पर्सामा ग्रामीण क्षेत्रबाट लागुऔषधको ओसारपसार

हिमाल प्रेस २ भदौ २०८१ १५:०६
6
SHARES
पर्सामा ग्रामीण क्षेत्रबाट लागुऔषधको ओसारपसार

वीरगञ्ज – पर्साको ग्रामीण भेगबाट ठूलो परिणामको लागुऔषध ओसारपसार हुने गरेको फेला परेको छ। पर्सा प्रहरीले पछिल्ला दिनमा ठूलो परिमाणको लागुऔषध गाँजा र चरेससहित कारोबारी पक्राउ गरेसँगै यो खुलासा भएको हो।

जिल्ला प्रहरी कार्यालयले गत साउन ३१ गते चार सय ८९ किलोग्राम लागुऔषध चरेससहित कालिकामाई गाउँपालिका–१ मुडली बस्ने फुलसरिफ मियाँलाई पक्राउ गरेको हो। प्रहरीले मियाँले बाँसघारीमा खाल्डो खनेर लुकाइराखेको एक सय ९२ किलोग्राम चरेस, दुई सय ६७ किलोग्राम लागुऔषध गाँजाको धुलो (पोलान्ड) र ३० किलोग्राम गाँजा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख कुमोध ढुङ्गेलले विशेष सूचनाका आधारमा पर्साको ग्रामीण क्षेत्रबाट ठूलो परिमाणको लागुऔषध चरेस र गाँजासहित पक्राउ गर्दै आइरहेको बताए। ‘हामीले पर्साका ग्रामीण क्षेत्रमा लागुऔषधको तस्करी हुने सम्भावित क्षेत्रमा उच्च निगरानी गर्दै आइरहेकाले पनि ठूलो परिमाणको लागुऔषध पक्राउ गर्न सफल भएका हौँ,’ उनले भने।

प्रहरीले साउन १७ गते पनि ५० किलोग्राम गाँजासहित ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौंलाई पक्राउ गरेको थियो। गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा सो गाँजा भेटिएको थियो।

प्रहरीका अनुसार आव २०८०/८१ म लागुऔषध सम्बन्धित दुई सय चार मुद्दा दर्ता भएका थिए। त्यस्तै, आव २०७९/८० मा तीन सय दुई र आव २०७८/७९ मा भने दुई सय ३७ लागुऔषधका मुद्दा दर्ता भएका थिए।

प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा हालसम्म चार सय १० किलोग्राम गाँजा बराबद गरेको थियाे। त्यस्तै, आव २०७९/८० मा भने एक हजार एक सय ६५ किलोग्राम र आव २०७८/७९ मा पनि एक हजार तीन सय ५० किलोग्राम लागुऔषध बरामद गरेको थियो। चरेस पनि आव २०७८/७९ देखि २०८०/८१ सम्मको अवधिमा क्रमशः २३, एक सय ४३ र ९१ किलोग्राम बरामद गरेको थियो।

प्रकाशित: २ भदौ २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast