बिक्न छाड्यो प्रचण्डको बोली

किरण पौडेल ४ भदौ २०८१ ९:१०
104
SHARES
बिक्न छाड्यो प्रचण्डको बोली

काठमाडौँ– सरकारमाथि खबरदारी गर्नुपर्ने बेलामा प्रतिपक्षी दलका नेता एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक दबाब झेलिरहेका छन्। पार्टी समिति बैठकमा उठेका अनेक प्रश्नको सामना गर्नुपरेपछि उनको ध्यान सदनतर्फ नगएको हो। यद्यपि संगठनात्मक गतिविधिलगायतका विषय सम्बोधनका लागि आश्वासन दिइरहेका प्रचण्डको प्रयास निरर्थक बनेको माओवादी नेताहरू बताउँछन्।

माओवादीभित्र कुनै बेला प्रचण्डले जे चाह्यो, त्यही हुन्थ्यो। प्रचण्डले चाहना माओवादीको निर्णय बन्थ्यो। दोस्रो स्तरका नेताले औँला उठाएपछि उनी अप्ठ्यारोमा परेका हुन्। प्रचण्डले विकल्प दिनुपर्ने लिखित प्रस्ताव आएका छन्। यसैकारण प्रचण्ड कमजोर बनेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ।

१८ महिना सत्ता चलाउँदा प्रचण्डले चाहेजस्तै गठबन्धन बनेको थियो। प्रचण्डले कांग्रेससँग समीकरण बनाउँदा रामचन्द्र पौडेललाई राष्ट्रपति पद दिए। एमालेसँग सहकार्य गरेर देवराज घिमिरेलाई सभामुख बनाउन सहयोग गरे।

कहिले एमालेसँग त कहिले कांग्रेससँग गठबन्धन गरेर प्रचण्डले माओवादीलाई निर्णायक भूमिकामा उभ्याए। सत्तामा ‘प्रचण्ड’ले जुन दलसँग सहयात्रा गर्थे त्यही दललाई  फलिफा हुन्थ्यो। तेस्रो हैसियतको दल भए पनि ठूला दलले प्रचण्डमाथि ‘विश्वास दिन’ तँछाडमछाड गरेका थिए।

१८ महिनामा प्रचण्ड ३ पटक सत्ता समीकरण फेरे। त्यसबेला आफ्नो ‘बोली बिकाइरहेका’ प्रचण्ड अहिले बारम्बार चुकिरहेका छन्। एक महिनायता माओवादी प्रतिपक्षमा छ तर उसको प्रतिपक्षी भूमिका देखिएको छैन।

‘नेता सधैँ एकै किसिमको हुँदैन। प्रचण्डमाथि प्रश्न उठ्नुलाई स्वाभाविक मान्नुपर्छ,’ राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘माओवादीभित्र प्रचण्डको विकल्प खोज्नुको कारण उनी कमजोर बन्दै गए भन्ने हो।’

माओवादीभित्र प्रचण्डमाथि प्रश्न उठ्नुलाई आश्चर्य मानिन्छ। किनभने प्रचण्डमाथि जसले प्रश्न उठायो, त्यो नेता माओवादीमा रहेको इतिहास छैन। ‘इतिहास त्यस्तै थियो। अब पनि हेर्न बाँकी छ’, खनाल भन्छन्, ‘सत्तामा रहँदा यसबारे प्रश्न उठेका थिएनन्, सत्ता गुमेपछि प्रश्न उठे।’ यसअघि माओवादीकै सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता फेर्न प्रचण्डले निर्देशन दिए तर हालसम्म कार्यान्वयन भएको छैन। खगराज भट्टलाई हटाएर अर्को समूहले मानबहादुर धामीलाई नेता बनाएको थियो। एकाएक नेताबाट हटाइएपछि प्रचण्डले भट्टलाई नै नेता बनाउन निर्देशन दिएका थिए। तर हालसम्म कार्यान्वयन भएको छैन। यसैले पनि प्रचण्डको भूमिकामाथि प्रश्न उठेको छ।

सत्तामा रहँदा ‘उथलपुथल’ गर्ने, जादुको नम्बर भएको दाबी गर्ने प्रचण्ड माओवादीभित्रै प्रश्नको सामना गरिरहेका छन्। ‘प्रचण्डले सत्ताबाटै सबैथोक गर्छु भन्ने ठान्नु गलत भयो,’ अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘सत्ताले अलमलिएका कतिपय विषय पनि अहिले बाहिर निस्किएका हुन्।’

पार्टीभित्र मात्र होइन, बाहिर पनि प्रचण्डको भूमिका कमजोर छ। प्रचण्डको ‘मोर्चाबन्दी’ र ‘एकता’का प्रस्ताव पूरा हुन सकेका छैनन्। निकट दलहरूसँग गरेको प्रस्तावको पनि सकारात्मक जबाफ पाइरहेका छैनन्।

चलेन समाजवादी मोर्चा

सत्ता ढल्ने निश्चित बनेपछि प्रचण्डले समाजवादी मोर्चा ब्युँताउन लागेका थिए तर औपचारिकताबाहेक मोर्चामा अन्य केही हुन सकेन। एकतासम्मका कुरा उठाएर बनाइएको मोर्चाको बैठक अनिश्चित हुन थालेको छ। सोमबार मोर्चाको बैठक बसे पनि औपचारिकतामै सीमित रह्यो। अर्को बैठक बस्ने भनेर बैठक सकिएको थियो।

वैचारिक/सैद्धान्तिक ध्रवीकरण खोज्ने योजनाले बनाइएको भए पनि सत्ता टिकाउको आरोप मोर्चामाथि लाग्यो। निर्माणको एक वर्षमा पनि मोर्चाले तल्लो स्तरका समिति गठन गर्न सकेको छैन। प्रचण्डले चासो नदिँदा मोर्चाको बैठक बस्न नसकेको नेताहरू बताउँछन्। ‘प्रचण्डले निर्णायक संसदीय शक्ति निर्माणका लागि मोर्चा खोल्न खोजे तर सफल हुन सकेननन्,’ विश्लेषक षि कऋट्टेल भन्छन्, ‘अहिले मोर्चाको औचित्य सकिएको छ।’

२०८० असार ४ मा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टीबीच मोर्चा बनेको थियो। त्यति बेला मोर्चामा आबद्ध केही दलले अहिले मोर्चाको औचित्य देख्न छाडेका छन्।

एक वर्ष नपुगी बाहिरिएको जसपा नेपालका नेता पूर्ण बस्नेत भन्छन्, ‘जसपा नेपाल समाजवादी मोर्चामा सहभागी हुने कुनै सम्भावना छैन । मोर्चा यो अवस्थामा प्रचण्डकै कारण पुगेको हो।’ सत्ताबाट बाहिरिने निश्चित बनेपछि प्रचण्डले मोर्चा जगाउने प्रयत्न नगरेका होइनन्। अहिले मोर्चामा नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्रराय यादव समूह आबद्ध छ। प्रचण्डले मोर्चालाई सक्रिय बनाउन नेत्रविक्रम चन्द ‘विप्लव’लाई संयोजक तोकेका छन्। मोर्चाको कार्यनीति बन्ने चरणमा रहेको नेताहरू बताउँछन्। यद्यपि बैठकको टुंगो नलागेको छैन।

पार्टी एकता ‘अस्वीकार्य’

सत्ताबाट झरेपछि प्रचण्डले साना दलसँग एकताको प्रस्ताव राखेका थिए। एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने प्रचण्डको प्रस्ताव थियो।

‘प्रस्ताव आएको हो तर तत्काल सम्भव छैन भन्ने कुरा गरियो’, समाजवादीका नेता जगन्नाथ खतिवडा भन्छन्, ‘हामी महाधिवेशनबाट भर्खर आएका छौँ। पार्टीलाई पूर्णता नदिई एकता गर्न असम्भव छ।’ विप्लव नेकपा र यादव नेसपा पनि तत्काल एकता हुने पक्षमा छैनन्।

आफूमाथि प्रश्न उठेपछि प्रचण्डले एकताका लागि प्रस्ताव गरेको नेताहरू सुनाउँछन्। अन्य दल तयार नहुँदा एकता हुनै सकेन। ‘माओवादीभित्रकै कलहले एकता धकेलिएको छ। सबै कुरा मिल्न बाँकी छ’, नेसपा नेता गंगानारायण श्रेष्ठ भन्छन्।

समाजवादीका अध्यक्ष नेपाल पनि हतारमा एकता गर्नै नहुने पक्षमा छन्। ‘हामीले हतारमा एकता गरे हिजोको नेकपाको हविगत हुन्छ,’ समाजवादीका एक नेता भन्छन्, ‘यसैले हामीले आन्तरिक रूपमा तयारी नगरी एकता हुनै सक्दैन।’ यता विप्लव पनि एकता हुनुपर्ने पक्षमा रहे पनि हतारिन नहुने पक्षमा छन्। उनी हतार गरेको खण्डमा फेरि समस्या हुने बताइरहेका छन्।

नेसपाको यादव पक्षसँग पनि एकताको कुरा उठेको छ। यसका लागि दुवै दलको कार्यदल बनेको छ। तर तत्काल एकता भइहाल्ने अवस्था छैन। माओवादीभित्रका दोस्रो स्तरका नेताहरू बाधक बनेकाले नेसपासँग एकता तत्काल नहुने नेताहरूको भनाइ छ। प्रचण्डले यादव पक्षलाई ग्रिन सिग्नल दिए पनि पदीय व्यवस्थापनमा सकस भएको उनीहरूको भनाइ छ। यदि अहिले प्रचण्डले एकता चाहे पनि तत्काल भइहाल्ने स्थिति छैन।

विपक्षीबीच छैन एकता

यसअघि एमाले-माओवादी गठबन्धन बन्दा तत्कालीन प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दलसँग संयुक्त छलफल गर्ने गरेका थिए। राष्ट्रिय एवं महत्त्वपूर्ण विषयमा प्रतिपक्षीबीचको आवाज एक बनाउन देउवाको प्रयास हुन्थ्यो।

अहिले माओवादी प्रतिपक्षमा पुगेको छ। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड हुन्। उनी सबै विपक्षी दललाई समेट्ने प्रयत्नमा छैनन्। माओवादीले विपक्षीबीच तालमेल गरेर अघि बढ्ने बताएको थियो। ‘हामी संसद्मा कम संख्या छौँ। तर सबैसँग तालमेल गरेर सरकारविरुद्ध खबरदारी गर्छौँ,’ सत्ताबाट बाहिरिने बित्तिकै माओवादी प्रवक्ता अग्नि सापकोटाले भनेका थिए। माओवादी आन्तरिक कलहमा रहँदा कुनै दलसँग तालमेलको कुरा उठाउन सकेको छैन। समयक्रममा एजेन्डाका आधारमा एकठाउँमा उभिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ।

‘हामी प्रतिपक्षमा छौँ। तर सबै प्रतिपक्षीसँग मिलिरहन्छौँ भन्ने होइन,’श्रेष्ठ भन्छन्,’एजेन्डा मिले प्रचण्डसँग मोर्चा बनाउँछौँ नभए सत्तारुढसँग पनि एजेन्डामा मिल्न सक्छौँ।’ तर प्रचण्डले अहिलेसम्म विपक्षीहरूलाई डाँकेर बैठक बोलाएका छैनन्। सार्वजनिक रूपमा सरकार प्रतिगामी भएको प्रचण्डले आरोप लगाउने गरे पनि उनी यसप्रति क्रियाशिल छैनन्। आफ्नै पार्टीको कारण प्रचण्ड बाहिरी दलसँग मिल्न नसकेको नेताहरू बताउँछन्।

अपत्यारिला प्रचण्ड

प्रतिपक्षमा पुगेपछि प्रचण्ड आलोचनाबाट बच्न पार्टीको समीक्षा गर्ने र रणनीति बनाउन लागेको नेताहरू बताउँछन्। सत्तामा रहँदासम्म माओवादीमा औपचारिकताका लागि बस्ने बैठक निरन्तर बसिरहे। तर पनि प्रचण्डमाथि प्रश्न उठ्न छाडेका छैनन्।

प्रचण्ड अहिले निरन्तरजसो बैठकमा छन्। पार्टीको पदाधिकारी र स्थायी समिति बैठक सकियो। अब तत्काल प्रदेश र केन्द्रीय समिति बैठक बस्दैछ। प्रचण्डले असार १८ मा पदाधिकारी बैठक बोलाएका थिए। त्यसको अघिल्लो रात नेकपा एमाले–नेपाली कांग्रेसबीच नयाँ समीकरण बनेपछि परामर्शका लागि बैठक बोलाएका थिए। साउन १७ मा फेरि पदाधिकारी बैठक बसेको थियो। ५ दिनसम्म बसेको पदाधिकारी बैठकमा दोस्रो स्तरका नेताले मनग्गे बोल्न पाएका थिए।

यसअघि केन्द्रीय कमिटी बैठक २/३ दिनमा सकिनेमा यसपटक पदाधिकारी ५ दिनसम्म चल्नु अनौठो थियो। यसलगत्तै स्थायी समिति बैठक समेत बसिसकेको छ। ‘हाम्रो पार्टी अहिले सक्रिय बनेको छ। निरन्तर पार्टी बैठक चलिरहेको छ,’ प्रवक्ता सापकोटा भन्छन्, ‘एजेन्डा तय गरेर बैठक बसिरहेको छ।’

सत्तामा नजाने बाचा

नौ वर्षसम्म सत्तामा रहेका प्रचण्ड यसपठक तत्काल सत्तामा नजाने बताइरहेका छन्। ‘अब म पार्टी बनाउन लाग्छु। सरकारमा जाने हतार गर्दिनँ,’ अघिल्लो साता विराटनगर पुगेर प्रचण्डले भनेका थिए, ‘हामी पहिलो शक्ति बनाउने गरी लाग्नुपर्नेछ।’ सत्ताबाट बाहिरिएपछि दोस्रो स्तरका नेताले प्रचण्डमाथि प्रश्न उठाइरहेका छन्। यसै कारण पनि प्रचण्ड दोस्रो स्तरका नेतालाई आश्वस्त पार्न लागिरहेका छन्।

स्थानीयदेखि प्रदेश र संघीय चुनावमा समेत गठबन्धन खोज्ने माओवादी अब भने एक्लै लड्ने पक्षमा छ। प्रचण्डले आउँदो चुनावमा गठबन्धन नगर्ने बताइसकेका छन्। ‘प्रचण्ड सेन्टिमेन्टमा खेल्न चाहन्छन्। यो उनको प्रयत्नमात्र हो,’ विश्लेषक खनाल भन्छन्, ‘सत्तामा जानकै लागि साना दलसँग एकता गर्न प्रचण्ड लागिरहेका छन्।’

खुला राजनीतिमा आएपछि माओवादीले दुईवटा चुनाव एक्लै लड्यो। संसदीय चुनाव भाग लिँदाको पहिलो संविधानसभाको चुनावमा माओवादी पहिलो शक्ति भएको थियो। दोस्रो संविधानसभाको चुनावमा माओवादी तेस्रो शक्तिमा खुम्चियो।

त्यसयता माओवादी कुनै न कुनै दलसँग गठबन्धन गरेर चुनाव लड्दैछ। पछिल्लो समय माओवादी गठबन्धन गर्दा समेत कमजोर मत ल्यायो। माओवादीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ सिटमा मात्रै सफलता हात पारेको थियो।

प्रकाशित: ४ भदौ २०८१ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =