को बन्ला लगानी बोर्डको सीईओ?

हिमाल प्रेस २ भदौ २०८१ १४:०४
44
SHARES
को बन्ला लगानी बोर्डको सीईओ?

काठमाडौँ – सरकारले खुला प्रतिस्पर्धाबाट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न आवेदन माग गरेपछि आकांक्षीहरूको दौडधुप सुरु भएको छ। साउन १९ मा लगानी बोर्डका तत्कालीन सीईओ सुशील भट्टको चारवर्षे कार्यकाल सकिएपछि सरकारले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि आह्वान गर्नुका साथै छनोटका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ।

पूर्वाधार र सेवा क्षेत्रमा ठूला (६ अर्ब रुपैयाँमाथि र ऊर्जा परियोजनामा २०० मेगावाटमाथि) परियोजना सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहेको बोर्डको सीईओ आकर्षक पद मानिन्छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक-निजी साझेदारीमा ठूला पूर्वाधार परियोजना निर्माणका लागि २०६८ सालमा लगानी बोर्ड गठन गरेका थिए। यसको पहिलो सीईओमा राधेश पन्त नियुक्त भएका थिए। उनले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना तथा माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता गराएका थिए।

भारत सरकार स्वामित्वको एसजेभीएन लिमिटेडले संखुवासभाको नुममा अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको छ। परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ। यसबाट नेपालले २१ प्रतिशत नि:शुल्क विद्युत् पाउँछ। भारतकै निजी क्षेत्रको कम्पनी ९०० मेगावाटको माथिल्लो कर्णाली परियोजना दिइएको भए पनि उसले वित्तीय स्रोत प्रबन्ध गर्न नसक्दा परियोजना निर्माण अघि बढ्न सकेको छैन। जीएमआरलाई स्रोतको प्रबन्ध गर्न दिइएको समय पनि समाप्त हुने क्रममा छ। अब नियुक्त हुने सीईओले सम्भवत: पहिलो बोर्ड बैठकबाट जीएमआरको लाइसेन्स खारेज गर्नुपर्नेछ।

लगानी बोर्डले पछिल्लो एक दशकमा तल्लो अरुण तलविद्युत् परियोजनाको मात्र परियोजना विकास सम्झौता गरेको छ। निजी लगानीमा निर्माण भएका होङ्सी र हुवासिन सिमेन्टबाहेक अन्य परियोजनामा लगानी सम्झौता हुन सकेको छैन। दुई ठूला सिमेन्ट उद्योग होङ्सी र हुवासिन सिमेन्टमा चिनियाँ लगानीकर्तासँग सम्झौता गर्दा हाल राष्ट्र बैंकका गभर्नर रहेका महाप्रसाद अधिकारी सीईओ थिए। उनले दक्षिण कोरियाली कम्पनी मोट्रेक्ससँग प्रारम्भिक लगानी सम्झौता पनि गरेका थिए, तर उक्त परियोजना कार्यान्वयनमा जान सकेन।अन्त:शुल्क छुटका लागि विकासकर्तासँगको वार्तापछि लगानी बोर्डले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि उक्त सम्झौता अघि बढ्न सकेको थिएन।

बोर्डले दमक क्लिन इन्डस्ट्रियल पार्कको परियोजना विकास सम्झौता टुंग्याउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा लगानी समझदारी भएको उक्त परियोजना लामो समयदेखि अड्केर बसेको छ। भारतीय सीमा नजिक दमकमा चिनियाँ लगानीप्रति भारत सकारात्मक नहुँदा उक्त परियोजना अघि नबढेको चर्चा हुने गरेको छ।

ऊर्जा परियोजना खासगरी जलविद्युत्‌मा चिनियाँ लगानीको विद्युत् नकिन्ने निर्देशिका जारी गरेको भारतले नेपालमा चिनियाँ लगानीका परियोजना निरुत्साहित गर्न खोजिरहेको आरोप लाग्दै आएको छ। दमक क्लिन इन्डस्ट्रियल पार्क मात्र नभएर कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा परियोजना पनि लामो समयदेखि रोकिँदै आएको छ। चिनियाँ लगानीका परियोजना भारतीय सीमा नजिक हुँदा सुरक्षा खतरा बढ्ने भन्दै भारतले दबाब दिएको चर्चासँगै विदेशी लगानीका परियोजना भूराजनीतिक मुद्दा समेत बनिरहेका छन्।

लगानी बोर्डमा नयाँ बन्ने सीईओले दमक क्लिन इन्डस्ट्रियल पार्कसँगै वाणगंगा सौर्य परियोजनालगायत चिनियाँ लगानीकर्ताले बुटवल पावर कम्पनीसँग मिलेर निर्माण गर्न लागेको अपर मर्स्याङ्दी-२ परियोजनाको परियोजना विकास सम्झौता तत्काल टुंग्याउनुपर्ने लगानी बोर्डका अधिकारीहरू बताउँछन्।

बोर्डले १५ दिनको म्याद दिएर साउन २८ गते प्रमुख कार्यकारी अधिकृतका लागि निवेदन आह्वान गरेको छ। नयाँ सीईओका लागि यसअघि पुन:निर्माण प्राधिकरणका सीईओ रहिसकेका सुशील ज्ञवाली, नेपाल इन्फ्रास्टक्चर बैंकका पूर्व सीईओ रामकृष्ण खतिवडा, नगर विकास कोषका पूर्वकार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा, यसअघि कोशी प्रदेशको लगानी बोर्डका सीई‌ओ रहेका सरोज कोइरालालगायत आकांक्षी छन्। प्रतिस्पर्धीहरूले प्रस्तुत गर्ने व्यावसायिक योजनासहितको प्रस्तुतीकरणपछि अर्थमन्त्री संयोजकत्वको समितिले तीनजना प्रतिस्पर्धीको नाम सर्ट लिस्टिङ गरी मन्त्रिपरिषद् पठाउनेछ र मन्त्रिपरिषद्ले तिनैमध्येबाट एकजनालाई नियुक्त गर्नेछ।

पुन:निर्माण प्राधिकरणका सीईओ रहिसकेका सुशील ज्ञवालीले यसअघि पनि लगानी बोर्डको सीईओका लागि आवेदन दिएका थिए। तर त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारले सुशील भट्टलाई सीईओ बनाउने संकेत पाएपछि उनी अन्तर्वार्तामा सहभागी भएनन्। एमालेसँग निकट ज्ञवालीलाई त्यतिबेला प्रतिस्पर्धाबाट बाहिरिन प्रधानमन्त्री निकटहरूले नै सुझाएको बुझिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग निकट रहेका उनले यसपटक लगानी बोर्डको सीईओमा बाजी मार्ने सम्भावना प्रबल रहेको जानकारहरू बताउँछन्।

प्रकाशित: २ भदौ २०८१ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =