सजिलो छैन भैरहवा र पोखराबाट वैदेशिक रोजगारीमा उड्न

रमेश भारती ४ भदौ २०८१ ७:१९
132
SHARES
सजिलो छैन भैरहवा र पोखराबाट वैदेशिक रोजगारीमा उड्न

काठमाडौँ– वैदेशिक रोजगारीमा कतार जाने कामदारले भिसा प्रक्रियाका लागि काठमाडौँको कतार भिसा सेन्टर काठमाडौँ आउनुपर्ने बाध्यता छ। मलेसिया जाने कामदारले पनि स्वास्थ्य परीक्षण, बायोमेट्रिक र अन्य प्रक्रियाका लागि काठमाडौँ आउनैपर्छ।

रोजगारीका लागि दक्षिण कोरिया र इजरायल जाने कामदारले स्वास्थ्य परीक्षण र सीप परीक्षाका लागि काठमाडौँको भैँसेपाटी तालिम केन्द्रमा नगई हुँदैन। अब यी सबै काम पोखरा र भैरहवाबाट हुने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका सबै सेवा भैरहवा र पोखराबाट दिने निर्णय गरेको हो।

मन्त्रालयले वैदेशिक रोजगारीका संयन्त्र सबै प्रदेशमा लैजान ऐन, नियम, कार्यविधि संशोधनका विषयमा छलफल अघि नबढाउँदा तत्काल निर्णय कार्यान्वयनमा समस्या हुने देखिएको छ। त्यही भएर यी देशमा जाने कामदारका हकमा भैरहवा र पोखरा विमानस्थलबाट उडान गर्न तत्काल सम्भव छैन। मन्त्रालयले कतारको भिसा सेन्टर पनि भैरहवा र पोखरामा स्थापना गर्न परराष्ट्र मन्त्रालयमार्फत ती देशलाई पत्राचार गरिएको जनाएको छ।

श्रम सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल पुनः श्रम स्वीकृतिको काम भइरहेको श्रम कार्यालयबाट सेवा सुरु गर्ने बताउँछन्। वैदेशिक रोजगारीमा जाने कामदारका हकमा आवश्यक पर्ने सबै संयन्त्र भैरहवा र पोखराबाट काम सुरु गर्ने निर्णय भएको छ। ‘वैदेशिक रोजगार विभागअन्तर्गत सातै प्रदेशमा वैदेशिक रोजगार कार्यालय स्थापना हुँदैछन्। यिनै कार्यालयबाट वैदेशिक रोजगारीमा जाने कामदारको सबै सेवा सञ्चालनमा आउँछ’, उनले भने।

वैदेशिक रोजगार विभागअन्तर्गत रहने गरी सातै प्रदेशमा वैदेशिक रोजगार कार्यालय स्थापना गरी कामदारलाई सबै सेवा दिने उनको भनाइ छ। श्रम मन्त्रालयले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० प्रतिशत कामदार वैदेशिक रोजगारीमा पठाउने तयारी गरिरहेको जनाएको छ।

असोजबाट सेवा सुरु गर्ने मन्त्रालयको तयारी

श्रम मन्त्रालय असोजदेखि श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, वैदेशिक रोजगार म्यादी बिमा, भिसा, चारित्रिक प्रमाणपत्रको काम भैरहवा र पोखराबाट सुरु गर्ने तयारीमा जुटेको छ। श्रममन्त्री शरतसिंह भण्डारी सरकारले वैदेशिक रोजगारीको श्रम स्वीकृतिलाई पूर्ण विकेन्द्रीकरण गर्दै यस क्षेत्रका सबै सेवा प्रदेश तहमा लैजान लागेको बताउँछन्। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि वैदेशिक रोजगारीलाई विकेन्द्रीकरण गर्न लागिएको बताए।

पोखरा र भैरहवाबाट सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, बिमा र श्रम स्वीकृतिका लागि काठमाडौँ आउनुपर्ने बाध्यता अन्त्य हुने दाबी मन्त्री भण्डारीको छ।

‘वैदेशिक रोजगारीमा जाने कामदारको सबै काम केही दिनभित्रमा भैरहवा र पोखराबाट सुरु हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ४८ लाख यात्रुलाई सेवा दिने क्षमता छ। भैरहवा र पोखरा विमानस्थलको योभन्दा बढी क्षमता छ’, उनले भने।

श्रम स्वीकृति अनलाइनबाटै हुन्छ। वैदेशिक रोजगारीमा जाने कामदारलाई सेवा दिँदै आएका सबै सस्थालाई भैरहवा र पोखरामा शाखा कार्यालय खोलेर काम सुरु गर्न आग्रह गरिएको मन्त्री भण्डारी बताउँछन्।

नीति र कार्यविधि बनाएर अघि बढ्न सुझाव

सरकारले सबै नीति र कार्यविधि बनाएर वैदेशिक रोजगारीका सेवा प्रदेशमा लैजानुपर्ने रोजगारविज्ञ जीवन बानिँया बताउँछन्। वैदेशिक रोजगारीका सेवा प्रदेशमा लैजानु राम्रो पक्ष हो। यसबाट भविष्यमा आउने समस्याबारे सरकारले बेलैमा सचेत हुनुपर्ने उनको सुझाव छ।

सबै प्रदेशबाट पुनः श्रम स्वीकृतिको काम श्रम कार्यालयले गरिरहेका छन्। २०७६ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, चारित्रिक प्रमाणपत्र र म्यादी बिमाको काम सबै प्रदेशबाट सुरु गर्ने तयारी श्रम मन्त्रालयले थालेको थियो।

वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी, रोजगारीका नाममा भइरहेको मानव तस्करी, घरेलु रोजगारीमा महिला कामदारको तस्करी र अन्य समस्याका कारण वैदेशिक रोजगारीका सबै सेवा प्रदेशमा सुरु भएका थिएनन्।

सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गर्ने सबै सेवा प्रदेशबाटै गर्ने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले भैरहवा र पोखरा विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई करमा पनि छुटको घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =