान्‌ र ससुरासहित चारजनाविरुद्ध जाहेरी

हिमाल प्रेस ६ भदौ २०८१ ११:०१
30
SHARES
महोत्तरीमा युवतीको शंकास्पद मृत्यु, श्रीमान्‌ र ससुरासहित चारजनाविरुद्ध जाहेरी प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम-  महोत्तरीको रमौलमा एक एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छिन्। रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

माइतपक्षले भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित परिवारका सदस्यले हत्या गरेको दाबी गरिरहेको छ।  महोत्तरीका प्रहरी नायब उपरीक्षक डीएसपी सन्तुलाल जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारका लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याइएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।

यता माइत पक्षले आफूहरू पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले हत्या भएको दाबी गरेको छ। छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चार सदस्यविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ। ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी  र देवर २५ वर्षीय ओमकुमारविरुद्ध जाहेरी परेको हो।

रिना मंगलबार मात्रै माइतबाट घर फर्किएकी थिइन्। मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डीएसपी जयसवारको भनाइ छ। घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको विवाह गत वैशाख १९ गते सामाजिक परम्पराअनुसार रोहनसँग भएको थियो। जसमा माइती पक्षले लत्ता, कपडा, भाडाबर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवल रायले बताए।

प्रकाशित: ६ भदौ २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =