कोशी कहरको १६ वर्ष : तङ्ग्रिँदै छन् पीडित

अजितकुमार झा / रासस २ भदौ २०८१ १५:३५
14
SHARES
कोशी कहरको १६ वर्ष : तङ्ग्रिँदै छन् पीडित

इनरुवा (सुनसरी)- सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आइतबार १६ वर्ष पूरा भएको छ। बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन्।

घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किंदै छन्। २०६५ भदौ २ मा कोशी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्ण रुपमा तथा लौकही गाविस आंशिक रुपमा डुबान भएका थिए। यो दिनलाई कोशीपीडितले कालो दिनका रुपमा लिन्छन्।

साबिक पश्चिम कुशाहा गाविस-४ स्थित कोशी नदीको पूर्वी तटबन्धको स्पर नं १२.१० तथा स्पर नं १२.९० को बीचमा पानीको धक्काले तटबन्ध फुटेपछि बाढी गाउँमा पसेको थियो। कोशीको भङ्गालो गाउँमा पस्दा सात हजार पाँच सय ६३ घरधुरीका ४२ हजार सात सय ६५ स्थानीय विस्थापित भएका थिए।

पीडितलाई राहत, क्षतिपूर्ति तथा पुनः स्थापनाका माग राखेर पीडितले २०६५ भदौ २७ मा आन्दोलनको घोषणा गरेका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्दै कोशीपीडित क्षेत्रको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार २०६५ फागुन २२ मा मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्यीय कोशी बाढीपीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन भएको थियो।

सो कार्यदलले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १६ वर्ष बितिसकेको छ। तर, अझै उक्त प्रतिवेदन पूर्ण रुपमा कार्यान्वन नगरिएको पीडित बताउँछन्। कार्यदलको प्रतिवेदनमा पीडितको वर्गीकरण गरिएको थियो। रातो क्षेत्रमा पर्ने पीडित परिवारमध्येबाट जग्गा सुधारका लागि ट्र्याक्टर खरिद गर्न चाहनेलाई शून्य प्रतिशतमा कर्जा उपलब्ध गराउने, विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट बाँध फुट्नु अघि पीडितले लिएको सम्पूर्ण ऋण मिनाहा गर्ने, पीडित परिवारलाई नेपालभर निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था तीन वर्षका लागि उपलब्ध गराउनेलगायत उल्लेख थियो।

कार्यदलले वैदेशिक तथा स्वदेशी रोजगारीमा बाढीपीडित परिवारका बेरोजगार युवायुवतीलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीमा सरकारी कोटा उपलब्ध गराई निःशुल्क राहदानी दिनेलगायत थुप्रै सुझाव प्रतिवदेनमार्फत सरकारलाई दिएको थियो तर ती प्रतिवेदनमा उल्लेख गरिएका सुझावमध्ये आंशिक मात्रै कार्यान्वयन भए।

नियमित उब्जाउ हुने खेतमा बालुवा भरिएपछि अझै अधिकांश कृषकले पूर्ण रुपमा खेतीपाती गर्न नपाएको कोशीपीडित सङ्घर्ष समितिका पूर्वअध्यक्ष पञ्चनरायाण मण्डलले बताए। घटनाको एक वर्षपछि पुनःस्थापित भए पनि पूर्ववत् अवस्थामा बालीनाली लगाउन नसक्दा जीविका चलाउनै कठिन भएको स्थानीय विन्देश्वर मेहताले बताए।

पीडितले अझै राहतको महसुस गर्न नसकेको स्थानीय अमरेन्द्र झाले बताए। १६ वर्ष बित्दा पनि विस्थापित र पुनःस्थापित हुँदाको अवस्थामा उल्लेख्य रुपमा सुधार हुन सकेको छैन। सरकारले कोशीपीडितका लागि यस अवधिमा दुई अर्बभन्दा बढी खर्च गरेको छ। तर खर्चको प्रभावकारी अनुगमन नगरिएको पीडितको गुनासो छ।

कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनःस्थापना, पुनर्वास, राहतलगायतको शीर्षकमा सरकारले सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। केही कोशीपीडित करोडपति बनेका छन् भने कोही अझै राहतको पर्खाइमा छन्। कतिपयले विराटनगर, इटहरी, इनरुवा र शहरी क्षेत्रमा घरजग्गा जोडेका छन्। कतिपय एक छाक टार्नै समस्यामा छन्। केहीले पढाउन नसकेर १४ देखि २० वर्षमुनिका छोराछोरीलाई राजधानी काठमाडौं तथा भारतीय शहरमा कमाउन रोजगारीका लागि पठाएको स्थानीय अशोक मेहताले बताए।

विस्थापितमध्ये एक हजार चार सय २२ परिवार सुकुम्बासी थिए। उक्त सुकुम्बासीमध्येका दुई सय ३५ सुकुम्बासी परिवारले मात्रै प्रतिपरिवार दुई कट्ठा जग्गा र घर पाएका छन्। उक्त बाढीले ४१ जनाको ज्यान गएको थियो।

प्रकाशित: २ भदौ २०८१ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =