काठमाडौँ- ‘साफ यू-२० च्याम्पियनसिप २०२४’ आजदेखि काठमाडौँमा सुरु हुँदैछ। एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ।
घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू–२० उमेर समूहको प्रतियोगिता भने जित्न सकेको छैन। हिजो भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्पियन बन्ने दाबी गरेका छन्।
प्रतियोगितामा सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा श्रीलंका र बंगलादेश छन् भने समूह ‘बी’मा भारत, भुटान र माल्दिभ्स छन्। नेपालले दोस्रो खेलमा भदौ ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको पहिलो सेमिफाइनल भदौ ९ गते र दोस्रो सेमिफाइनल भदौ १० गते हुने छ।
फाइनल भने भदौ १२ गते हुने तालिका छ।