नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्थापित लगानी कम्पनीले स्टार्ट अपमा लगानी गर्ने

हिमाल प्रेस ६ भदौ २०८१ १०:२८
12
SHARES
नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्थापित लगानी कम्पनीले स्टार्ट अपमा लगानी गर्ने काठमाडौँमा बुधबार आयोजित स्टार्टअप नेसन २०३० को उद्घाटन सत्रमा मन्तव्य दिँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल।

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा स्थापित लगानी कम्पनीले स्टार्ट अपमा लगानी गर्ने जानकारी दिएका छन्। काठमाडौँमा बुधबार आयोजित स्टार्टअप नेसन २०३० को उद्घाटन सत्रमा मन्तव्य दिँदै ढकालले सो कुरा बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब रुपैयाँ लगानीमा लगानी कम्पनी स्थापना भएको ढकालले जानकारी दिए।  स्वतन्त्र रूपमा सञ्चालन हुने यो कम्पनीमा जुनसुकै लगानीकर्ताले लगानी गर्न सक्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघ ७७ वटै जिल्ला र नगरपालिकामा जम्मा १२३ स्थानमा रहेको पनि ढकालले बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघको सबै प्रदेशमा कार्यालय रहेको र यस पहललाई अगाडि बढाउने क्षमता रहेको जानकारी दिए। ‘त्यसैले हामी प्रदेश सरकारसँगको सहकार्यमा यी केन्द्रहरू स्थापना गर्न सक्षम छौँ,’ उनले भने। ढकालका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा पनि केन्द्र स्थापना गर्ने लक्ष्य छ।

अर्थतन्त्रलाई टेवा दिन प्रत्यक्ष वैदेशिक लगानीसँगै उद्योग वा व्यवसायमा लगानी गर्न चाहने मुलुकभर रहेका साना लगानीकर्ताको कोषमा पनि ट्याप गर्न सक्ने ढकालले बताए। ‘व्यक्तिगत रूपमा लिँदा कोष थोरै हुने भएकाले हामीले ठूलो कोष बनाउन सबै पैसा जम्मा गर्नुपर्नेछ’, उनले भने।

यो ठूलो कोषले देशलाई आवश्यक पर्ने ठूला विकास आयोजनामा लगानी गर्न सकिने ढकालले बताए। ‘कोष वर्षौँदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरूमा लगानी गर्न पनि प्रयोग गर्न सकिन्छ। यसले औद्योगीकरणमा मात्रै नभई देशभित्रै रोजगारी सिर्जना  गर्न पनि सहयोग पुग्नेछ’, उनले भने।

स्टार्टअप कार्यक्रमका लागि करिब एक दशकअघि बजेट विनियोजन गर्न थालेको तर पछिल्लो समय मात्रै स्टार्टअपले गति लिएको धारणा राख्दै ढकालले चार महिनाअघि लगानी सम्मेलनमा परिमार्जन गरिएका आठ ऐनमध्ये एउटा औद्योगिक व्यवसाय ऐनमा स्टार्टअपको कानुनी परिभाषा समावेश गरिएको जानकारी दिए।

त्यसपछि स्टार्टअप नीति पारित भएको भन्दै ढकालले नेपाल उद्योग वाणिज्य महासंघले यस नीतिको पहिलो मस्यौदा सरकारसमक्ष पेस गरेकोमा खुसी व्यक्त गरे।

ढकालले स्टार्टअप र नयाँ उद्यमीलाई सहज बनाउन युवालाई सहयोग गर्न इन्क्युबेसन र इनोभेसन सेन्टर स्थापना गर्नुपर्ने पनि बताए। प्रारम्भिक चरणका रूपमा नेपाल उद्योग वाणिज्य महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघसँगको सहकार्यमा इन्क्युबेसन सेन्टर स्थापना प्रक्रिया अघि बढाएको ढकालले जानकारी दिए। यसका लागि उनले संघीय र प्रदेश सरकार दुवैलाई सहयोग गर्न आग्रह गरे।

स्टार्टअप नेसन कार्यक्रम नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, विश्वविद्यालय अनुदान आयोग, इसिमोड र पीयूएम नेदरल्यान्डस्‌द्वारा आयोजना गरिएको थियो।

प्रकाशित: ६ भदौ २०८१ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =