पोखरा र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनको बाटो खुल्यो

हिमाल प्रेस २ भदौ २०८१ १६:०९
18
SHARES
पोखरा र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनको बाटो खुल्यो

काठमाडौँ- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चिकित्सा शिक्षा अध्ययनअन्तर्गत एमबीबीएस अध्ययन सुरु गर्न स्रोत सुनिश्चित भएको छ। नेपाल सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्राेत सुनिश्चिता गरेको हो। अर्थले यससम्बन्धी पत्र स्वास्थ्य मन्त्रालयलाई पठाएको छ।

गत साउन २७ मा आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए। मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप स्राेत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन। मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो। दुवै प्रतिष्ठानले ५ वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए। तर मन्त्रालयगत बजेट नै नआउँदा अघि बढ्न नसकेको कार्यक्रम यसपाली अघि बढेको हो।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ। जसमा ७५ प्रतिशत विद्यार्थीले सरकारी छात्रवृत्ति प्राप्त गर्नेछन्। सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ। यसले विपन्न, जेहेन्दार तथा आरक्षण प्राप्त विद्यार्थीले छात्रृत्तिमा एमबीबीएस अध्ययन गर्न बजेट सुनिश्चित गरेको छ।

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ। यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ।

प्रकाशित: २ भदौ २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast