‘बालेन’ गीत गाएपछि पोखरा महानगरकी कर्मचारी चन्द्रावतीको सरुवा भएको हो?

हिमाल प्रेस ४ भदौ २०८१ १६:३२
88
SHARES
‘बालेन’ गीत गाएपछि पोखरा महानगरकी कर्मचारी चन्द्रावतीको सरुवा भएको हो? चन्द्रावती वाग्ले

पोखरा– पोखराकी गायिका एवं साहित्यकार चन्द्रावती वाग्ले अघिल्ला वर्ष झैं यस वर्षको तीजको गीत ल्याइन्। गत महिना आफ्नै युट्युब च्यानल ‘चन्द्रावती वाग्ले’ बाट उनले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)को कामको प्रशंसा गर्दै उक्त गीत सार्वजनिक गरेकी थिइन्।

वाग्ले आफैँले लेखेको यो गीतको चर्चा थोरबहुत भए पनि खास भ्यूज पाइसकेको थिएन। तर, गीतकै कारण उनको सरुवा भएको भन्ने विषयले सांगीतिक क्षेत्र तात्दा उनको गीतसँगै वाग्लेस्वयं यतिखेर चर्चामा छन्।

लामो समय सरकारी जागिरमा कार्यरत् रहँदै गीतसंगीतमा समेत रमाइरहेकी पोखराकी चन्द्रवतीको विगतमा अन्य गीतले खासै भ्यूज नपाए पनि यसपालि भने ‘गीत–सरुवा’ चर्चाले वाग्ले र गीत दुवै भाइरल छन्। उनकै यूट्युब च्यानलबाट सार्वजनिक उक्त गीतले राम्रै भ्यूज कमाइरहेको छ।

‘… चारैतिर बालेनको चर्चा चुलियो,’ जस्ता शब्द रचनाको यो गीतको निर्देशन वसन्त चालिसेले गरेका हुन्। जसमा वसन्तसहित कुमार गौतम, दीपेन्द्र कार्कीलगायतले अभिनय गरेका छन्।

पोखरा महानगरपालिका सामाजिक विकास शाखामा कार्यरत् सातौं तहकी कर्मचारी चन्द्रावती त्यहाँकी सहायक सूचना अधिकारीसमेत हुन्। ३ महिना पहिले उक्त शाखामा आउनुअघि उनी पोखराकै वडा ३ कार्यालयकी वडासचिव थिइन्। वडामा उनले पौने ५ वर्ष सेवा गरेकी थिइन्। तीजको छेकोमा उनकै शब्द, संगीत र स्वरमा ‘बालेन’ गीत आयो र केही समयपछि उनको सरुवाको पत्र आयो।

गत १८ साउनको सरुवा पत्र आएको बताउने वाग्लेको पोखराकै दुर्गम मानिने वडा २३ मा सरुवा भएको हो। उनले बालेनको गीत गाएपछि पूर्वाग्रही ढंगले सरुवा भएको दाबी गर्छिन्। उनका अनुसार पोखराकै सुगम वडा छैटौं तहको कर्मचारी भरमा चलेको छ। दुर्गममा किन सातौं तहको कर्मचारी वडासचिव हुनुपर्ने ? उनको प्रश्न छ। आफ्नो सरुवाबारे महानगर प्रमुखसँग कुराकानी गर्न नपाएको उनले बताइन्।

उनले भनिन्, ‘मैले त के भनूँ। अरु (छैटौं तहका कर्मचारी) को नजिकै (सुगम वडा) देखें, मेरो टाढा देख्दा असन्तुष्टि हो। तैपनि सरकारी जागिर खाएपछि नूनको सोझो त गर्नै परो। सरुवा भएको ठाउँ जानै परो।’

१९ एल्बम निकालेकी सकेकी उनी आफ्नो विवेकले जे देखें, त्यहीअनुसार गीत गाएको बताउँछिन्। उनले भरतपुर महानगरकी मेयर, धनगढीका मेयरको बारेमा पनि गीत लेखेको बताएकी छन्। उनले सबै गीत गाएर पनि सम्भव नहुने, खर्चले पनि नपुग्दो तर, काठमाडौंका मेयरको बारेमा नेपालमात्र नभै अन्तर्राष्ट्रियस्तरमा पनि चर्चामा भएकोले उहाँको काम पनि राम्रो भएकोले गीत गाएको प्रस्ट पारिन्।

खासमा महानगरको कर्मचारी कार्यविधिमा सरुवा १ वर्षमा मात्र गरिने उल्लेख भए पनि कारबाही बखत जुनसुकै बेलामा पनि हुनसक्छ भनिएको छ। यहाँ चन्द्रावतीको ३ महिनामै सरुवा भएको हो।

पोखरा महानगरले भने वाग्लेप्रति कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने प्रस्ट पारेको छ। महानगरतर्फबाट प्रवक्ता मोतीलाल तिम्सिनाले विज्ञप्ति जारी गर्दै कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार तथा टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो।

‘आव २०८१/०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले महानगरमा कार्यरत ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको छ। कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया हो। कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार तथा टीकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा छ, ‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसंगीतप्रति लक्षित नभएको स्पष्ट पार्दै यसप्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीको पोखरा महानगरपालिका खण्डन गर्दछ।’

साथै आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरूमाथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने स्पष्ट पार्दै सरुवाको वास्तविकतालाई हृदयंगम गरी इन्टरनेटमा अपलोड सामग्रीको भ्युज बढाउने मनसायले गरिएका यसप्रकारका भ्रामक प्रचार तथा टीकाटिप्पणीको पछाडि नलाग्न अनुरोधसमेत गरिएको छ।

चन्द्रावती २०२८ सालमा कास्कीकै मादी गाउँपालिका, मिजुरेमा जन्मिएकी कलाकार हुन्। उनको तनहुँ म्याग्देका हरिषचन्द्र वाग्लेसँग विवाह भएकोमा पछि पतिवियोग सहनुपरेको थियो। उनी पोखरा महानगरमा सानो तहको पदबाट प्रवेश गरी सातौं तहसम्म पुग्न सफल कर्मचारी हुन्। उनको पतिको स्मृतिमा काव्य लेख्नुका साथै उनको नाम जीवन्त राख्न महिला पत्रकारलाई दिने गरी पत्रकारिता पुरस्कारसमेत समेत स्थापना गरेकी छन्।

उनको ‘आइन छोरी भनेर’, ‘माइती देशै झलल’, ‘माइतको झल्को’, ‘नरोए आमा’, ‘देशभक्ति’, ‘दर्जा बेरोजगारको’, ‘जड्याँहा पोई’, ‘गरिन् गुनासो’, ‘के छैन र हाम्रो नेपालमा’ लगायतका तीजगीत दर्शकस्रोतासमक्ष आइसकेका छन्। गायन एवं लेखनमा समेत उस्तै सक्रिय उनी पोखराका विभिन्न साहित्यिक कार्यक्रममा बरोबर उपस्थिति हुने पात्र हुन्। कविता र काव्य लेखनमा उनको क्रियाशीलता छ।

यस्तो छ उनको गीत 

प्रकाशित: ४ भदौ २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =