सूर्यदर्शन सहकारीका पूर्व सचिव नकर्मीलाई थुनामा राख्ने आदेश

हिमाल प्रेस ५ भदौ २०८१ २०:४५
14
SHARES
सूर्यदर्शन सहकारीका पूर्व सचिव नकर्मीलाई थुनामा राख्ने आदेश

पोखरा- कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था लि.का पूर्व सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

वीरगञ्ज १४, श्रीपुर स्थायी घर भइ हाल पोखरा १७, घारीपाटन बस्ने ४८ वर्षीय जनकर्मीलाई प्रहरी गत ३२ साउनमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको हो। सहकारीको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियमविपरीत हिनामिना एवं अपचलन गरेर ठगीजन्य कसूरमा संलग्न उनी फरार थिए। उनलाई प्रहरीले गत २ भदौमा कास्की जिल्ला अदालतमा मुद्दाको अभियोगपत्र माग दाबी अनुसार सजायका लागि उपस्थित गराएको थियो।

सहकारीको १ अर्ब ११ करोड रुपैयाँ हिनामिना एवं अपचलन गरेको अभियोगमा उक्त मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल र सहकारीका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई छन्। उनीहरू कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन्।

संस्थापक अध्यक्ष जीबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ अझै पनि फरार छन्। उक्त सहकारीका १ हजार ३५ जना बचतकर्ता छन्।

अदालत अगाडि जलाइयो पत्रिका

पोखराबाट प्रकाशित समाधान दैनिकले सहकारी ठगीमा संलग्नको पक्षमा समाचार लेखेको भन्दै सहकारी पीडितले बुधबार अदालत अगाडि उक्त पत्रिका जलाएका छन्। सो घटनाको विरुद्धमा पत्रकार महासंघ कास्कीले विज्ञप्ति जारी गरी विरोध जनाएको छ। महासंघका जिल्ला सचिव माधव बरालद्वारा जारी विज्ञप्तिमा पत्रिका जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

‘सूर्य दर्शन सहकारी पीडितहरुले समाचारको विषयलाई लिएर जनतालाई सुसूचित गराउने माध्यमको रुपमा रहेको पत्रिका जलाएको घटनाको पत्रकार महासंघ कास्की निन्दा र भत्र्सना गर्दछ। समाचारमा चित्त नबुझे खण्डन छाप्ने र कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रिका जलाउनु र पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीको नाम लिएर धम्कीपूर्ण भाषा बोल्नु प्रेस स्वतन्त्रता र पत्रकारितामाथिकै आक्रमण भएको नेपाल पत्रकार महासंघ कास्कीको ठहर छ। सार्वजनिक स्थलमा पत्रिका जलाउने र पत्रकारलाई धम्कीपूर्ण भाषा बोल्नेलाई कानुनी कारबाहीको माग पत्रकार महासंघ कास्की गर्दछ,’ विज्ञप्तिमा छ।

प्रकाशित: ५ भदौ २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast