इटहरी- कोशी प्रदेशसभा बैठक भदौ १८ गतेका लागि आह्वान गरिएको छ। असार ८ गते प्रदेश सभाको बैठक स्थगित भएको थियो।
लामो समयदेखि स्थगित रहेको बैठक बोलाउन प्रतिपक्षीसहित सत्तारुढ दलका प्रदेशसभा सदस्यले दबाब दिएका थिए। दबाब बढेपछि सभामुख अम्बरबहादुर विष्टले संसद् बैठक बोलाउन बाध्य भएका हुन्। उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अनुकूल हुने गरी दुई सातापछिको समय राखेर बैठक बोलाएका छन्।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १८ गते दिउँसो १ बजेलाई संसद बैठक बोलाइएको सूचना जारी गरेका छन्।
मुख्यमन्त्री कार्कीमाथि संसद्लाई बन्धक बनाएको आरोप लाग्दै आएको छ। प्रदेशसभाको पाँचौँ अधिवेशनको तेह्रौं बैठक बसेर स्थगित संसदका १४ औँ बैठक बोलाउन निकै समय लाग्नुले पनि आरोपको पुष्टि हुने बताइन्छ। बजेट कार्यान्वयनको विषय, दैवी प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए। सरकारले भने नेपाली कांग्रेस मन्त्रिपरिषद्मा सहभागी भएपछि बैठक राख्ने बताउँदै आएको थियो।
कांग्रेसले कार्की नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। तर भागबन्डाको किचलोमा फसेको कांग्रेसले हालसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन।
यसअघि बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसद्मा टेबल गरेको थियो।
संसद् बैठक नबस्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन।