प्रचण्डसँग किन नरम भए जनार्दन?

किरण पौडेल ३ भदौ २०८१ ८:२८
158
SHARES
प्रचण्डसँग किन नरम भए जनार्दन? माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्मा।

काठमाडौँ- सत्ताबाट बाहिरिएपछि आन्तरिक छलफलमा रहेको नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अनेक प्रश्न उठेका छन्। पार्टी संगठनविहीन बनेको, नेतृत्व गतिशील बन्न नसकेको, अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्नेजस्ता विषय बैठकमा उठेका थिए।

साउन ११ देखि पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा विशेष महाधिवेशन गर्नुपर्ने, दोस्रो स्तरका नेताले राजीनामा दिनुपर्ने आवाज उठेका थिए। लगत्तै बसेको स्थायी समिति बैठकमा त नेताहरू झनै आक्रामक बने।

बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रतिवेदन पेस गर्दै माओवादीमा प्रचण्डले विकल्प दिनुपर्नेसम्मका प्रस्ताव राखेका थिए। शर्माले आफूमाथि प्रचण्डले माओवादी विभाजन गर्न खोजेको आरोप लगाएको प्रतिवेदनमा उल्लेख गरेका थिए।

साउन २५ मा सुरु भएको केन्द्रीय समिति बैठकमा अन्य नेताले पनि प्रचण्डमाथि प्रश्न गरेका थिए। शर्माले लिखित प्रस्ताव राखेकाले सबैभन्दा बढी चर्चा उनकै भएको हो।

शर्मा-प्रचण्ड विमति शृंखला

माओवादी नेताहरूका अनुसार शर्मा र प्रचण्डबीच आठौँ महाधिवेशनबाट असमझदारी सुरु भएको हो। २०७८ पुसमा सम्पन्न आठौँ महाधिवेशनलाई ‘राष्ट्रिय सम्मेलन’ बनाउने तयारी थियो। अन्तिम समयमा प्रचण्डले ब्यानर परिवर्तन गरी ‘महाधिवेशन’ बनाए। शर्माले त्यो प्रसंग पनि प्रतिवेदनमा राखेका छन्। शर्माले आठौँ महाधिवेशन समापनपूर्व विशेष महाधिवेशन घोषणा गरेर महाधिवेशनको महत्त्वलाई हलभित्रै समाप्त पारेको आरोप लगाएका छन्।

माओवादी नेताहरूका अनुसार प्रचण्डले सम्मेलनमार्फत निर्वाचन प्रक्रिया पूरा गर्ने र अर्को महाधिवेशन गर्ने आश्वासन दिएका थिए। आठौँ महाधिवेशनपछि थप पाँच वर्ष महाधिवेशन नगर्ने नियत प्रचण्डको रहेको शर्माको बुझाइ थियो।

एकातिर राष्ट्रिय सम्मेलनलाई महाधिवेशन भन्नु र अर्कातिर महासचिव पद नपाउनुले शर्मा रुष्ट बनेका थिए। महाधिवेशनका बेला शर्मा महासचिवको एक्ला दाबेदार थिए। त्यसबेला महासचिवका अर्का आकांक्षी वर्षमान पुन उपचारका लागि चीनमा थिए। पुन चीनमा रहेका बेला महासचिव बन्ने दाउमा रहेका शर्माको आकांक्षा पूरा हुन नसकेको नेताहरू बताउँछन्।

माओवादी स्रोतका अनुसार प्रचण्डले शर्मालाई महासचिवका लागि वचन दिएकाले पनि उनी उत्साहित थिए। महाधिवेशनबाट तत्काल महासचिव तय भएन। नौ महिनापछि मात्र प्रचण्डले महासचिव टुंग्याए। महासचिव टुंग्याउने क्रममा प्रचण्डले शर्मा र पुनबाहेकका तेस्रो व्यक्ति छाने।

प्रचण्डले तेस्रो व्यक्ति देव गुरुङलाई महासचिव बनाउनुपूर्व ‘आपसी किचलो समाधान गर्ने’ प्रतिबद्धता जनाएका थिए। त्यसबेला पुन र शर्माले आफूहरूमध्ये एकजनालाई महासचिव बनाउन प्रस्तावसमेत गरेका थिए।

चाहेअनुसार नभएपछि पुनभन्दा शर्मा प्रचण्डसँग रुष्ट भए। यसअघिको एक पदाधिकारी बैठकमा समेत शर्माले पार्टी विधानविपरीत ‘फरक मत’ राखेका थिए। रोचक कुरा के छ भने जुन विधानको मस्यौदा बनाउन शर्मा कार्यदलका सदस्य बने त्यो पेस गर्दा उनले फरक दस्तावेज पनि बुझाए। यसैकारण माओवादीभित्र शर्मा असन्तुष्ट रहेको नेताहरू सुनाउँछन्। पार्टी बैठकमा समेत शर्मा पछाडिको लहरमा बस्ने गरेका थिए।

शर्मासँग महासचिवमा दाबी गर्ने पुन प्रचण्ड प्रधानमन्त्री बन्दा अवैतनिक प्रमुख सल्लाहकार बने। लगत्तै नयाँ समीकरण बन्दा पुन अर्थमन्त्री बने। शर्मा भने सांसद मात्र रहे। उनीनिकट नेता मानिने कर्णालीका राजकुमार शर्माले मुख्यमन्त्री पद गुमाउनुपर्‍यो।

राजकुमार जनार्दनका नाताले भाइ (फुपूका छोरा) पर्छन्। राजकुमारको सत्ता जोगाउन शर्मा आफँै लागेका थिए तर प्रचण्डले बलजफ्ती राजीनामा गराए। उता सुदूरपश्चिमका खगराज भट्टलाई प्रचण्ड निकट मानिने सांसदहरूले संसदीय दलको नेताबाट हटाएका थिए। मुख्यमन्त्रीको आसमा प्रदेश झरेका खगराज दलको नेताबाटै विमुख हुँदा पार्टीमै निष्क्रिय बनेका छन्। खगराज शर्मा निकट नेता हुन्।

यी सबै घटनाक्रमपछि प्रचण्डले शर्माविरुद्ध अभिव्यक्ति दिन थालेको नेताहरू बताउँछन्। प्रचण्डले शर्मामाथि माओवादी विभाजन गर्न लागेको आरोप लगाए। शर्माले भने त्यसको प्रतिवाद गर्दै आएका छन्। माओवादीको रुकुम-काठमाडौँ समितिको भेलामा शर्माले आफू देउवा र ओलीको प्रिय भएको तर प्रचण्डको हुन नसकेको बताएका थिए।

माओवादी नेताहरूका अनुसार शर्माले अध्यक्षविरुद्ध प्रस्ताव लाने उपयुक्त समय यही स्थायी समिति बैठक ठाने। ‘पदाधिकारी बैठकमा राख्दा सानो छ। छलफल हुँदैन,’ शर्मा निकट एक नेता भन्छन्, ‘स्थायी समितिमा राखेको खण्डमा धेरैजनामा पुर्‍याउन सकिन्छ। यसैले यही राखिएको हो।’

माओवादीको केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डा पनि स्थायी समितिमा राख्नुपर्ने विधानमा व्यवस्था छ। केन्द्रीय समिति छलफल गराउन शर्माले स्थायी समितिमै प्रतिवेदन पेस गरिदिए।

कसरी मिल्यो त कुरा?

शर्मा-प्रचण्डबीच स्थायी समिति बैठकमा त्यति भनाभन नभएको नेताहरूको भनाइ छ। ‘हामी सबैले बैठकमा बोल्यौँ। नेतृत्वलाई ध्यानाकर्षण गरायौँ’, उपमहासचिव गिरिराजमणि पोखरेल भन्छन्, ‘जनार्दनजीले लिखित प्रस्ताव राखेकाले ठूलो बनाइयो।’ शर्माको प्रस्तावमा प्रचण्ड लचक देखिएका थिए।

बैठकमा प्रचण्डले जनार्दनले पार्टी फुटाउन लागे भनेर आफूले कतै नभनेको स्पष्टीकरण दिएका थिए। शनिबारको रुकुम-काठमाडौँको कार्यक्रममा समेत प्रचण्डले सोही कुरा राखेका थिए, ‘मैले हाम्रै साथीबाट प्रभाकर (जनार्दन) जीले पार्टी फुटाउँछन् भन्ने विषयमा सुनेको हुँ। तर प्रचार गरिनँ,’ प्रचण्डले भनेका थिए।

शर्माको प्रतिवेदनलाई पनि आफ्नै प्रतिवेदनको अंशका रूपमा केन्द्रीय समितिमा प्रस्तुत गर्ने प्रचण्डले वचन दिएका थिए। ‘बैठकमा त खास कुरा आएन। तर पार्टी बनाउनुपर्छ भन्ने विषयमा जनार्दनजीको जोड भएको बुझाइमा अध्यक्षज्यूले सोही प्रतिवेदन आफ्नै मान्ने भन्ने कुरा आएको छ,’ एक पदाधिकारी भन्छन्, ‘अध्यक्षज्यूले स्वामित्व लिने भएपछि जनार्दनजी मत्थर भएको अनुमान छ।’

शर्माले पनि आफूले प्रचण्डको विकल्प नखोजेको बताएका थिए। ‘उहाँले प्रतिवेदनमा प्रचण्डको विकल्प खोज्ने बताए पनि आफूले त्यस्तो नचाहेको बताउनुभयो’, ती पदाधिकारीले भने।

रुकुम-काठमाडौँ भेलामा समेत शर्माले आफूले प्रचण्डको विकल्प नखोजेको र प्रचण्डको ‘सिद्धान्त जगाउने’ काम गर्न लागेको बताएका थिए। ‘हामीले प्रचण्डलाई नेतृत्व नदिने होइन दिने हो। प्रचण्ड २०० वर्ष बाँच्नुपर्छ भन्ने म ठान्छु,’ शर्माले भनेका थिए, ‘तर नेतृत्वमा बस्दा भन्दा प्रचण्डको सिद्धान्त लागू हुनुपर्छ भन्नेमा मेरो जोड हो।’

भेलामा शर्माले आफू सत्तामा रहे पनि जनतामाझ गइरहेको बताएका थिए। उनले घुमाउरो शैलीमा प्रचण्ड भने सत्तामै रहिरहेको आरोप लगाएका थिए। साथै उनले गएको आमनिर्वाचनमा आफूले प्रचण्डलाई रुकुमबाट चुनाव लड्न प्रस्ताव गरेको समेत बताएका थिए।

‘रुकुम मेरो मात्र होइन, अरूको पनि हो। त्यसका लागि मैले नै मेरो क्षेत्रबाट अध्यक्षले चुनाव लड्नुपर्छ भनेको थिएँ,’ शर्माले भनेका थिए, ‘किनकि, त्यो मेरो मात्र क्षेत्र थिएन।’ माओवादीका एक पदाधिकारी अनुसार शर्मालाई शान्त बनाउन प्रचण्डले छानबिन गर्न कार्यदल बनाउने आश्वासन दिएका थिए।

‘मैले सुनेअनुसार तपाईँमाथि मैले भ्रम फैलाएको छैन। कसैले फैलाएछ भने म छानबिन समिति बनाइदिन्छु भन्नुभएको छ,’ प्रचण्ड र शर्माको संवाद उधृत गर्दै ती पदाधिकारीले भने, ‘यही कारण जनार्दनजीले प्रचण्डलाई मान्न तयार हुनुभयो।’ स्थायी समिति बैठकले पनि अहिल्यै प्रचण्डको विकल्प नखोज्ने निर्णय गरेको थियो। जसमा शर्माले पनि हस्ताक्षर गरेका थिए।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकपछि ‘विशेष महाधिवेशन’ तोक्ने तयारी गरेको छ। दसैँ लगत्तै ‘विशेष महाधिवेशन’ बोलाउने प्रचण्डले तयारी गरेका हुन्। आठौँ महाधिवेशनदेखि नै बारम्बार प्रचण्डले ‘विशेष महाधिवेशन’ को चर्चा चलाएका थिए। तर ढिलासुस्ती गर्दा शर्मा आक्रामक बनेका थिए। अब भने प्रचण्डले वचन दिएकाले शर्मा पछि हटेको नेताहरू सुनाउँछन्।

यसकारण अप्ठ्यारोमा परे शर्मा

प्रचण्डविरुद्ध बारम्बार असन्तुष्टि गर्ने नेताहरू पनि माओवादीमा छन्। ती हुन्, नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादवलगायत। यसपटकको बैठकमा ती नेताहरू मौन थिए। यतिसम्म कि बैठकको सुरुवातमा वर्षमान पुनकै परिवारबाट समेत प्रचण्डमाथि असन्तुष्टि व्यक्त भएका थिए।

पुन पत्नी ओनसरी घर्ती मगरले प्रचण्डमाथि अविश्वास लागेको बताएकी थिइन्। तर प्रचण्डका आलोचक मानिने नेता मौन रहे। श्रेष्ठ, गजुरेल, यादवलगायतका नेताहरूले गएको पदाधिकारी बैठकमा प्रचण्डको आलोचना गरेका थिए। श्रेष्ठले नेतृत्व छाड्नुपर्ने कुरा उठाएका थिए भने गजुरेलले पार्टी विधानविपरीत चलेको आरोप लगाएका थिए। स्थायी समितिबाट शर्मा बोलेपछि अन्य नेता मौन थिए।

‘जनार्दनजीले अन्य नेताको सहयोग पाउनै सक्नुभएन,’ एक पदाधिकारी भन्छन्, ‘त्यही कारण जनार्दनजीले पछि हट्नुपर्ने भएको हो।’ महासचिव देव गुरुङले भने शर्माको प्रतिवेदनको खण्डन गरेका थिए। सत्ताबाट हटेपछि अध्यक्षमाथि आरोप लगाउन नहुने तर्क गुरुङको थियो। गुरुङ मोहन वैद्य समूहबाट आएका हुन्।

एक नेताका अनुसार त यसपटक गजुरेल पनि प्रचण्डकै पक्षमा उभिएका थिए। उनले पार्टीमा विधान पालना नभएको तर सबैले कमजोरी गरेको स्वीकारेका थिए। यस क्रममा प्रचण्डले निरन्तर अन्य बैठक डाकेपछि विवाद कम हुँदै गएको थियो। माओवादीले भदौभरि प्रदेशस्तरीय केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ। जहाँ बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्म अनिवार्य उपस्थित हुने भनिएको छ।

भदौ ५-६ बागमती, भदौ ७-८ विशेष र सम्पर्क समन्वय, भदौ ९-१० गण्डकी, भदौ १२-१३ सुदूरपश्चिम प्रदेशस्तरीय बैठक बस्ने निर्णय गरिएको छ। भदौ १४-१५ कर्णाली, भदौ १६-१७ लुम्बिनी प्रदेश, भदौ १८ गते तीनवटा केन्द्रीय आयोग, भदौ २२-२३ मधेश, भदौ २४-२५ कोशी प्रदेश तथा सल्लाहकार, भदौ २७-२८ जबस, मोर्चा र भदौ २९-३० ज्येष्ठ कम्युनिस्ट मञ्च र आयोगको परामर्श बैठक बस्नेछ।

त्यसपछि असोज पहिलो साता केन्द्रीय कमिटीको बैठक राखेर पार्टी निर्माणका लागि जनतामा फर्किने माओवादीको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =