सामुदायिक शिक्षामा काठमाडौँ महानगरले देखाएको आशा

रमेश दवाडी ४ भदौ २०८१ १७:४३
3.1k
SHARES
सामुदायिक शिक्षामा काठमाडौँ महानगरले देखाएको आशा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकले विगत केही वर्षयता विद्यालयले थप शैक्षिक उपलब्धि हासिल गर्दै आएको प्रतिक्रिया दिएका छन्। उनीहरूले विद्यार्थीको सिकाइस्तरसहित अन्य सीप पनि विकास हुँदै गएको बताए।

महानगरका अधिकारीहरू शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारिँदै गएको बताउँछन्। सातामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको महानगरको शिक्षा विभागका अधिकृत इन्द्रप्रसाद दाहालले बताए।

विद्यालय शिक्षाको खस्कँदो नतिजाले शिक्षा क्षेत्रमा निराशा उत्पन्न भइरहेका बेला काठमाडौँ महानगरको पछिल्लो प्रयासले केही आस बढाएको प्रधानाध्यापकहरूको बुझाइ छ। पद्मोदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक नारायणप्रसाद गौतमले महानगरपालिकाले शिक्षा सुधारका लागि नयाँनयाँ योजना ल्याएर कार्यान्वयन गर्दा अभिभावक आकर्षित भएको बताए।

उनले भने, ‘काठमाडौँ महानगरपालिकाले शैक्षिक सुधारका नयाँनयाँ योजना ल्याएको छ। प्रविधियुक्त शिक्षा, पुस्तकरहित शुक्रबार, शिक्षामा सीपजस्ता कार्यक्रम सञ्चालन गरेपछि सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण बढेको छ।’ कार्यक्रम लागू भएपछि महानगरले हरेक वडाका विद्यालयमा अनुगमन गरेको छ। कतिपय विद्यालयमा मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल आफैँ पुग्छन्।

बालेनको यस्ता कार्यक्रमबाट प्रभावित छन् पशुपति मित्र माध्यमिक विद्यालय, चाबहिलका प्रधानाध्यापक चन्द्रकान्त पण्डित। किताबी ज्ञानले मात्र विद्यार्थीलाई समयोचित शिक्षा दिन नसक्ने बताउँदै प्रधानाध्यापक पण्डितले बालबालिकाको हातमा सीप भराउने उद्देश्यले महानगरले ल्याएका कार्यक्रम प्रभावकारी बनेको धारणा राखे।

‘शिक्षामा सुधार गर्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन शाहले शिक्षामा सीप, बुक फ्री फ्राइडेजस्ता कार्यक्रम ल्याउनुभयो। किताबमा भएका कुराले मात्र शिक्षामा काम गर्दैन, बालबालिकाको हातमा सीप भराउनुपर्छ भन्ने उहाँको कार्यक्रमको उद्देश्य हो, ‘प्रधानाध्यापक पण्डितले हिमालप्रेससँग भने, ‘हाम्रो विद्यालयमा पनि ६ वटा समूहले भर्खरै पूरा गरेका छन्। बुक फ्री फ्राइडेमा ८ समूहमा काम भइरहेको छ।’

ज्ञानोदय माध्यमिक विद्यालय, बाफलका प्रधानाध्यापक विष्णु घिमिरेचाहिँ काठमाडौँ महानगरका शैक्षिक सुधारका कार्यक्रम प्रभावकारी भए पनि आफ्नो विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा कार्यक्रम चलाउन समस्या भइरहेको बताउँछिन्। ‘महानगरपालिकाले शिक्षामा सीप र बुक फ्री फ्राइडे भनेर जुन कार्यक्रम चलाइरहेको छ, त्यसका लागि कक्षाकोठा पुर्‍याउन गाह्रो हुन्छ। फोकल शिक्षक पु¥याउन पनि गाह्रो हुन्छ,’ घिमिरे भनिन्।

रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका प्रधानाध्यापक रामाशिष यादवले पनि बालेन शाह नगर प्रमुख भएपछि शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको बताए। उनले भने, ‘बालेन शाह आएपछि काठमाडौँमा विद्यालय शिक्षामा उल्लेख्य सुधार भएको छ। बुक फ्री फ्राइडे, शिक्षामा सीप कार्यक्रम छ जसमा बालबालिकालाई पढ्दै, खेल्दै, कमाउँदै जाऊँ भन्ने छ। नतिजा सुधार गर्नका लागि महानगरले ल्याएको कार्यक्रम प्रभावकारी छ।’

आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि शैक्षिक खर्चस्वरूप महानगरले तीन सय रुपैयाँ दिने योजना ल्याएको छ। प्रधानाध्यापक यादव त्यसलाई बढाएर पाँच सय रुपैयाँ बनाउनुपर्ने बताउँछन्। सामुदायिक विद्यालयमा धेरै विद्यार्थी आर्थिक रूपमा कमजोर छन्। उनीहरूलाई विद्यालयमा शुल्क तिर्न पनि गाह्रो हुन्छ। ड्रेस, चप्पल हुँदैन। शैक्षिक सामग्री पनि नहुँदा समस्या हुने गरेको उनले बताए।

‘आर्थिक रूपमा कमजोर विद्यार्थीलाई तीन सय रुपैयाँ दिने कुरा महानगरले गरेको छ तर हामीले पाँच सय रुपैयाँ भनेका छौँ। पाँच सय रुपैयाँ महानगरले दिने हो र १२ महिना नै कोचिङ कक्षा चलाइदिने हो भने महानगरभित्र शतप्रतिशत नतिजा आउँछ’, उनले भने।

शिक्षा सुधारकै लागि काठमाडौँ महानगरपालिकाले भाडामा लगाइएका विद्यालयका सटर खाली गराएको छ। खाली ठाउँमा बालविकास कक्षा, ल्याब, शैक्षिक सामग्री भण्डारण, विद्यार्थीलाई खेल्ने ठाउँ बनाउने योजना रहेको अधिकृत दाहालले बताए। महानगरको उक्त कार्यको केही प्रधानाध्यापकले विरोध जनाएका थिए। सटरबापतको भाडा बराबरको रकम महानगरले उपलब्ध गराउने भएपछि अधिकांश प्रधानाध्यापकले सकारात्मक लिएका छन्।

निजीका शिक्षक पनि उत्साहित

संस्थागत विद्यालय शिक्षक युनियन, राष्ट्रिय समिति (ईस्टू) का कार्यवाहक महासचिव भूपाल उप्रेतीले पनि बालेन मेयर भएपछि निजी विद्यालयमा सुधार भएको बताए। निजी विद्यालयले विभिन्न शीर्षकमा अभिभावकसँग असुल्ने शुल्कमा कडाइ र छात्रवृत्तिमा हुने मनोमानीलाई महानगरले व्यवस्थित गराएको उनले बताए।

निजी विद्यालयका शिक्षक कर्मचारीलाई पनि सामुदायिक विद्यालयका सरह सेवासुविधा दिनुपर्छ भन्ने बालेनको कदम ठिक भएको उप्रेतीले बताए। ‘सामुदायिक विद्यालयका शिक्षक कर्मचारी सरह निजीका शिक्षक कर्मचारीलाई पनि सेवासुविधा दिन मेयससाबले निर्देशन दिनुभएको थियो। नदिए महानगरको शिक्षा विभागमा उजुरी दिन आह्वान गर्नुभएको थियो’, भूपाल भन्छन्, ‘मेयरबाटै यस्तो निर्देशन आउनुलाई हामीले सकारात्मक रूपमा लियौँ। तर महानगरबाट अनुगमन र फलोअप हुन सकेन।’

कार्यवाहक महासचिव उप्रेतीले विद्यालयको नाम विदेशी राख्ने विद्यालयलाई खबरदारी गर्दै नेपाली भाषामै राख्न दिर्नेशन दिनु पनि अर्को राम्रो काम भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =