कमल थापा, प्रदीप ज्ञवालीपछि आरजुलाई दिए मोदीले महत्त्व

धैर्यकान्त दत्त ४ भदौ २०८१ २१:०४
578
SHARES
कमल थापा, प्रदीप ज्ञवालीपछि आरजुलाई दिए मोदीले महत्त्व परराष्ट्रमन्त्री आरजु राणा देउवा गत साता नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै। तस्बिर स्रोत : भारतीय परराष्ट्र मन्त्रालय

काठमाडौँ- लोकतान्त्रिक आन्दोलन (२०६२/०६३) सफल भएपछि मुलुकले २० जना परराष्ट्रमन्त्री पाएको छ। यसमा १७ फरक अनुहार  छन् भने तीनजना दोहोरिएका छन्। भारतीय सत्तामा नरेन्द्र दामोदरदास मोदीको उदयपछि नेपालमा परराष्ट्रमन्त्रीका रूपमा ९ नयाँ अनुहार आइसकेका छन्। भारतमा भने उनको तेस्रो कार्यकालमा पनि सुष्मा स्वराजपछि परराष्ट्रमन्त्री बनेका एस जयशंकर छन्।

प्रधानमन्त्री केपी ओली दोस्रो जनआन्दोलनलगत्तै गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्‌मा परराष्ट्रमन्त्री थिए। त्यतिबेला भारतमा कांग्रेस आईका नेता डा. मनमोहन सिंह प्रधानमन्त्री थिए। ओलीपछि सहाना प्रधान, उपेन्द्र यादव, सुजाता कोइराला, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, माधवप्रसाद घिमिरे, महेन्द्रबहादुर पाण्डे, कमल थापा, प्रकाशशरण महत, कृष्णबहादुर महरा, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, नारायण खड्का, विमला राई पौड्याल, एनपी साउद र आरजु राणा देउवाले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। आरजुअघि नारायणकाजी श्रेष्ठ दोहोर्‍याएर परराष्ट्रमन्त्री भएका थिए।

अघिल्ला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारत भ्रमण गर्न पाएनन्। त्योभन्दा अघि परराष्ट्र मन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा श्रेष्ठले कार्यकारी प्रमुखसँग भेट गर्न पाएका थिएनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पछिल्लो सरकारमा परराष्ट्रमन्त्री बनेका श्रेष्ठले दुईपटक चीनको भ्रमण गरे पनि भारत गएनन्। डा. विमला राई पौड्याल, ईश्वर पोखरेल, रघुवीर महासेठले त भारतको भ्रमण गर्न भ्याएनन्। अन्य मन्त्रीले भारत भ्रमण गरे पनि कार्यकारी प्रमुखसँग भेट्नेमा थोरैमात्र छन्।

ओलीले आफू परराष्ट्रमन्त्रीका रूपमा भारत जाँदा तत्कालीन कार्यकारीलाई भेटेका थिए। साथै परराष्ट्रमन्त्रीका रूपमा भारत भ्रमणका गएका उपेन्द्र यादव, सुजाता कोइराला, कमल थापा, प्रदीप ज्ञवालीले पनि भारतीय प्रधानमन्त्रीसँग भेट गरेका थिए। महेन्द्रबहादुर पाण्डे, प्रकाशशरण महत, नारायण खड्का, एनपी साउदलगायतले भने भारत भ्रमणका बेला कार्यकारी प्रमुख भेट्न पाएनन्।

सत्ता समीकरण फेरिएपछि बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छिन् आरजु। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु यतिबेला भारत भ्रमणमा छिन्। गत महिना मन्त्री भएकी आरजुले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेकी हुन्।

परराष्ट्रमन्त्री आरजु आएको एक महिनामा छिमेकी मुलुक भारत भ्रमणमा निस्किइन्। उनले त्यहाँ आफूले भनेअनुरूपको भेटघाट पनि गरिरहेकी छन्।  भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको निमन्त्रणामा पाँचदिने औपचारिक भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी उनले सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरिन्। आरजुको भ्रमण तालिकामा परराष्ट्रमन्त्री जयशंकरसँग भेटवार्ता तय भए पनि मोदीसँगको भेटघाट निश्चित भइसकेको थिएन। नयाँदिल्लीमा मोदीसँग भेटवार्ता हुनसक्ने सम्भावनामात्रै बताइएको थियो।

परराष्ट्रमन्त्री आरजुलाई सोमबार साँझ भारतीय प्रधानमन्त्री मोदीले ‘न्यानो स्वागत’ गर्दै भेटवार्ता गरे। आरजु-मोदीको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ। यसअघि भारत भ्रमण गरेका अधिकांश परराष्ट्रमन्त्रीहरूले मोदीसँग भेटवार्ता गर्न चाहे पनि सम्भव भएको थिएन। मोदीको व्यस्तता वा ‘कम महत्त्व’ दिएकाले त्यहाँको प्रधानमन्त्री कार्यालयले भेटघाटका लागि समय दिने गरेको थिएन।

यसपालि भने परराष्ट्रमन्त्री आरजुले प्रधानमन्त्री मोदीसँग सहजै समय पाएकाले पनि भेटलाई चासोका साथ हेरिएको हो। उनले भारतीय परराष्ट्र मन्त्रालयभन्दा पनि पार्टीको च्यानल प्रयोग गरेर भेटघाट जुराएको जानकारहरू बताउँछन्। कतिपय विज्ञहरूले ‘मोदी-आरजु’ को भेटलाई कांग्रेस सभापति देउवाको प्रभावसँग जोडेर पनि हेरेका छन्।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय अन्य परराष्ट्रमन्त्रीहरूको तुलनामा भारतले आरजुलाई बढी महत्त्व दिएको बताउँछन्। ‘राजनीतिमा उनको आफ्नो योगदान छँदैछ, यसबाहेक उहाँ कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्रीको पत्नी पनि हुनुहुन्छ,’ हिमालप्रेससँग उपाध्यायले भने, ‘देउवाजीको लिगेसी जोडिएपछि अरू परराष्ट्रमन्त्रीको तुलनामा ‘हाइट’ पाउनु स्वाभाविकै हो।’

राणाअघि परराष्ट्रमन्त्रीको हैसियतमा कांग्रेस नेता एनपी साउदले भारत भ्रमण गरेका थिए। ‘राइसिना संवाद’ कार्यक्रममा भाग लिन गत वर्ष फागुनमा भारत भ्रमण गरेका उनले आफ्ना समकक्षीलगायत अरू पदाधिकारीलाई भेटे पनि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न पाएका थिएनन्। उनले त्यो समयमा औपचारिक भ्रमण नै गरेका थिए। प्रकाशरण महत पनि परराष्ट्रमन्त्री हुँदा भारत भ्रमण त गरे। उनले पनि कार्यकारी प्रमुखलाई भेट्न पाएनन्।

परराष्ट्र मन्त्रालय रोज्ने थोरै मात्रै नेतामा आरजु परेकी छन्। अधिकांश नेताहरू  गृह, अर्थ, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा मन्त्रालयको नेतृत्व गर्न रुचाउँछन्।  यसअघि कमल थापा, उपेन्द्र यादव र केपी शर्मा ओलीले पनि परराष्ट्र मन्त्रालय माग गरेका थिए। परराष्ट्र मन्त्रालय रोजाइको मन्त्रालयमा पर्दैन। त्यसैले यस मन्त्रालयले कूटनीति बुझेको र सक्षम व्यक्तिलाई कहिलेकाहीँ मात्रै पाउने गरेको छ।

पूर्वराजदूत उपाध्यायले परराष्ट्रमन्त्री आरजुलाई महत्त्व दिएर मोदीले नेपालप्रति न्यानोपन देखाउन खोजेको बताए। अन्य छिमेकीसँग सम्बन्ध बिग्रिरहेका बेला भारतले नेपालसँग न्यानोपन देखाइरहेको उनको भनाइ छ।

‘न्यानोपन देखाउन खोजिरहेको छ र नेपालले यसलाई कसरी लिने यो हाम्रो सोचाइमा भर पर्छ,’ उपाध्यायले भने, ‘चाहे पनि नचाहे पनि नयाँ सरकार बनेको छ, बंगलादेशमा पनि राजनीति फेरिएको छ। भारतले सौहार्दता देखाउन खोजेको रूपमा यो भेटलाई लिनुपर्छ।’

एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राणा र मोदीबीच भएको भेटलाई भारतले महत्त्व दिएको  बुझ्नुपर्ने बताउँछन्। ‘यसरी दुईजना भेटेको उदाहरण पनि छन्, छैनन् पनि,’ ज्ञवाली भन्छन्, ‘पछिल्लो भेटलाई भारतले महत्त्वत दिएको अर्थमा हामीले बुझ्नुपर्‍यो।’ ज्ञवाली परराष्ट्रमन्त्री भएर भारत जाँदा पनि कार्यकारी प्रमुखलाई भेटेर नेपालको प्राथमिकता राखेका थिए। उनी त्यतिबेला निकै सक्रिय र विदेश भ्रमणमा समय दिने मन्त्रीका रूपमा चिनिएका थिए।

चुनावपछि भारतमा नयाँ सरकार बनेकाले दुई देशबीचको प्राथमिकता साझा गर्ने सवालमा पनि मोदी-आरजुबीचको भेट महत्त्वपूर्ण रहेको उनले बताए। ‘चुनावपछि नयाँ सरकार बनेको छ, प्राथमिकतालाई सेयर गर्ने, अगाडिका मार्गचित्र तय गर्ने, भारतीय प्रधानमन्त्रीले पनि विशेष महत्त्व दिएको रूपमा यो भेटलाई लिनुपर्छ,’ ज्ञवालीले भने।

मोदीसँगको शिष्टाचार भेटवार्तापछि परराष्ट्रमन्त्री आरजुले नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘नेपालको परराष्ट्रमन्त्रीको रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु।’

त्यसको केहीबेरपछि मोदीले सामाजिक सञ्जाल एक्समा परराष्ट्रमन्त्री आरजुलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका थिए। ‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर छौँ। परराष्ट्रमन्त्री आरजु राणा देउवालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ,’ मोदीले लेखेका थिए।

कूटनीतिक मर्यादाअनुसार दुवै देशले वक्तव्य निकाल्ने गरे पनि परिणाम आउने गरी काम हुनुपर्नेमा विज्ञहरूको जोड छ। पूर्वराजदूत उपाध्याय भ्रमणमा सौहार्दता र न्यानोपन देखिनु ठिकै भए पनि परिणामको विशेष महत्त्व रहेको बताउँछन्। ‘हामी धेरै चुकिसकेका छौँ, अब चुक्नु हुँदैन। हाम्रो समस्या हामीले प्रस्ट ढंगबाट राख्न सक्नुपर्‍यो, त्यो हुन सकेको छैन,’ उनी भन्छन्, ‘सीमा समस्या छन्, व्यापार घाटाको कुरा छ, प्रस्ट रूपमा भन्न सकियोस्, परिणाम देखियोस्, यो महत्त्वपूर्ण विषय हो।’

कूटनीतिमा दुवै देशको स्वार्थ बाझिनु स्वाभाविकै भए पनि समझदारी बराबरीमा गर्नुपर्ने उपाध्यायको सुझाव छ। ‘भारतको पनि स्वार्थ छ, हाम्रो पनि छ, भारतले हाम्रो समस्या डाइल्युट गरिदिन्छ त्यसतर्फ सचेत हुनुपर्छ,’ पूर्वराजदूत उपाध्याय भन्छन्, ‘दुवै देशलाई फाइदा हुनेगरी काम गर्नुपर्‍यो।’ नयाँ परराष्ट्रमन्त्रीको पहिलो भारत भ्रमण भएकाले परिणामका लागि केही दिन प्रतीक्षा गर्नुपर्ने उनले बताए ।

त्यहाँ भएको छलफल र आगामी दिनमा आउने नतिजाले उनी आफ्नो राजनीतिक पोर्टफोलियोको आधारमा भेटेको भन्ने साँचो हुन्छ। अन्यथा मुलुकको ठूलो दलको केन्द्रीय सदस्य अनि पार्टी सभापति एवं पटकपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको पत्नीको हैसियतमा मोदीले भेट दिएको पुष्टि हुन्छ।

कार्यकारीसँग समय मिलाएर मात्रै भारत जान्थे थापा

नेपाल-भारत सम्बन्ध तिक्ततामा पुग्दा परराष्ट्रमन्त्री बनेका कमल थापाले पनि पटकपटक भारत भ्रमण गरे अनि कार्यकारीलाई पनि भेटेका थिए। उनी कार्यकारीसँगको भेट तय गरेर मात्र भारत गएका थिए। अन्यथा अनौपचारिक रूपमा विभिन्न संयन्त्रमार्फत भेट्न पनि थापा भारत गएका थिए।

त्यतिबेला भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको थियो। त्यो खुलाउन थापाले गरेको प्रयत्न सामान्य छैन। ‘भ्रमणका लागि भ्रमण हुनु भेटका लागि भेट हुनुभन्दा एजेन्डामा छलफल भएर निचोडमा पुर्‍याउनु महत्त्वपूर्ण हो,’ थापाले पटकपटक भन्दै आएका छन्। नेपाल-भारत सन्धिका विषयमा कूटनीति ‘नन पेपर’ पनि उनै थापाले पहिलोपटक परराष्ट्रमन्त्री हुँदा भारतलाई बुझाएका थिए।

प्रकाशित: ४ भदौ २०८१ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =