कांग्रेसको चकचक गर्ने बानी छैन, एमालेको उपद्रो रोक्छौँ : महामन्त्री थापा

हिमाल प्रेस ४ भदौ २०८१ १९:४५
30
SHARES
कांग्रेसको चकचक गर्ने बानी छैन, एमालेको उपद्रो रोक्छौँ : महामन्त्री थापा

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयको आवश्यकताअनुसार संविधान संशोधन हुने बताएका छन्। उनले संविधान गतिशील दस्ताबेज भएकाले संविधानलाई गतिशील बनाउन संशोधन गर्नुपर्ने बताए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाको आयोजनामा मंगलबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

महामन्त्री थापाले अहिलेको संघीयता नक्कली भएको भन्दै संविधान संम्शोधन गरेर सक्कली संघीयता कार्यान्वयन गर्ने बताए। उनले कांग्रेस-एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएको बताए। उनले वर्तमान सरकार साढे ३ वर्ष नै चल्ने समेत दाबी गरे। ‘कांग्रेस र एमालेको सरकार बनेको छ, ३ वर्षसम्म कुनै पनि उलथपुथल हुँदैन,’ उनले भने ।

महामन्त्री थापाले नेकपा एमालेको उपद्रोलाई आफूहरूले रोक्ने बताए। उनले कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म नै चल्ने दाबी गरे।

‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन। चकचक पनि गर्दैन। यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले भने।

महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हुने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढनुपर्नेमा जोड दिए।

यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताए।

तीन दिनसम्म चल्ने कार्यक्रममा गोविन्द पोखरेल, डा.सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिनेछन्। कार्यक्रमको समापन  कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बिहीबार गर्ने प्रशिक्षण विभाग प्रमुख अनिता शाहले जानकारी दिइन्।

प्रकाशित: ४ भदौ २०८१ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =